• २० वैशाख २०८१, बिहिबार

जन्मजात मुटुराेगकाे उपचार सम्भव

blog

काठमाडौं, फागुन ११ गते । संसारभर एक हजार जीवितै जन्मिएका शिशुमध्ये आठदेखि १० जनामा जन्मजात मुटुसम्बन्धी रोग फेला परेको अध्ययनले देखाएको छ । जसमध्ये एक दुई जनालाई स्वास्थ्यसम्बन्धी जटिलता आउने हुँदा तुरुन्त उपचार आवश्यक पर्ने बाल मुटुरोग विशेषज्ञ डा. मनिष श्रेष्ठ बताउनुहुन्छ ।

उहाँकाअनुसार यस्तो समस्या योजना बनाएर जन्मिने बच्चाको तुलनामा विना योजना जन्मिने बच्चामा बढी देखिने गर्छ । यस्तै, हालै काठमाडौँमा रहेको गङ्गालाल हृदय केन्द्रले गरेको अध्ययनमा १३ हजार बालबालिकाकाे मुटुको परीक्षण गर्दा १४६ जनामा जन्मजात मुटुरोगी फेला परेको हो । बुढानिलकण्ठका पाँचदेखि १५ वर्ष उमेरका विद्यार्थीमा उक्त परीक्षण गरिएको थियो ।

के हो जन्मजात मुटुरोग ?

उहाँकाअनुसार जन्मँदै मुटुभित्रका विभिन्न भाग तथा मुटु बाहिरका धमिनीमा गडबडी भएर हुने मुटुको रोगलाई जन्मजात मुटुरोग भनिन्छ । जन्मजात मुटुको रोग हुँदा मुटुको कोठाबीचका पर्दामा प्वाल पर्ने, रक्तनली र भल्व खुम्चिने, रक्तनली उल्टो दिशाबाट विकसित हुने, भल्व आंशिक वा पूर्ण रूपमा बन्द हुने र मुटुको दायाँ वा बायाँ भाग अविकसित हुने जस्ता समस्या देखिन्छ।

डा. श्रेष्ठका अनुसार आमाको गर्भमा हुँदा नै यो समस्या देखिने गर्छ । विभिन्न अन्य स्वास्थ्य समस्या भएका बच्चामा मुटुको रोग हुने सम्भावना बढी हुन्छ।

दुई प्रकारका जन्मजात मुटुका रोग

बच्चा जन्मँदै देखिने मुटुको रोग सामान्य र कडा गरी दुई प्रकारका हुन्छन् । जटिल रोग लाग्दा बच्चा जन्मिनासाथ बच्चालाई गाह्रो हुने उहाँ बताउनुहुन्छ । बच्चा जन्मिदा निलो हुने, बच्चालाई गाह्रो हुने र समयमा उपचार गरिएन भने बच्चाको ज्यान पनि जान सक्छ ।

उहाँ भन्नुहुन्छ, “यस्तो समस्या भएका बच्चालाई जन्मिएको सात दिनभित्र गाह्रो हुनसक्छ । उपचार भएन भने बच्चाको ज्यान पनि जान सक्छ ।” डा. श्रेष्ठकाअनुसार साधारण खालको मुटुरोग मानिसले थाहा पाउन सक्दैनन् ।“सामान्य खालको जन्मजात मुटुको समस्या लक्षण नदेखिने हुँदा कुनै मानिसको ठूलो भएपछि मात्रा पत्ता लाग्ने गर्छ ।”

रुघा, खोकी, झाडापखाला लाग्दा, ज्वरो आउँदा चिकित्सकलाई देखाउँदा मुटुको आवाज असाधारण सुनिने हुँदा समस्या भए/नभएको पत्ता लगाउन सकिने डा. श्रेष्ठको भनाइ छ । सबै मुटुको रोग एउटै हुँदैन । रोगअनुसार यसका लक्षण पनि फरक फरक देखिने गर्दछन् । रोगको प्रविधि हेरेर यसको उपचार पनि फरक फरक हुने चिकित्सक बताउँछन् ।

कारण

उहाँकाअनुसार जन्मजात मुटु रोगको कारण यही हो भनेर भन्न सकिने अवस्था छैन । तर जन्मजात मुटु रोग वंशाणुगत, दूषित वातावरणीय प्रभावले पनि लाग्न सक्छ । गर्भावस्थामा चिकित्सकको सल्लाह विना विभिन्न औषधि खाएमा, मदिरापान वा धूम्रपान गरेमा, भाइरस इन्फेक्सन भएका बच्चामा मुटुको समस्या देखिन सक्छ । हाडनाता भएका नातागाेताबीच बिहे भए पनि जन्मजात मुटुको रोग देखिने उहाँको भनाइ छ ।

पेटभित्र नै पत्ता लगाउन सकिन्छ ?

जटिल प्रकारको मुटुरोग पेटभित्रको बच्चामा पत्ता लगाउन सकिने प्रविधि अहिले नेपालमा भित्रिसकेको उहाँकाे भनाइ छ । जटिल मुटुको रोग पेटभित्र २० हप्ते बच्चाको भिडियो एक्स–रे गरेपछि पत्ता लगाउन सकिन्छ । जन्मअघि नै रोग पत्ता लगाउन सकिएमा कहाँ, कसरी, कुन ठाउँमा जन्माउने र कस्तो उपचार विधि अपनाउने भन्ने थाहा पाउन सकिन्छ । 

उपचार विधि

समयमा उपचार गर्न सकिए साे राेग निको हुन्छ । यदि समयमा नै उपचार गर्न सकिएन भने औषधि उपचार र शल्यक्रियामा समस्या आउने उहाँ बताउनुहुन्छ । रोगको प्रवृतिअनुसार उपचार विधिहरु छुट्टाछुट्टै हुन्छन् । गम्भीर प्रकारका रोगलाई सजिलो गराउन सकिन्छ । साधारण छ भने औषधिले पनि निको बनाउन सकिन्छ ।

त्यस्तै, अलि जटिल छ भने दुई प्रकारका शल्यक्रियामार्फत पनि रोग निको गर्न सकिने उहाँकाे तर्क छ । समस्या भएको ठाउँमा हात/खुट्टाको नसाबाट तार छिराएर शल्यक्रिया गर्न सकिन्छ । उहाँ भन्नुहुन्छ, “भल्वको समस्या भए बेलुनको माध्यमबाट खोल्ने, प्वाल छ भने मुटुमा 'डिभाइस' लगेर राखिदिने गर्नुपर्छ ।”

अर्को विधि भनेकाे ओपन हाट सर्जरी हाे । उहाँ भन्नुहुन्छ,“कुनै बच्चाको मुटुमा दुई तीनवटा रोग हुन सक्छन् । नसाबाट शल्यक्रिया गर्न नसकिने रोगहरु मुटु चिरेर (ओपन हाट सर्जरी) गर्नुपर्ने हुन्छ ।” उपचार गरेपछि बच्चामा हुने ७० प्रतिशत रोग पूर्ण रुपमा निको हुनसक्छ ।

जटिल रोगमा शल्यक्रियापछि पनि बेलाबेलामा विभिन्न समस्या देखिने हुँदा चिकित्सकको निगरानीमा बस्नुपर्ने डा. श्रेष्ठ बताउनुहुन्छ । राम्रोसँग विकास नभएकाको मुटुका भल्वमा कृत्रिम भल्व राखेमा उमेर बढ्दै जाँदा पुनः भल्व परिवर्तन गर्नुपर्ने हुनसक्छ ।

बच्ने उपाय

योजनाबाट बच्चा जन्माउने, गर्भावस्थामा चिकित्सकको परामर्शमा मात्रै औषधिको सेवन गर्ने, इन्फेक्सन भएमा तुरुन्त उपचार गर्ने, ध्रुमपान वा मद्यपानबाट टाढा रहँदाे पनि जन्मजात मुटुरोगबाट बचानयउन सकिन्छ । २० हप्ते पुगेपछि पेटभित्रको बच्चाको भिडियो एक्स–रे गर्ने र बच्चा जन्मिसकेपछि शंका लागेमा चिकित्सकलाई देखाउँदा जोगाउन सकिन्छ।


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।