• १२ साउन २०८१, शनिबार

असिना पानीले किसानलाई खुशी बनायाे

blog

जिल्लाको मकालु गाउँपालिकाको वालुङमा परेको असिना । तस्विर सौजन्यः मिस्मा कुलुङ

ध्यान कुलुङ

सङ्खुवासभा, फागुन १५ गते । आइतबार साँझदेखि रातिसम्म सङ्खुवासभाको प्रायः सबैै ठाउँहरुमा पानी परेको छ । जिल्लाको तल्लो भेगमा पानी मात्र परे पनि माथिल्लो क्षेत्रमा असिना समेत परेको छ ।

हिउँद लागेपछि पहिलो पटक परेको पानीले छिटपुट क्षति पुर्याए पनि बाली बिरुवा लगाएका किसानलाई भने राहत मिलेको छ । लामो समयसम्म पानी नपर्दा सुक्न लागेको अलैंचीलाई ठूलो राहत मिलेको छ । वैशाखसम्म पनि पानी नपरे अलैंची सुक्ने चिन्तामा बसेका कृषकहरुलाई पानी परेसँगै खुशी मिलेको छ ।

अलैंचीसँगै हिउँदे बालीहरु गहुँ, आलु, तोरीलगायतलाई पनि राहत मिलेको छ । पानी नपरेपछि सुख्खा बनेको बारीमा आलु र गहुँ उम्रिन पाएको थिएन । लामो समयसम्म पानी नगरेपछि मकै छर्न समस्या थियो । 

पूरै माटो भिज्ने गरी आएको असिनासहितको पानीपछि मकै छर्न तयारी गरिएको मकालु गाउँपालिकाका सिबि कुलुङ बताउनुहुन्छ । असिनासहितको पानीले केही ठाउँमा क्षति पुर्याए पनि समग्रमा किसानलाई फाइदा नै पुगेको उहाँको भनाइ छ ।

आइतबार राति जिल्लाको भोटखोला, मकालु, चिचिला, सभापोखरी, सिलिचोङ गाउँपालिका र धर्मदेवी नगरपालिकाको माथिल्लो भेगमा असिनासहितको पानी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कतिपय स्थानमा बाक्लो असिना जमेको कारण जनजीवन असहज बनेको जिल्ला प्रहरी प्रमुख वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।