• ९ मंसिर २०८१, आइतबार

नाङ्गो आवरण (कविता)

blog

आमा 

म जन्मनेबित्तिकै

गुटमुट्यायौ मलाई

तिम्रो न्यानो फरियामा 

तत्कालै छोपिदियौ 

मेरा शरीरका विकसित अङ्गहरू

फरियै च्यातेर सिलाइएका भोटाहरूले,

यथोचित त्यो सुरक्षा

त्यो संरक्षणप्रति रहेन गुनासो 


हुर्कंदै गए जब समयका सुर्काहरूमा

मेरा सुझबुझका बिरुवाहरू

छोप्न थालेँ आफैँले नै

छोप्नै नपर्ने यावत् कुराहरू छोप्दै गएँ ।।।

छोप्नैपर्नेरहेछ यहाँ सबथोक 

त्यही निक्र्योल काटेँ 

र, बैँस चढेपछि उमेरको डालीमा

छोपेँ गाजलले दृष्टि 

लालीले अधर

पछ्यौरीले शिर 

छोपेँ छ्याप्पै छोपेँ

किरिमले, पाउडरले प्राकृतिक मुहार 


तिमीले जेजे ग¥यौ, त्यही गर्दै जाँदा

भेउ नै पाइनँ आमा मैले

जीवनको कस्तुरी सुगन्ध

छोपिँदै गएको 


छोपियो दुःख र पीडाको आहाल

नकली मुस्कानको जीर्ण घोप्टेले छोपेँ 

यथास्थितिको बिर्कोले थिची थिची

पुनरुत्थान विचारहरूको झुल्को छोपेँ

प्रतिकूलतालाई धावा बोल्ने

ती बुलन्द आवाजको फोहरा छोपिए 


स्वयं अस्तित्व हुर्किएर

गेग्रानमा राताम्मिएको 

विशाल सिमली रूख नियाल्दै 

म सोचिरहेछु यतिखेर,

छोपिएकै भए के यसरी 

बेहिच्किचाहट

मुस्कुराउँथे र यी फूलहरू ।।।


हिँड्दाहिँड्दै

जब कतै टेको खोज्छु आज म

त्यतिखेर मलाई लाग्छ आमा 

‘आवरण’ अवरोधको एउटा हिस्सा हो

गतिशीलताको 

नत्र कसरी समेट्न सक्थ्यो घामले

आफ्नो अँगालोमा अनन्त भूगोल ?

कसरी फैलिन्थ्यो

उज्यालोको साम्राज्य ??


उतारेर यावत् आवरण 

फेरि म त्यहीँनेरबाट 

जीवनगति सुचारु गर्न चाहन्छु

नलपेट्नु आमा ! अब मलाई 

तिम्रो ममताको ओढ्नेमा पनि

नलपेट्नु 

उदाङ्गै फैलिन चाहन्छु म 

घामजस्तै ! बतासजस्तै ! समुद्रजस्तै

अनि दुबोजस्तै

बेहिच्किचाहट खुल्न चाहन्छु

गेग्रानी फूलहरूजस्तै !


आखिर सबैलाई थाहा छ,

सबथोक नाङ्गो हुन्छ आवरणभित्र 

यद्यपि 

नाङ्गोपन ढाक्ने आवरण नै नाङ्गो हुन्छ ! 

     basnet.baba6@gmal.com