काठमाडौं, फागुन १३ गते । एकीकृत समाजवादीका सांसद एवं पूर्वमन्त्री मेटमणि चौधरीले गरिब जनताले प्रयोग गर्न पाउनुपर्ने सहुलियपूर्ण ऋण समेत ठूला र उच्च घरानाले गरेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा शुक्रबार विशेष समय लिएर बोल्दै चौधरीले उक्त विचार राख्नुभएको हो । ‘‘हामीले थाहा नपाएर, नजानेर होइन उच्च घरानीय र ठूला ब्यापारीहरुका सेटिङमा अर्थतन्त्र कब्जा भएको छ । ठूला र उच्च घरानियाहरुले कुल पुँजीको ६१ प्रतिशत पुँजी उपयोग गरिरहेका छन् ।’’
उच्च घरानियाहरुले सहुलियपूर्ण ऋण समेत बिना धितो प्रयोग गरिरहेको बताउँदै पूर्व मन्त्री चौधरीले सुनाउनुभयो, ‘‘ठूला ब्यापारीहरुले मात्र पुँजी परिचालन गर्ने सिस्टमलाई ब्रेक गरी मध्ययम र गरिब जनताले प्रयोग गर्ने बनाउन जरुरी छ । यस विषयमा राष्ट्र बैंकको ध्यान जान जरुरी छ ।’’
पेट्रोलिय पदार्थको बढ्दो प्रयोगलाई विस्थापित गर्नुपर्ने, रासायनिक मल, बीउ बिजन, कीट नासक औषधीमा समेत पैसा बाहिरिरहेको बताउँदै सांसद चौधरीले भन्नुभयो, ‘‘कृषि उत्पादनमा जोड, कृषि उपजको न्यूनतम मूल्य निर्धारण, बिक्रीको ग्यारेन्टी, प्राङ्गारिक मल उत्पादनमा स्थानीय सरकारलाई प्लान्ट स्थापनाको जिम्मा र सहुलियत दिने हो भने अर्थतन्त्र आत्मनिर्भर हुन्छ ।’’
खर्च कटौती गरेर मात्र अर्थतन्त्रमा सुधार आउन नसक्ने भन्दै सांसद चौधरीले संसदीय समिति बनाएर अर्थतन्त्र सुधार गर्ने पोलिसी बनाउन सरकारसँग माग गर्नुभयो ।