• १३ साउन २०८१, आइतबार

छ वर्षसम्म वडाकै भवनमा नगर कार्यपालिका

blog

नगर कार्यपालिका सञ्चालन भइरहेको तिलागुफा नगरपालिका – ६ को भवन । तस्बिर– प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा  

कालीकोट, फागुन १३ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका छ वर्षसम्म वडाकै भवनबाट सञ्चालन भइरहेको छ । वि.सं. २०७४ यता नगरपालिकाको प्रशासनिक भवन बनाउन सकेको छैन । 

तिलागुफा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चौलागाईंले नगरपालिकाको केन्द्रको विवाद कायमै रहेकाले भवन निर्माण अलपत्र परेको बताउनुभयो । 

उहाँले नगरसभाले वडा नं. ९ को चिल्खायाको तल्लो क्षेत्रमा केन्द्र तोकेको बत्ताउनुभयो । तर दुई पक्षबीचको विवादले उच्च अदालत जुम्लामा मुद्दा परेको थियो ।

उच्च अदालत जुम्लाले नगर सभाको निर्णय बदर गरेका कारणले मुद्दा सर्वोच्च अदालतमासम्म पुगेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म भवन बनाउने योजना अलपत्र परेकाले वडा पालिकाकै भवनमा बसेर कामकाज गरिरहेको जानकारी दिनुभयो । 

यता, २०७६ सालको नगरसभाले बहुमतको निर्णय भन्दै केन्द्रको टुङ्गो लगाएको थियो । तर गणपूरक सङ्ख्या नपुगेको भन्दै हाल नगरपालिका रहेको साबिकको जुबिथा गाल्जे क्षेत्रका नागरिकले उच्च अदालतमा मुद्दा हालेकाले नगरपालिका भवन मात्र होइन केन्द्रको विषय पनि अलपत्र परेको हो ।

वडा नं. ९ का अध्यक्ष नरेन्द्र रोकायाले आफूहरूले नगरपालिकालाई चाहिने जग्गा पास गरेको तर मुद्दा जारी रहेकाले अहिले के हुने ? भन्ने विषयमा यकिन भएको बताउनुभयो । जिल्लाका अरू स्थानीय तहले आ–आफ्ना प्रशासकीय भवन बनाइसकेका छन् ।