• ९ पुस २०८१, मङ्गलबार

फोनिज मधेस प्रदेशले आदिवासी जनजाति सांसदहरूलाई सम्मान गर्दै

blog

धर्वेन्द्र झा

जनकपुर, फागुन १३ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेस प्रदेश कार्य समितिले आज जनकपुरमा मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने आदिवासी जनजाति सांसदहरूलाई सम्मान गर्ने भएको छ । सांसदहरूलाई प्रदेश सभामुख रामचन्द्र मण्डलले सम्मानित गर्नुहुने आयोजकले जनाएको छ ।  

फोनिज मधेस प्रदेशका अध्यक्ष दृष्यन्त चौधरीले मधेस प्रदेशमा आदिवासी जनजाति सांसदलाई विशेष कार्यक्रम गरी सम्मानित गर्न लागेको बताउनुभयो । प्रदेश सभामा निर्वाचित सबै १५ जना  सांसदहरूलाई कार्यक्रममा आमन्त्रण गरिएको उहाँले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा कार्यालयको सभाकक्षमा कार्यक्रम आज दिउँसो १ बजे हुने अध्यक्ष चौधरीले बताउनुभयो ।

आदिवासी जनजाति सांसदहरूलाई सम्मानित गर्ने र आदिवासीको माग मुद्दा र सवाल सम्बोधनका लागि सांसदहरूलाई खबरदारी गर्ने अध्यक्ष चौधरीले बताउनुभयो । मधेस प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ जना सांसद छन् । सो मध्ये १५ जना आदिवासी जनजाति सांसद रहेको चौधरीले जानकारी दिनुभयो । प्रतिशतले आदिवासी जनजातिको सहभागिता प्रतिशत १४ हो । 

फोनिज सङ्घीय समितिले फागुन २७ र २८ गते सर्लाहीको हरिवनमा नीति तथा विधान सम्मेलन गर्ने निर्णय पनि गरेको छ । सो सम्मेलनमा फोनिजका ६२ जिल्लाबाट करिब तीन सय पत्रकार सहभागी हुने केन्द्रको भनाइ छ ।