• ९ मंसिर २०८१, आइतबार

स्वागतद्वारको निषेधाज्ञा (कविता)

blog

बाहिरै राख्नुस् तपाईंको जुत्ता

र ढोकाबाट भित्र आउनुस् सशरीर

तपाईंलाई स्वागत छ––


हार्दिक स्वागत छ तपाईंलाई

तपाईंकै सुरक्षा पर्खेर बसेको छ

यो घर 

तपाईंकै आनन्द सोचेर बसेको छ

यो घर

तपाईंको बाहिरी संसार अस्तव्यस्त छ

त्यसैलाई व्यवस्थित गर्न लालायित बसेको छ

यो घर ।


न्यानो खोज्दै गुँड फर्कनेका लागि नै

विश्वासको छहारीमुनि निदाउनेका लागि नै

बनेको हो यो घर 

तपाईंलाई माया गर्ने पनि त कोही होला

या तपाईंले दिने 

मायावी आकाशको ओत पर्खी बस्नेका लागि नै 

बनेको हो यो घर ।


बरालिएर हिँड्दै गर्दा बाटो चौबाटो

तपाईंको जुत्ताले कुल्चिएको हुन सक्छ 

कुनै गणिकाको योनीबाट उछिट्टिएको आलो रगत,

सडकछेउ थुप्रिएको घोडाको लादी या साँढेको गोबर

मात्तिएर डुल्दै हिँड्दा कहीँकतै

तपाईंको निरङ्कुश जुत्ताले कुल्चिएको हुन सक्छ 

महिनौँसम्म 

महानगरपालिकाले उठाउन नसकेको फोहोरको डुङ्गुर ।


लगाउँदा लगाउँदै होसमै पनि  

अत्यन्त दुर्गन्धित भइसकेको हुन सक्छ 

तपाईंको जुत्ता !


अवसरको खटप्वालबाट चियाउन पल्केपछि 

अथवा 

मौका अनुकूलको भ¥याङ उक्लन थालेपछि

मान्छेले बिर्सन्छ अक्सर आफ्नो औकात

बिर्सन्छ आफैँले खुट्टा टेकेर उभिएको जमिनको आड

बिर्सन्छ––

परिवार, नातागोता, आफन्त र देश

अनि ?

अनि उसको विचार पनि कहिलेकाहीँ जुत्ता

जस्तै गन्हाउँछ ।


जुत्ता  अतः एउटा विचार पनि हो

विचार अतः  एउटा दास मनोविज्ञान पनि हो ।


तर तपाईंले नै पुज्ने 

‘हरि ॐ हरि’ आश्रित शालिग्राम अटाउन सक्ने 

पवित्र मन्दिर  हो  घर !

यस्तोे घरभित्र जुत्तासहित  पस्दा 

एकपल्ट  सोच्नुस् त––

कतिन्जेलसम्म छोपेर राख्न सकिन्छ 

त्यसको अमिलो गन्ध ?


कृपया, म भन्छु––

बाहिरै राख्नुस् 

बाहिरै राख्नुस् त्यसैले तपाईंको जुत्ता 

र त्यसको असीमित सम्बन्ध,

जुत्ताको दास मनोविज्ञान

र त्यसको आकस्मिक दुर्गन्ध ।। 


हरिऔन,  सर्लाही ।