गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २ गते । पेट्रोलियम आयातलाई न्यूनीकरण गर्न र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गर्न सरकारले पेट्रोलमा इथानोल मिश्रण गर्ने योजना कार्यान्वयनमा ल्याएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश राजपत्रमा प्रकाशन गरेसँगै पेट्रोलमा इथानोल मिश्रण गर्ने बाटो खुला भएको हो ।
स्वदेशी कच्चा पदार्थमा आधारित भई इथानोल उत्पादन गर्ने उद्योगको प्रवर्धन गर्दै स्वदेशमा रोजगारी सिर्जना गर्न र पेट्रोलमा इथानोल मिश्रण गरी पेट्रोल आयातलाई न्यूनीकरण गर्ने उद्देश्यले सो आदेश जारी गरिएको हो । कृषि अवशेषलाई पुँजीमा बदल्ने र पेट्रोलियम परनिर्भरता घटाउने यो नीति प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेमा इन्धन आयात कम गर्न सक्ने बताइएको छ ।
आदेश अनुसार इथानोल उत्पादन गर्ने उद्योगले उत्पादन गरेको इथानोल खुला बजारमा बेच्न पाउने छैनन् । उत्पादन भएको इथानोल अनिवार्य रूपमा नेपाल आयल निगमलाई मात्र बिक्री गर्नुपर्ने छ ।
यसरी खरिद गरिएको इथानोललाई निगमले पेट्रोलमा मिश्रण गरेर बजारमा वितरण गर्ने छ । नयाँ व्यवस्था अनुसार निगमले उपलब्ध गराउने पेट्रोलमा अब अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न पाउने छ ।
इथानोलको गुणस्तर कायम गर्ने जिम्मेवारी उद्योग र निगम दुवैको हुने छ, जसको मापदण्ड नेपाल गुणस्तर तथा नापतौल विभागले निर्धारण गर्ने छ ।
उत्पादित इथानोल ‘एन्हाइड्रस’ (पानीको मात्रा नभएको) हुनुपर्ने र प्रत्येक ट्याङ्करको गुणस्तर परीक्षण गरेर मात्र निगमले खरिद गर्ने कडा प्रावधान राखिएको छ । इथानोल अत्यधिक प्रज्वलनशील र पानी सोस्ने (हाइग्रोस्कोपिक) प्रकृतिको हुने भएकाले यसको भण्डारण र ढुवानीमा उच्च सतर्कता अपनाउनुपर्ने आदेशमा उल्लेख छ ।
निगमले इथानोलको दुरुपयोग रोक्न र यसको प्रयोगबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने छ । यदि कुनै उद्योगले सम्झौताबमोजिम इथानोल आपूर्ति गर्न नसकेमा वा निगमले बिनाआधार खरिद नगरेमा क्षतिपूर्तिको समेत कानुनी बाटो खोलिएको छ ।
इथानोल उत्पादनमा प्रयोग हुन सक्ने कच्चा पदार्थमा चिनी उद्योगबाट प्राप्त हुने खुदो (मोलासेस), नेपियर, घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक (बायोमास) रहेको छ । खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ, पराल मकैको ढोड, गहुँको छवाली जस्ता कृषि अवशेष, खाद्यान्नका लागि प्रयोग गर्न नमिल्ने सडेगलेको अन्न, सिमल तरुल रहेको छ ।
उद्योगले इथानोल आपूर्ति गर्नुअघि त्यस्तो इथानोलको ब्याज परीक्षणको प्रतिवेदन निगमलाई उपलब्ध गराउनुपर्ने छ । निगमले प्रत्येक ट्याङ्क ट्रकमा रहेको इथानोलको गुणस्तर परीक्षण गरेर मात्र खरिद गर्नुपर्ने छ । मन्त्रालयले इथानोल सुरक्षित भण्डारण, मिश्रण र ढुवानीका लागि मापदण्ड बनाई लागु गर्नुपर्ने आदेशमा उल्लेख छ ।
खरिद मूल्य निर्धारण भएपछि निगमले इथानोल खरिदको लागि निगम सञ्चालक समितिको स्वीकृत लिई उद्योगसँग इथानोल खरिद सम्झौता गर्नुपर्ने छ । पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने वार्षिक छ अर्ब रुपियाँको पेट्रोल आयात गर्न सकिने निगमले जनाएको छ ।