• ११ मंसिर २०८१, मङ्गलबार

बर्थिङ सेन्टर पुग्न थाले गर्भवती महिला

blog

बर्थिङ सुविधासहितको ज्यामिरे स्वास्थ्य चौकी । तस्बिर: रेखीराम राना

रेखीराम राना

पाल्पा, फागुन १७ गते । डेढ वर्ष अघिसम्म असुरक्षित रूपमा घरमै सुत्केरी हुने महिला अचेल बर्थिङ सेन्टरमा धाउन थालेका छन् । यसअघि घरमै बच्चा जन्माउने गरेका गर्भवती गाउँकै बर्थिङ सेन्टरमा पुगेर सुत्केरी हुन थालेका हुन् । 

सदरमुकाम तानसेनदेखि ६० किलोमिटर दुर्गममा रहेको निस्दीका सात स्वास्थ्य संस्थामा विगत डेढ वर्षदेखि स्थानमा बर्थिङ सेन्टर सञ्चालनमा छन् । बर्थिङ सेन्टर सञ्चालन भएपछि सुरक्षित रूपमा सुत्केरी हुन सहज भएको सेवाग्राहीको भनाई छ । 

यसअघि बर्थिङ सेन्टर सञ्चालन नहुँदा केही गर्भवती सुत्केरी हुन गाडी रिजर्भ गरेर तानसेन र रामपुर जानुपर्ने बाध्यता थियो । केही गर्भवती ज्यानको जोखिम मोलेर घरमै सुत्केरी हुने गरेका थिए । 

निस्दीका सात वटै वडाका स्वास्थ्य संस्थामा डेढ वर्षदेखि आवश्यक उपकरणसहित सुरक्षित रूपमा गर्भवती गराउन सक्ने दक्ष जनशक्ति रहेको पालिकाका अध्यक्ष मुक्ताबहादुर सारूले जानकारी दिनुभयो । ‘बर्थिङ सेन्टर नहुँदा धेरै गर्भवती महिला घरमै असुरक्षित रूपमा सुत्केरी हुने गरेका थिए अध्यक्ष सारूले भन्नुभयो केही गाडी रिजर्भ गरेर तानसेन र रामपुर जाने गरेका थिए ।’ बर्थिङ सेन्टर सञ्चालनले रकम खर्च गरेर सहरमा दौडाउनुपर्ने बाध्यता हटेको छ भने घरमै असुरक्षित रूपमा सुत्केरी गराउनुपर्ने अवस्थाबाट मुक्त भएको उहाँले बताउनुभयो । 

बर्थिङ सेन्टर सञ्चालन भएपछि सुरक्षित रूपमा निःशुल्क घर नजिकै सुत्केरी हुने अवस्था सिर्जना भएको सेवाग्राहीको भनाई छ । ‘पहिले सुत्केरी हुनका लागि तानसेन कि रामपुर जानुपर्ने बाध्यता थियो अब भने गाउँमै सुरक्षित रूपमा सुत्केरी हुने अवस्था बनेको छ निस्दी–७, अधमाराका धनीसरा गाहाले भन्नुभयो ।’ स्वास्थ्य संस्थामा सुत्केरी हुँदा राम्रो हेरचाह र स्याहारसुसार र भत्तासमेत पाएको गाहाले बताउनुभयो । 

स्वास्थ्य संस्थामा सुत्केरी हुन थालेपछि मातृ तथा शिशु मृत्युदर समेत शून्यमा झरेको ज्यामिरे स्वास्थ्य चौकीका प्रमुख खेम सारूले बताउनुभयो । दुई/तीन वर्ष अघिसम्म घरमै सुत्केरी हुँदा बच्चा र आमाको समेत ज्यान जाने गरेको थियो उहाँले भन्नुभयो पछिल्लो दुई वर्षदेखि कोही पनि आमा र शिशुको ज्यान गएको छैन चौकी प्रमुख सारूले थप्नुभयो । 

गत वर्ष २०७८/०७९ मा निस्दीमा १६ जना मात्रै शिशुको जन्म घरमै भएको थियो । यो चालु आव २०७९/०८० मा घरमा जन्मिने शिशुको सङ्ख्या शून्यमा झार्ने लक्ष्यअनुसार काम भइरहेको पालिकाले जनाएको छ । घरमा होइन स्वास्थ्य संस्थामा सुत्केरी गराउनका लागि पालिकाले गर्भवती जाँच तथा स्याहार कार्यक्रम गरिरहेको छ ।