• १३ मंसिर २०८१, बिहिबार

सामुदायिक स्वास्थ्य कार्यक्रम सञ्चालन

blog

दोलखा समाचारदाता

दोलखा, फागुन १४ गते । दोलखा अस्पतालले गर्भवतीलाई लक्षित गरी यहाँका चारवटा स्थानीय तहमा सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालन गरेको छ। 

मातृ तथा शिशु मृत्युदर घटाउने मुख्य उद्देश्यले यहाँका भीमेश्वर नगरपालिका, कालिञ्चोक, तामाकोसी र वैतेश्वर गाउँपालिकामा यो कार्यक्रम सञ्चालन गरिएको अस्पतालका जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले जानकारी दिनुभयो। 

‘रोग लाग्न दिनुभन्दा नलाग्न दिनु नै बेस’ भन्ने मुख्य नाराका साथ लागू गरिएको यो कार्यक्रमले स्वास्थ्य सँगसँगै समुदायलाई जोड्ने पुलको काम गरेको छ। श्रेष्ठले भन्नुभयो, “गर्भवती र दुई वर्षमुनिका बालबालिकालाई घरघरमै पुगेर सजिलै स्वास्थ्य सेवा प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो। यसका लागि घरधुरी सर्वेक्षण गरिएको छ। दोहोरोपना नआओस् भनी स्थानीय तहसँग समन्वय गरेर प्रत्येक घरमा नीलो नम्बर प्लेट राखिएको छ। यसैको आधारमा डाटा आउँछ। औषधोपचारका लागि जटिल रोग लागेको पनि पत्ता लगाइन्छ।” 

दुई वर्षअघि न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले सुरु गरेको यो कार्यक्रम महिलाका लागि लाभदायक देखेपछि यसैलाई निरन्तरता दिइएको हो। कार्यक्रमअनुसार अहिलेसम्म भीमेश्वरमा १० हजार ९४०, वैतेश्वरमा सात हजार ९६७, तामाकोसीमा छ हजार ४८३ र कालिञ्चोकमा सात हजार ५८६ घरधुरी दर्ता भएका छन्। 

अस्पतालका जनस्वास्थ्य अधिकृत श्रेष्ठका अनुसार प्रत्येक वडामा रहेका सामुदायिक स्वास्थ्यकर्तामार्फत गाउँका ४९ वर्षसम्मका विवाहित महिलालाई प्रजनन तथा गर्भवती जाँचका लागि परामर्श दिने काम भइरहेको छ।  महिनैपिच्छे स्वास्थ्य चौकीमा परीक्षणका लागि समन्वय गर्ने काम पनि भइरहेको छ।  

सुत्केरी हुन स्वास्थ्य संस्था जाने, पोषणसम्बन्धी जानकारी दिने र रगत समूहको व्यवस्था गरिदिने पनि गरिन्छ। सुत्केरीलाई तीनदेखि सात महिनासम्म महिनामा एक पटक भेट गरी स्वास्थ्यसम्बन्धी जानकारी दिने पनि काम हुने गरेको उहाँले बताउनुभयो। 

आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा ४९ वर्षसम्मका विवाहित महिलासँग घर भेट कार्यक्रमअनुसार भीमेश्वर नगरपालिकामा तीन हजार ३७७, वैतेश्वरमा एक हजार २७९, तामाकोसीमा एक हजार ३९१ र कालिञ्चोकमा एक हजार ८५१ गरी सात हजार ८९८ लाई भेटेर स्वास्थ्यसम्बन्धी जानकारी लिने र परामर्श दिने काम भएको उहाँले बताउनुभयो। 

त्यसैगरी भीमेश्वरमा १७७, वैतेश्वरमा ६७, तामाकोसीमा ५२ र कालिञ्चोकमा २२१ गरी कुल ५१७ जना सुत्केरीलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको छ। भीमेश्वरमा ८५४, वैतेश्वरमा ३६६, तामाकोसीमा ३३७ र कालिञ्चोकमा ६५५ गरी कुल दुई हजार २१२ दुई वर्षमुनिका बालबालिकालाई भेटेर स्वास्थ्यसम्बन्धी जानकारी लिने र परामर्श दिने काम भएको उहाँले जानकारी दिनुभयो। यसै वर्षबाट सुरु गरेको वडाबाटै भिडियो एक्स–रे गरिदिने सामूहिक गर्भ स्याहार कार्यक्रमअनुसार ४६ जना महिला लाभान्वित भएको अस्पतालका जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताउनुभयो। 

सुत्केरीलाई झोला वितरण 

दोलखाको सदरमुकाम चरीकोटस्थित च्छोरोल्पा जनरल अस्पताल प्रालिले सुत्केरी सेवा लिन आउने महिलाका लागि फ्रिडम किट ब्याग वितरण गर्न सुरु गरेको छ। अस्पतालका प्रमुख डा. विनोद दङ्गाल र वीर अस्पतालका जनरल सर्जन डा. अर्चना केसीको विशेष पहलमा बेलायतको फ्रिडम किट ब्याग नामक संस्थाले प्रदान गरेको यो किट ब्याग निःशुल्क वितरण गर्न सुरु गरिएको अस्पतालका प्रशासन प्रमुख शर्मिला बुढाथोकीले जानकारी दिनुभयो।