• ७ जेठ २०८१, सोमबार

सुन्तलाकाे लागि पर्याप्त बजार

गण्डकीमा मात्रै तीन अर्बभन्दा बढीको सुन्तला बिक्री

blog

पोखरा बजारमा विभिन्न ठाउँबाट बिक्रीका लागि आएका सुन्ताला । तस्बिर– रमेश पौडेल

रमेश पौडेल

पोखरा, फागुन १४ गते । गण्डकी प्रदेशमा मात्र यस वर्ष ३ अर्बभन्दा बढीको सुन्तला बिक्री भएको छ । बजारको कुनै समस्या नभएकाले सुन्तलाबाट मनग्य आम्दानी हुँदा किसानसमेत निकै खुसी भएका छन् ।

कुनै बेला पोखराका सुन्तला भनेर सामान्य ज्ञानमा पढ्न पाए पनि यस वर्ष गण्डकी प्रदेशमै सुन्तलाको उत्पादन ऐतिहासिक भएको छ ।

सुन्तला उत्पादनका लागि हाल यस प्रदेशमा करिब ५८ सय हेक्टर क्षेत्रफलमा सुन्तला लगाइएको र यस वर्ष ६० हजार टनभन्दा बढी उत्पादन भएको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक वासुदेव रेग्मीले जानकारी दिनुभयो । गत वर्ष ४५ हजार मेट्रिन टन उत्पादन भएको अनुमान गरिएको थियो । ५० रुपियाँको हिसाबले पनि ३ सय करोडको सुन्तला उत्पादन भएको निर्देशक रेग्मीको भनाइ छ ।

यस वर्षको सुन्तलाको सिजन लगभग सकिन लागेको छ । यो समयमा किसानले प्रति किलो २ सयसम्म बिक्री गरेका छन् भने व्यवसायीले ३ सयसम्ममा बिक्री गरेका छन् । यदि सबै तथ्याङ्क सङ्कलन गर्ने हो भने तीन सय करोडभन्दा बढी कारोबार भएको छ ।

तर सुन्तला उत्पादन तथा बिक्री गर्ने स्याङ्जा अर्जुनचौपारिका किसान फणीन्द्र अर्यालले यस वर्ष अघिल्ला वर्षभन्दा निकै राम्रो उत्पादन भएको बताउनुभयो । औसतमा ३० देखि ५० प्रतिशत उत्पादन वृद्धि भएको उहाँको आङ्कलन छ ।

६३ वर्षीय अर्यालले हालसम्ममै यति धेरै सुन्तला फलेको अनुभव नै नभएको बताउनुभयो । यस वर्ष उहाँले आफ्नै बारीबाट ७५ लाखभन्दा बढीको बिक्री गरेको बताउनुभयो । यता पर्वत बाँसखर्कका किसान जगतबहादुर खत्रीले प्रति केजी ५० रुपियाँदेखि अहिले आएर बोटमै २ सय रुपियाँसम्म बिक्री गरिरहनुभएको छ ।

घमाइलो ठाउँमा फल्ने सुन्तलामा पातलो बोक्रो हुने र रसिलोसँगै गुलियो हुँदा उपभोक्ताको रोजाइमा यस प्रदेशका सुन्तला परेको पोखरा कृषि शीत भण्डारका सञ्चालक एवं फलफूल व्यवसायी लेखनाथ शर्माको भनाइ छ ।

गण्डकी प्रदेशका पर्वत, म्याग्दी, बाग्लुङ, स्याङ्जा र कास्कीका अधिकांश ठाउँबाट सुन्तला पोखरा आएका थिए । पोखरामा आएका सुन्तला बाहिरी जिल्लामा पनि निर्यात भएको रेग्मीले बताउनुभयो । विशेषतः काठमाडौँ, नारायणघाटदेखि लिएर पूर्वको काकँडभित्तासम्म निर्यात भएको व्यवसायीहरूको भनाइ रहेको छ ।

पोखरा फलफूल तरकारी व्यवस्थापन समितिका सहायक प्रमुख रुपा जिसीले मङ्सिर देखि माघ १५ सम्म दैनिक ५० लाखभन्दा बढीको सुन्तला पोखराबाट बाहिरिएको बताउनुभयो ।

गण्डकी प्रदेश भनेपनि गोर्खा, तनहुँ, लमजुङ, नवलपुर र दक्षिण–पश्चिम स्याङ्जाका सुन्तला पोखरा नआई सोझै बुटवल, नारायणघट र काठमाडौँ निर्यात हुने गर्दछन् ।

यस वर्ष सुन्तलाको दाना ठूलो फलेको र जाडो कम भएका कारण पनि उपभोक्ताले सुन्तला बढी खपत गरेको बुझाइ व्यवसायीको छ । उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले पोखरा आउने सुन्तला निकै स्वादिष्ट भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको बताउनुभयो । किसानले बिक्री गर्ने मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्यमा निकै अन्तर रहेको बुझाइ उहाँको छ ।

सुन्तलाका लागि धेरै समय खर्च गर्न नपर्ने र बजारको पनि समस्या नहुँदा अधिकांश किसानहरूले धान, कोदो, मकै लगाउने खेतबारीमा सुन्तला नै लगाउन थालेको किसान फणीन्द्र अर्याल बताउनुहुन्छ । बिरुवा राम्रो भएमा, पारिलो ठाउँ, कालो र रातो माटो भएको ठाउँमा बढी उत्पादन हुने गरेको उहाँले बताउनुभयो ।

नगदे बालीको रूपमा लिने सुन्तला खेतीलाई व्यावसायिक रूपमा प्रवर्द्धन गरेमा यस प्रदेशमा मात्रै १० अर्ब बढीको सुन्तला उत्पादन तथा बिक्री गर्न सकिने सुन्तला व्यवसायी लेखनाथ शर्माको दाबी छ ।

अहिले बजारमा भारतीय सुन्तला आइसकेका छन् । नेपालमा उत्पादित सुन्तलालाई प्राविधिक रूपमा परीक्षण गरी शीत भण्डारमा राख्न सकिएमा अर्बौँ मूल्यको सुन्तला आयातलाई प्रतिस्थापन गर्न सकिने छ ।