हरिप्रसाद कोइराला
उर्लाबारी, जेठ २० गते । धानको बिउमा परनिर्भरता अन्त्य गर्न कोशी प्रदेश सरकारले सरकारी, निजी र समुदायस्तरबाट ३८ वटा बिउ उत्पादक संस्थालाई सहयोग गरिरहेको छ तर पनि किसानले नेपाली बिउलाई पत्याएका छैनन्, उनीहरूको रुचि आयातित बिउमा नै छ ।
कोशी प्रदेश सरकारको कृषि विकास निर्देशनालयका निमित्त प्रमुख प्रकाशकुमार डाँगीका अनुसार कोशी प्रदेशमा दुई लाख ७६ हजार ३८६.७२ हेक्टरमा धान खेती हुने गरेको छ । त्यसका लागि हरेक वर्ष १८ हजार ८१९.३४ मेट्रिक टन बिउ आवश्यक पर्छ । जसमध्ये नेपाली उत्पादनले ४० प्रतिशत माग मात्र पूरा गर्छ । किसानले परम्परागत रूपमा राखेको बिउले पाँच प्रतिशत माग पूरा गर्दै आएको छ भने बाँकी भारतलगायत तेस्रो देशबाट आयात गर्नु पर्छ ।
कार्यालय प्रमुख डाँगीका अनुसार ५५ प्रतिशत बिउ अझै अपुग छ । नेपाली बिउ गुणस्तरीय भए पनि सचेतनाको अभावमा किसान आकर्षित हुन सकेका छैनन् । उहाँले भन्नुभयो, “हामीले उत्पादन गरेका बिउ माटो, मौसम सुहाउँदा छन् । नयाँ रोग भित्रिँदैन । कुनै समस्या आए उपचार गर्न सकिन्छ तर किसानले यो विषय बुझेको पाइँदैन ।”
निर्देशनालयको तथ्याङ्क अनुसार कृषि अनुसन्धान परिषद्ले नेपालमा बहुगुणी १ र २; सुक्खा १, २, ३, ४, ५ र ६; हर्दिनाथ १, २, ३, ४, ५ र ६; सावित्री, स्वर्णसव १, राधा ४, ७, ११, १२, १३ र १४; मकवानपुर १, चैते २, ५ र ६ धान लगाउन सिफारिस गरेको छ । यस्तै चैया ३, घैया ३, गङ्गासागर १ र २, लोकतन्त्र, तरहरा १ र २, साम्वा मन्सुली सव १, साँवा मन्सुली, रामधान, खुमल ४, ६, १०, ११, १२, १३, १४ र बासमती सिफारिस गरिएको छ ।
यस्तै सुगन्धित धानमा लल्का बासमती, सुनौला सुगन्धा, शुद्धोधन कालानमक, पोखरेली, जेठोबुढो, छोमरोङ, माछापुच्छ«े ३, चन्दननाथ १ र ३, लेकाली धान १ र ३ रोप्नका लागि कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेको छ ।
सिफारिस गएिकामध्ये कोशी प्रदेशमा विभिन्न २५ प्रजातिका धान लगाउने गरिएको छ । कार्यालयको तथ्याङ्क अनुसार लल्का बासमती, साँवा मन्सुली सव १, हर्दिनाथ १ र ६, बहुगुणी २, स्वर्णसव १, राधा ४ र १२, कालो नुनिया, रामधान, तरहरा २ जातका धानको खेती हुने गरेको छ । यस्तै शुद्धोधन कालानमक, रञ्जित, गङ्गासागर, मकवानपुर १, खुमल ४, ६, ८, १०, ११ कान्छी मन्सुली, चैते २ र ५ जातका धान कोशी प्रदेशमा प्रमुख रूपमा लगाइन्छ ।
सरकार, निजी क्षेत्र र समुदायले उत्पादन गरेका गुणस्तरीय बिउ बजारमा प्रशस्त भए पनि किसानले भारतीय रञ्जित, बिबी ११ र सोर्ना जातका धान लगाउने गरेका छन् । सरकारले यी तिनै जातका धानलाई नेपालमा प्रतिबन्ध गरेको छ ।
सीमा क्षेत्रका किसानले भारतीय व्यापारीसँग झिकाएर धानको बिउ ल्याउने गरेका छन् । रङ्गेली–९ को प्रकाश बीज भण्डारका विपिन मण्डलले भारत र बङ्गलादेशका बिउको उत्पादन राम्रो हुने भन्दै आफूले यो सिजनमा तीन हजार बोरा (२५ केजीका बोरा) बिउ बिक्री गरिसकेको सुनाउनुभयो । मण्डलले दक्षिणी मोरङका रतुवामाई, सुनबर्सी, रङ्गेली नगरपालिका, विराटनगर महानगरपालिका तथा धनपालथान र जहदा गाउँपालिकामा आफू जस्तै सयभन्दा बढी व्यापारी रहेको जानकारी दिनुभयो ।
निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगी भारत र बङ्गलादेशबाट आउने बिउसँगै विभिन्न रोग आउने बताउनुहुन्छ । “हामीले किसानलाई सचेत गर्न सकेका छैनौँ । सरकारले एक जातको बिउ विकास गर्न तीन÷चार वर्ष समय खर्चिन्छ । ठुलो लगानी भएको हुन्छ । प्रत्येक पालिकाले किसानलाई सचेत गराउनु पर्छ,” डाँगीको भनाइ छ ।