• ११ मंसिर २०८१, मङ्गलबार

पत्रकारिता यात्रा र आक्रमण

blog

मिडियाप्रतिको आक्रोश, आलोचना र आक्रमण निरन्तर चलिरहन्छ । मिडियामा आउने विषय तत्काल सार्वजनिक हुन्छन्, त्यसकारण ती विषयमाथि र विषयका आधारमा मिडियाकर्मी र संस्थाप्रति टिप्पणी हुनु स्वाभाविक हो । यस्तो टिप्पणीले सञ्चार क्षेत्रलाई अन्तक्र्रियात्मक बनाउँछ । अन्तक्र्रियात्मक सञ्चार नै प्रभावकारी हुन्छ । यही अन्तक्र्रियाका क्रममा मिडियाको आलोचना पनि हुन्छ । अन्तक्र्रियामा विश्वास गर्ने क्षेत्र भएका कारण यो क्षेत्रले यस्तो आलोचनालाई पनि स्वाभाविक रूपमा नै ग्रहण गर्छ र गर्नु पनि पर्छ । योभन्दा पनि अगाडि बढेर मुख नै बन्द गर्ने अभिप्रायका साथ अस्वस्थ्य ढङ्गले आक्रमणसमेत सहन सञ्चार क्षेत्र बाध्य हुँदै आएको छ । त्यस्तो आक्रमण सैह्य हुँदैन । यस्तो आक्रमणले अन्ततः प्रेस स्वतन्त्रतालाई कमजोर बनाउँछ ।

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको परिकल्पना गरेको भए पनि प्रेस स्वतन्त्रतामाथिको आक्रमण निरन्तर चल्दै आइरहेको छ । पत्रकार महासङ्घको तथ्याङ्क हेर्ने हो भने भर्खरै सकिएको अङ्ग्रेजी वर्ष ०२२ मा १५० जना सञ्चारकर्मी प्रभावित हुने गरी आक्रमण भएका छन् । अघिल्ला वर्षमा पनि यस्तै सङ्ख्यामा सञ्चार क्षेत्रमाथिको आक्रमणलाई गणना गर्न परेको थियो । 

आक्रोश, आलोचना र आक्रमणको निरन्तरको प्रहार खेप्दै गर्दा पनि पत्रकारिता चलिरहेको छ । यो यसरी नै चली पनि रहन्छ । मिडियालाई बोल्न नसक्ने बनाएर स्वार्थसिद्ध गर्नेहरूको उपस्थिति पनि समाजमा बाक्लै हुन्छ । त्यसकारण यस्तो नियतिसँग लड्न पर्छ भन्ने हेक्का राखेर नै पत्रकारिता गर्नुपर्ने हुन्छ ।

नेपालको पत्रकारिता पनि यस्तै चुनौतीका बीच आफ्नो दायित्वको स्मरण गर्दै अगाडि बढ्दै आएको छ । एक दशकको समयावधिको मात्र अध्ययन गर्ने हो भने पनि नेपाली पत्रकारिताको भूमिका प्रशंसनीय रहेको देखिन्छ । महाभूकम्पपछि राहत सङ्कलन र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने सन्दर्भमा मिडियाले खेलेको भूमिका कसैका सामु छिपेको छैन । देशभरबाट राहत सङ्कलन हुनु र जहाँ आवश्यकता छ त्यहाँ सङ्कलित रकम पुग्न सक्नुमा मिडियाको भूमिका प्रसस्त रह्यो । मिडिया त्यसरी प्रस्तुत हुन नसकेको भए राज्य एक्लैले त्यो भार बहन गर्न सक्ने थिएन र थप मानवीय क्षतिको खतरा रहन्थ्यो । 

त्यसैगरी यसबीचमा कोरोनाको कहरका समयमा पनि मिडियाको भूमिका महìवपूर्ण रहन पुग्यो । कोरोनाको औषधि छैन र त्यसबाट बच्ने उपाय भनेको सामाजिक दूरी कायम गरेर हो भन्ने कुरा मिडियाबाटै नागरिकले जान्न पाए र आफूलाई सतर्क गराए । कोरोना फैलन थालेको एक महिनाभित्र देशका हरेक नागरिकले मास्कको प्रयोग गर्न थाले । सेनिटाइजर खोजिन थालियो । यो कुरा मिडियाका कारण मात्रै सम्भव भएको हो । एउटा सर्वेक्षणका अनुसार ८५ प्रतिशतभन्दा धेरै सङ्ख्याले मिडियाबाट नै कोरोनाबाट बच्ने उपाएका बारेमा जानकारी पाएका थिए । सबैको पहुँचमा मिडिया पुग्यो भने र उसको सामग्री तथ्यमा आधारित हुन पुग्यो भने त्यसले रूपान्तरणको गतिलाई तीव्र बनाउन सक्छ भन्ने उदाहरण कोरोनाकालमा मिडियाले दिन सकेको छ । कोरोनाका कारण आफैँ आर्थिक रूपमा समेत ध्वस्त हुँदै गर्दा पनि नागरिकलाई सूचना दिने आफ्नो जिम्मेवारीलाई विभिन्न विकल्पको प्रयोग गर्दै भएपनि नेपाली मिडियाले निर्वाह गरेको यथार्थ हाम्रासामु छ । विश्व प्रसिद्ध अर्थशास्त्री अमत्र्य सेनले आफ्नो अनुसन्धानको निष्कर्षमा भनेका छन् कि–जहाँ प्रेस स्वतन्त्र हुन्छ, त्यहाँ कोही पनि भोकमरीले ज्यान गुमाउन विवश हुँदैन । उनको यो भनाइलाई नेपाली पत्रकारिताले महाभूकम्प र कोरोनाको समयमा सत्य साबित गर्ने गरी योगदान दिएको छ । 

मिडियाले एकातर्फ यस्तो भूमिका निर्वाह गर्दै आइरहेको छ भने अर्कोतर्फ निरन्तर र सबैभन्दा बढी आक्रमणको निशाना पनि यही क्षेत्र हुँदै आएको छ । आखिर यस्तो हुन्छ किन ? विश्वभरका अध्येताको मथिङ्गल घुमाइदिएको प्रश्न हो यो । हुन पनि नागरिकलाई सुसूचित गर्ने जिम्मेवारी निर्वाह गर्नु त आफैँमा प्रशंसनीय कार्य हुनुपर्ने तर निरन्तर आक्रमण किन ? खासगरी मिडियामा आक्रमण गर्नेहरूमा स्वार्थ समूह नै बढी रहेको तथ्याङ्कले देखाउँछ । मिडियाको खबरदारीले आफ्नो स्वार्थमा समस्या हुने महसुस भयो भने नै मिडियामाथि आक्रमण हुने गरेको विभिन्न अनुसन्धानको साझा निष्कर्ष हुने गर्छ । त्यसबाहेक मिडियाले आफ्नो विश्वसनीयता कायम राख्न सकेन भने पनि ऊ असुरक्षित रहन पुग्छ । अनुसन्धानका आधारमा भन्नुपर्दा मिडिया असुरक्षित हुनुमा यी दुई कुरा कारक देखिन्छन् । त्यसैगरी अर्को कारण भनेको मिडिया साक्षरताको कमीले पनि यदाकदा मिडियाले असुरक्षाको सामना गर्न परेको देखिन्छ । मिडियामा आउने सामग्री कसरी उत्पादन हुन्छन् ? ती सामग्री उपर चित्त नबुझेमा 

त्यसको निरूपण खोज्ने विधि के हो ? भन्ने जस्ता विषयमा जानकारी पाउन नसक्दा पनि मिडिया आक्रमणको सिकार हुने गरेको पाइएको छ । 

राजनीतिक नेतृत्व भने मिडियासँग सधैँ झस्कने र उसलाई आक्रमण गर्ने मौका ढुकेर बस्ने गरेको पनि पाइन्छ । प्रेस स्वतन्त्रताप्रति मौखिक प्रतिबद्धता जनाइ राख्ने, आफ्ना घोषणा÷प्रतिबद्धतापत्रमा प्रेस स्वतन्त्रताका सन्दर्भमा बलियो प्रतिबद्धता जनाउन पनि पछि नपर्ने तर व्यवहारमा त्यस्तो नगर्ने चरित्र राजनीतिक नेतृत्वले पटक पटक देखाउँदै आएको छ । अनुकूलको समाचार भएन भने विद्युतीय कारोबार ऐन लगाएर कारबाही गराउने, कार्यकर्ता उचालेर धम्क्याउने मात्र नभई अहिले त जिम्मेवार र प्रमुख नेताले नै सञ्चारगृह घेर्न जाने धम्कीसमेत दिएका घटना छरप्रस्ट भएका छन् । त्यही आधारमा पत्रिका जलाइएका पनि छन् । अर्कोतर्फ कानुन बनाउने हैसियत राख्ने नेतृत्वले मिडियाको स्वतन्त्रतालाई नियन्त्रण गर्ने र अदालत नपुगेरै दण्ड दिने संरचना निर्माण गर्नेजस्ता अलोकतात्रिक कानुन बनाउन पनि अग्रसर भएको पाइयो । धक्काएर वा कानुनले बाधेर प्रेसलाई नियन्त्रण गर्न खोज्नु दुवै लोकतान्त्रिक संस्कृतिभन्दा पृथक् अभ्यास हुन् । लोकतन्त्रको हिमायती भन्नेहरूले नै गैरलोकतान्त्रिक संस्कृतिको अभ्यास थाल्नु विडम्बना हो । 

एक जना विद्वान्ले भनेका छन्, न्यायाधीश र पत्रकारलाई एकक्षीय बन्ने छुट रहँदैन । हुन पनि यसो भयो भने न्याय पनि मर्छ र नागरिक पनि सही ढङ्गले सुसूचित हुन सक्दैनन् । न्याय पनि नहुने र सही सूचना पनि नपाउने समाज कस्तो होला ? यी दुवै क्षेत्रलाई निष्पक्ष र विश्वसनीय बनाउने सन्दर्भमा प्रशस्त छलफल अपरिहार्य हुन्छ । यस्तो छलफल अपरिहार्य पनि हुन्छ । छलफलका संश्लेषणले दुवै क्षेत्रलाई परिमार्जित हुन प्रेरित गर्छन् । यो क्रममा न्याय तथा पत्रकारिता क्षेत्रका समस्या पहिचान हुन्छन् र ती समस्या समाधानका विधि र उपाय पनि सुझाइन्छन् । पत्रकारिताको कुरा गर्दा यस्ता छलफल पछि यो क्षेत्रलाई कसरी अझै जिम्मेवार, प्रतिस्पर्धी र उत्तरदायी बनाउन सकिन्छ भन्नेबारेमा निष्कर्ष निकाल्न सकिन्छ । यो प्रक्रियामा सबै पक्षको सहभागिता सधैँ अपेक्षित हुन्छ । यसो भयो भने कही कतै सुधारको आवश्यकता महसुस भयो भने सुधारका लागि प्रेरित गर्न सकिन्छ पनि । कानुन बनाउन पर्ने हो कि, प्राविधिक गाँठो फुकाएर हुन्छ कि वा अरू कुनै उपायमार्फत हुन्छ कि ? एउटा सर्वस्वीकार्य र लोकतान्त्रिक विधिमार्फत अगाडि बढेर मिडियालाई समाज अपेक्षित बनाउन सकिन्छ । तर यो बाटो नपकड्ने, धम्क्याएर मिडियालाई आफ्नो अनुकूल बनाउने तरिका रोज्ने मूर्खता पनि स्वार्थ समूहले समय समयमा गरेको देखिन्छ । 

प्रेस स्वतन्त्रताको अत्यधिक प्रयोगको वातावरण निर्माणले मात्रै सुशासनलाई मद्दत पु¥याउँछ, नागरिकको चाहनाले आवाज पाउँछ, सार्वजनिक निकायलाई जिम्मेवार र उत्तरदायी बनाउँछ, निरन्तरको खबरदारीले सबैलाई सजक बनाउँछ, समाजलाई अन्तक्र्रियात्मक बनाउँछ, नागरिकलाई अभिव्यक्त हुन प्रेरित गर्दै अवसर दिन्छ । प्रेस स्वतन्त्रताको अभावमा यी विषय हुन सक्दैनन् । यी विषय नहुँदाको समाज कस्तो होला ? बन्द समाज निर्माण गर्न चाहनेले उल्लिखित गतिविधि हुन दिँदैनन् र प्रेसलाई तर्साएर राख्छन् । लोकतन्त्रको अभ्यासलाई जीवनशैली बनाइसकेको समाजमा प्रेस स्वतन्त्रता अपहृत हुनै सक्दैन । बरु अझ सशक्त कसरी हुने भन्ने चिन्तन निरन्तर गरिरहन्छ । एउटा लोकतन्त्रवादीले कुनै अपवाद देखाएर मिडियालाई आक्रमण गर्ने सोच मानसपटलमा जन्माउनै सक्दैन । निरन्तरको यात्रामा मिडियाले थुप्रै पटक भौतिक र मानसिक आक्रमण बेहोर्दै आएको छ । धम्कीका फेहेरिस्त नै अभिलेखमा देखिन्छन् । तर पनि यो क्षेत्र निरन्तर निर्भीकताका साथ अगाडि बढ्छ । विश्वसनीयता अभिवृद्धिका लागि सत्य तथ्यमा आधारित रहनु पत्रकारिताको धर्म नै हो । निर्भीकताका साथ अगाडि बढ्ने हिम्मत मिडियालाई यही ‘धर्म’ हो । त्यसमा पनि चुकेमा पत्रकार आचारसंहिताले सच्चिनका लागि अभिप्रेरित गरिरहेको हुन्छ । आचारसंहिताको दफा ४ को १५ मा गल्ती सच्याउन तत्परताको यसरी व्याख्या गरेको छ –पत्रकार तथा सञ्चारमाध्यमले समाचार तथा विज्ञापन सम्प्रेषण गर्दा सार्वजनिक सरोकार र संवेदनशीलतालाई सदैव ख्याल गर्नुपर्छ । त्यस्ता सामग्रीको सत्यतामाथि प्रश्न उठ्नासाथ अनुसन्धान गर्नु, त्रुटि एवं गल्ती भएको जानकारी हुना साथ यथाशीघ्र सच्याउनु तथा प्रकाशित वा प्रसारित सामग्री असत्य हो भन्ने सप्रमाण खण्डन वा प्रतिक्रिया आएमा प्रस्ट भाषामा उचित स्थान दिई प्रकाशन वा प्रसारण गर्नुपर्छ ।

पेसागत धर्म र आचारसंहिताको मर्मको अनुसरण नै पत्रकारिताको इन्धन हो । यो इन्धनको प्रभावकारी सदुपयोग गर्दै जाने हो भने पत्रकारिताप्रतिका गुनासा आफैँ मत्थर हुँदै जानेछन् । धम्की र आक्रमणले प्रेस स्वतन्त्रता कमजोर बनाउने दुस्साहस त आफैँमा अर्को अपराध हो । 

लेखक नेपाल पत्रकार महासङ्घका अध्यक्ष हुनुहुन्छ ।