• ८ वैशाख २०८१, शनिबार

फोनिज यूके पत्रकारिता सम्मान पत्रकारद्वय लामा र श्रेष्ठलाई

blog

फोनिज यूके पत्रकारिता पुरस्कारबाट सम्मानित पत्रकारद्वय रमिता लामा र नृपेन्द्रलाल श्रेष्ठ । तस्बिर : केशब गुरुङ

काठमाडौँ,  फागुन १२ गते ।  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) यूके शाखाले स्थापना गरेको 'फोनिज युके पत्रकारिता सम्मान २०२२' बाट दुई जना पत्रकार सम्मानित र पुरस्कृत हुनुभएको छ । रेडियो नेपालको समाचार महाशाखामा सम्पादकको जिम्मेवारीमा यसअघि कार्यरत रहनुभएकी रमिता लामा सो सम्मानबाट सम्मानित हुनुभयो । त्यस्तै, फोनिज यूके पत्रकारिता पुरस्कार–२०२२ बाट पत्रकार नृपेन्द्रलाल श्रेष्ठ पुरस्कृत हुनुभएको हो ।

काठमाडौंमा शुक्रबार आयोजित पुरस्कार वितरण समारोहमा सङ्‍घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी थारुले दुवै जनालाई सम्मान र पुरस्कार प्रदान गर्नुभएको हो । सम्मान तथा पुरस्कारको २५ हजार रुपियाँ र सम्मानपत्र छ। फोनिज यूकेले सञ्चारक्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउँदै आएका पत्रकारलाई हरेक वर्ष सम्मानित र पुरस्कृत गर्दैआएको छ । 

प्रत्येक वर्ष सञ्चार मन्त्रालयबाट सञ्चारमाध्यमलाई दिने अनुदान सहयोग फोनिजलाई पनि उपलब्ध गराउने मन्त्री मोदीले प्रतिबद्धता जनाउनुभयो ।आदिबासी जनजातिको अधिकार र सवालको पैरवीमा फोनिजले खेल्दैआएको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले सरकारको काममा रचनात्मक सुझाव दिन पत्रकारसँग आग्रह गर्नुभयो । 

कार्यक्रममा फोनिजका अध्यक्ष गजुरधन राईले हरेक क्षेत्रमा समावेशी समानुपातिक प्रतिनिधित्वका लागि फोनिजको तर्फबाट सधैं खबरदारी गरिरहने बताउनुभयो । पुरस्कृत पत्रकार रमिता लामाले पत्रकारिताको माध्यमबाट आफूले समाजका लागि गरेको सकारात्मक योगदानको कदर गर्दै पुरस्कार प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभयो । 



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।