• ९ पुस २०८१, मङ्गलबार

परिक्रमावासीलाई भव्य स्वागत

blog

जलेश्वर समाचारदाता 

जलेश्वर, फागुन १३ गते । मिथिलाको बहुचर्चित माध्यमिकी परिक्रमाको धार्मिक लावालस्कर महोत्तरीको दोस्रो पडाव स्थल जलेश्वरमा आइपुगेको छ। शुक्रबार बिहानै आइपुगेका परिक्रमावासीलाई स्थानीयले भव्य स्वागत गरेका छन्। 

रात्रि विश्रामका लागि जलेश्वर आइपुगेका साधु सन्त, महन्थ, नागाबाबा र गृहस्थलगायतका परिक्रमाका यात्रुलाई ब्यान्डबाजा र सहनाई बाजासहित स्थानीय युवा, जनप्रतिनिधि र प्रशासनिक प्रतिनिधिले जलेश्वरको भार्गवसर कुटीअगाडि भव्य स्वागत गरेका छन्।  

परिक्रमा यात्रीका लागि आवास, भोजन र आकस्मिक उपचारको व्यवस्था संस्थागत र निजी रूपमा गरिएको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंहले बताउनुभएको छ। परिक्रमावासीको सहजताका लागि मेलाभर तीन सयभन्दा बढी स्वयं सेवक परिचालन गरिएको छ। जलेश्वर नगरपालिकाले परिक्रमाकै अवसर पारेर शुक्रबार सार्वजनिक बिदा गरेको छ।  

परिक्रमा मेलामा घुम्न आएका साधु सन्त, नागा बाबाहरूको क्रियाकलाप हेर्न आउनेको जलेश्वरमा शुक्रबार बिहानैदेखि भीड देखिएको छ। परिक्रमा विश्राम स्थलमा जलेश्वर वरिपरिका गाउँ र भारत विहारको सीतामढी, सुरसन्ड, मधवापुरलगायत ठाउँबाट पनि सर्वसाधारण मेला हेर्न आएका छन्।  

यसअघि मटिहानीबाट जलेश्वर आउने क्रममा बाटोमै सुगा गाउँका बासिन्दाले घरघरबाट खाद्यान्न ल्याएर निःशुल्क भोजन गराएका थिए। 

धनुषाको कचुरी मठबाट मिथिला विहारी तथा अग्नि कुण्डबाट किशोरीजीको डोलासाथ धार्मिक विधिअनुसार जानकी मन्दिर हुँदै परिक्रमा सुरु भएको हो। परिक्रमा हनुमानगढी, कल्याणेश्वर, फूलहर हुँदै बिहीबार महोत्तरीको मटिहानी पुगेर रात्रि बासपछि शुक्रबार बिहानै जलेश्वर आइपुगेको हो। जलेश्वरको विश्रामपश्चात् शनिबार परिक्रमाको धार्मिक लस्कर महोत्तरीको मडै पुग्नेछ। त्यसपश्चात् धु्रवकुण्ड, कञ्चनवन धनुषाको पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र फागुन पूर्णिमाको दिन जनकपुर फर्केर अन्तरगृह परिक्रमा गरेपश्चात् सम्पन्न हुनेछ। 

१८औँ शताब्दीदेखि सुरु भएको माध्यमिकी परिक्रमाकाका यात्रुले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिको पैदल यात्रा तय गर्ने परम्परा रहेको छ। परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्धार, दरभङ्गाहा, सीतामढी, बैजनाथधामका साधुहरू उल्लेख्य रूपमा सहभागी भएका छन्। 

फागुन शुक्ल प्रतिपदाको शुभ साइतबाट प्रारम्भ भएको यो धर्मयात्रा १५ दिनभित्र जनकपुरधाम पुगी होली खेलेर फागुपूर्णिमा तिथि पारी समापन गरिने परम्परा छ।