• १० मंसिर २०८१, सोमबार

नयाँ राजनीतिक अध्याय

blog

आसन्न राष्ट्रपति निर्वाचनका सन्दर्भलाई लिएर केही पहिलेदेखि नै नयाँ राजनीतिक अध्याय प्रारम्भ हुने अड्कलबाजी गरिँदै थियो । ठीक यही परिदृश्य राष्ट्रपति निर्वाचनको मनोनयनको अघिल्लो दिन देखियो । सोही दिन आठ दलको गठबन्धन तयार भएर नेपाली कांग्रेसलाई राष्ट्रपति पदमा सघाउने निर्णय पनि भयो । यससँगै नेपाली राजनीति नयाँ शिराबाट अगाडि बढ्ने निश्चित छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइलाई आधार मान्ने हो भने आठ राजनीतिक दलबीचको यो सहकार्यको सहमतिसँगै नयाँ राजनीतिक अध्याय सुरु भएको छ । जनादेशअनुसार अब राजनीतिक कोर्स नयाँ दिशामा अगाडि बढ्नु स्वाभाविक हुनेछ ।

आमनिर्वाचन २०७९ को जनादेश मिलेर काम गर्नकै निम्ति थियो । सो जनादेशपछि पुस १० गतेको राजनीतिक उतारचढावसँगै मुलुकमा सात दलीय गठबन्धन निर्माण भयो । सरकार गठन भएको थियो तर सरकार गठनको दुई महिना हाराहारीमा सात दलीय गठबन्धन दीर्घकालसम्म नटिक्ने अवस्था सिर्जना भएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायत विगतको पाँच दलीय गठबन्धनमा अन्य तीन दलसमेत सहभागी भएर नयाँ आठ दलीय गठबन्धन निर्माण भएसँगै नयाँ परिवेश सिर्जना भएको छ । त्यस गठबन्धनका साझा उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा सघाउने निर्णय भएको छ । आठ दलीय गठबन्धन राष्ट्रपतीय निर्वाचनमा मतभार गणना गर्दा गठबन्धनका उम्मेदवारको सहज विजय हुने निश्चित देखिन्छ । 

नयाँ सरकार गठन तथा नेपाली कांग्रेसद्वारा सरकारलाई विश्वासको मत दिइएपछि नै नेपाली राजनीतिले नयाँ बाटो लिएको हो । राष्ट्रिय सहमतिका सम्बन्धमा निकै बहस र प्रयास हुन थालेको छ । प्रधानमन्त्री प्रचण्डले यसमा निकै जोड दिनुभएको आमनेपालीले बुझेकै तथ्य हो । हरेक दृष्टिकोणबाट राष्ट्रिय सहमतिको विषय व्यावहारिक तथा मुलुकका निम्ति फलदायी हुनेमा शङ्का थिएन तथापि विविध कारणले यसका लागि केही राजनीतिक दल इच्छुक देखिएका थिएनन् । तर आठ राजनीतिक दलको गठबन्धनका फलस्वरूप राष्ट्रिय सहमतिको यो विषयमा धेरै हदसम्म निकट पुगिएको अवस्था सिर्जना भएको छ । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ अध्याय आरम्भको सन्दर्भले आगामी राजनीतिको मार्गचित्र स्पष्ट गर्छ ।

आठ दलको यो सहमति ऐतिहासिक भएको कतिपयको विश्लेषण छ । यो बृहत्तर राष्ट्रिय सहमतिको प्रारूप भएको प्रधानमन्त्रीको अभिव्यक्ति यहाँ उल्लेखनीय छ । साथै उहाँले बाँकी अन्य दलसँग पनि समझदारी साथ अगाडि बढ्ने बताउनुभएको छ । यस प्रक्रियाबाट कोही पनि बाहिर नहुने जिकिरसमेत गर्नुभएको छ । उहाँको भनाइलाई आधार मान्दा नेपाली कांग्रेस राष्ट्रपतिमा निर्वाचित हुने, नेपाल कम्युनिस्ट पार्टी (एमाले) सभामुख, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रधानमन्त्रीलगायत अन्य दलसमेत आआफ्नो हैसियतअनुसार विभिन्न राजकीय पदमा सहभागी हुने प्रक्रियाले पनि यो एक किसिमको राष्ट्रिय सहमतिकै मर्म तथा आधारका रूपमा औँल्याउन सकिन्छ । 

निश्चित रूपमा आफ्ना विचारधारा, कार्यशैली, मूल्य मान्यतामा निकटता नहुने पक्षसँग सहमति तथा कार्यगत एकता असम्भवप्रायः लाग्ने विषय हुन् । तत्कालिक सहमति भए पनि यसमा दिगोपन कायम हुन कतिपय सन्दर्भमा कठिन पर्न सक्छ । आठ दलीय गठबन्धनको आधार निर्माणमा धेरै विमर्श भएको छ । स्थायित्वको प्रत्याभूति हुने गरी परिपक्व राजनीतिक मार्गचित्र अगाडि आउन सक्नु पर्छ । त्यसै पनि नेपालको वर्तमान राजनीतिक व्यवस्था सहज रूपमा प्राप्त भएको होइन । यसका निम्ति जनआन्दोलन तथा राजनीतिक विकासक्रमको ठूलो योगदान छ । यस दृष्टिकोणले ती दलबीचको सहमति तथा एकता मुलुकको राजनीतिक स्थायित्व एवं समृद्धिका निमित्त अनिवार्य तत्त्व मान्न सकिन्छ । लोकतान्त्रिक मूल्य मान्यता, संविधानको रक्षा तथा मुलुकको समृद्धिका लागि राष्ट्रिय सहमतिको विकल्प देखिँदैन । अब आर्थिक विकासलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्वद्वारा अगाडि बढ्नु नयाँ राजनीतिक अध्यायको ध्येय र ध्यान हुनु वाञ्छनीय छ 

मुलुकमा नयाँ संविधान निर्माण तथा कार्यान्वयन भइरहेको छ भने अन्य राजनीतिक अङ्गले पनि आफ्नो स्वाभाविक गतिमा काम गरिरहेको अवस्था छ । यस स्थितिमा मुलुकको विकास निर्माण तथा समृद्धिका लागि काम गर्नुपर्ने जिम्मेवारी दलको काँधमा रहेको छ । यस राष्ट्रिय उद्देश्य परिपूर्तिका निमित्त राष्ट्रिय सहमतिको कुनै विकल्प देखिँदैन । यस अर्थमा दलले आफ्ना स्वार्थलाई पन्छाएर राष्ट्रिय सहमतिमा जोड दिन सक्नु महत्त्वपूर्ण हुनेछ ।