• १४ वैशाख २०८१, शुक्रबार

सरकारको मुख्य प्राथमिकता सुशासन र विकास: प्रधानमन्त्री प्रचण्ड

blog

काठमाडौं, फागुन १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताउनुभएको छ । बालुटारमा आज बिहान विकास हाइड्रोको विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्नेछौं ।’

उहाँले गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको शुरुवात भएको उल्लेख गर्दै स्थानीयलाई रोजगारीको प्रत्याभूति भएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले विगतका दिनमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको बताउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताउनुभयो । 

‘यो वर्ष चुनावी वर्षका रुपमा बित्यो । वैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र सङ्घको निर्वाचन र अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया पाँच वर्षका लागि सकिएको हुन्छ । यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ । उहाँले अगाडि भन्नुभयो, मैले गोरखाको जनप्रतिनिधिको हैसियतले तपाईंहरुलाई विशेष धन्यवाद दिन्छु । गोरखाबाटै विकासका लागि यस हाइड्रोको उद्घाटन गर्ने अवसर जुटाइदिनुभयो । यसको सफलता र आगामी दिनमा कम्पनीले अन्य आयोजनाहरु पनि अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु ।’

प्रधानमन्त्री प्रचण्डले हाइड्रो निर्माणमा संलग्न स्वदेशी र गैरआवासीय नेपाली सङ्घमा रहेका नेपालीहरुको योगदानका लागि विशेष धन्यवाद पनि दिनुभयो ।