• १२ साउन २०८१, शनिबार

डिजिटल किसान सहायता केन्द्र स्थापना

blog

विष्णुप्रसाद पोखरेल

दमक, फागुन १४ गते । झापाको कचनकवल गाउँपालिकाले डिजिटल किसान सहायता केन्द्र स्थापना गरेको छ । विभिन्न दातृ निकायको सहयोगमा गाउँपालिकाले कृषि सहायता केन्द्र स्थापना गरेको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभएको हो ।

स्थानअनुसार जलवायु मैत्री कृषि विस्तार, बाली तथा पशु सम्बन्धी समस्या समाधानका लागि सहयोग, स्वचालित स्मार्ट सूचना, विभिन्न कृषि विज्ञहरूसँग छलफल तथा अन्तरक्रियाका लागि यसले सहजीकरण गर्नेछ । यो एक प्रकारले ‘डिजिटिल प्लेट फर्म’ भएकोसमेत जानकारी गराइएको छ ।

किसानहरूले सहायता केन्द्रमार्फत ‘जिओ कृषि’ एप डाउनलोड गरेर कृषि सम्बन्धीका जानकारी लिन सक्ने भट्टराईले बताउनुभयो । किसानले मौसमको विषयमा जानकारीदेखि हाटबजारको सागसब्जी तथा फलफूलको मूल्यसम्म जानकारी लिन सक्ने छन् । यसका साथै अनलाइन तथा अफलाइन माध्यमबाट कृषि सम्बन्धी कुनैपनि समस्याहरू किसानले राखेमा समाधान पनि गर्न सक्नेछन् । 

व्यापारिक र साना कृषकहरूले सामना गर्ने चुनौतीहरू समाधान गर्न निर्मित डिजिटल कृषि प्लेटफर्मको माध्यमबाट किसानहरू सूचना केन्द्रमा जोडिनेछन् । किसानलाई मोबाइल एपमार्फत धेरै विषयमा जानकारी दिन सकिने भएकाले यसले आधुनिक रूपमा खेती गर्न सक्ने किसानहरूका लागि धेरै नै लाभान्वित हुनेसमेत बताइएको छ । 

यसअघि यसै साता झापाकै कन्काई नगरपालिकामा पनि यस प्रकारको सूचना केन्द्र स्थापना गरिएको हो ।