तिमीले त कति सहजै भन्यौ
सबै कुरा बिर्सिदिनुस् है !
––
तर कहाँ बिर्सिन सकिन्छ र
सम्झनाहरू/सँगै विताएका पलहरू
विगत बिर्सिनु भनेको त
मैले मेरो अस्त्वि पनि बिर्सिनु हो
अनि आफैँलाई बिर्सेर
कसरी बाँच्न सकिएला र ?
मसँग तिमी नभए पनि
तिम्रा यादहरू सधैँ बेरिएका हुन्छन्
तिम्रा रिस र घुक्र्याइँहरू
तिम्रो मुस्कान र मायाहरू
ढुक्क र छट्पटीहरू
––
अब तिमी नै भन
म कसरी बिर्सिन सक्छु तिम्रो मुस्कान
जबसम्म फूलहरू फुलिरहन्छन्
म कसरी बिर्सिन सक्छु तिम्रो हाँसो
जबसम्म चराहरू गाइरहन्छन्
म कसरी बिर्सिन सक्छु तिम्रो स्पर्श
जबसम्म हावा बहिरहन्छ
म कसरी बिर्सिन सक्छु तिम्रो माया
जबसम्म म रही रहन्छु ।