सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, फागुन १४ गते । २०७२ वैशाख १२ गतेको भूकम्पले भत्केको ११५ वर्ष पुरानो कृष्ण मन्दिर पुनर्निर्माण सुरु गरिएको छ। सदरमुकाम चौतारास्थित पुरानो बजारमा रहेको पुरातात्त्विक महवको कृष्ण मन्दिर पुनर्निर्माण कार्यको शिलान्यास गर्दै निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले कला, संस्कृति र सम्पदाको संरक्षण र जगेर्ना गरिनुपर्ने बताउनुभयो।
पुरातत्त्व विभागको दुई करोड रुपियाँको लागतमा मन्दिर पुनर्निर्माण हुने चौतारा साँगाचोकगढी नगरपालिका–५, चौतारा पुरानो बजारका समाजसेवी रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो। भूकम्पयता उक्त मन्दिर जस्ताको टहरामा रहेको थियो। वि.सं. १९६४ अघि उक्त स्थानमा सिस्नुघारी रहेकोमा त्यहाँबाट बाँसुरीको मीठो धुन सुनिने हुँदा सो स्थानमा कृष्ण मन्दिर निर्माण गरी कृष्णाष्टमीका बेला दुई दिन मेला चलाउने परम्पराको सुरुवात भएको श्रेष्ठले बताउनुभयो। सो मन्दिर २०८० असार १५ गतेभित्र पुनर्निर्माण सम्पन्न गरिसक्ने गरी निर्माण कम्पनी आरजीएस पञ्चस्तम्भ जेभी भक्तपुरले सम्झौता गरेको छ। भूकम्पबाट क्षति भएका मन्दिर, गुम्बा, चर्च निर्माण भइरहेका छन्।