म बाटो हेरिरहेँ
तिमी आयौ
बाआमाको आँखा छल्दै
मुई खाँदै रुन थाल्यौ
त्यसबेला मधुरो सूर्य नारायणीमा बाफिरहेको थियो
नुहाउनेहरूको भीड चिसोमा रमाउँदै थिए
सूर्यलाई जल चढाउँदै थिए
पालाका बत्तीहरू
एकनास
बगिरहेका थिए
बलिरहेका थिए
तिम्रो लोभलाग्दो आँखा जसरी
आँसुमा टल्पलाइरहेका थिए
हाम्रो मायामा समयलाई रोक्न खोजिरहेका थिए,
तिमी त सधैँ छलेरै आउँछौ
अर्को वर्षसम्म यही दिन कुर्न नभन
नत्र म हुनेछैन
तिमीलाई खोज्दाखोज्दै कतै हराइदिने छु
बौलाहा भएर,
म भन्दै थिएँ
अतिथिगृहको बाटोबाट नफर्क
त्यहाँका भित्ताहरूमा छरिएका रगतका टाटाहरूले
तिमीलाई लठ्याउने छन्
मलाई तिमीबाट टाढा लैजाने छन्
एउटा युद्धमा
या एउटा मसानमा
जहाँबाट म कहिले फर्कने छैन ।
माघेसङ्क्रान्ति