• १० मंसिर २०८१, सोमबार

बधाई, क्रिकेट टिमलाई

blog

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व कप क्रिकेट लिग (२ अन्तर्गतका त्रिदेशीय खेल काठमाडौंँमा भइरहँदा नेपाली क्रिकेटप्रेमी तथा खेलाडीमाझ आशा, उमङ्ग, उत्साह तथा हर्ष ल्याएको छ । नेपाल, नामिबिया तथा स्कटल्यान्डको सहभागिता रहेको यस शृङ्खलामा खेलेका सबै खेलमा विजयश्री प्राप्त गरेर नेपाली क्रिकेट टिमले सम्पूर्ण नेपालीमा खुसीको सञ्चार गरिदिएको हो । क्रिकेटको यो लिग–२ महत्वपूर्ण प्रतियोगिताका रूपमा स्थापित छ । त्यसका माध्यमबाट क्रिकेटको आसन्न विश्वकप प्रतियोगितामा छनोट हुने तथा क्रिकेटको अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता जोगाउने अभियान पनि हो । यस अर्थमा पनि यो प्रतियोगिता तथा यसका बाँकी खेल नेपालका निम्ति अति नै अर्थपूर्ण मानिएको हो । 

काठमाडौँमा सम्पन्न लिग–२ का खेलमा नेपालका प्रतिस्पर्धी तुलनात्मक रूपमा बलिया मानिएका तथा खेल तालिकामा नेपालभन्दा अगाडि रहेका स्कटल्यान्ड तथा नामिबियासँग थियो । प्रत्येक टिमले अर्को टिमसँग दुई दुई पटक खेल्नुपर्ने नियमानुसार नेपालले दुवै सशक्त टिमलाई दुवै पटक पराजयको स्वाद चखाउन सफल भयो । स्कटल्यान्ड तथा नामिबियालाई यसरी दुई दुई पटक हराउन सक्नु नेपाली टिम क्षमतावान् हुँदै गएको प्रमाणका रूपमा लिन सकिन्छ । स्कटल्यान्डसँगको अन्तिम खेलमा २१३ रनको लक्ष्य पछ्याउँदै गर्दा आठ विकेटको क्षतिमा १३८ रन मात्र बनाउँदा लगभग हारको सँघारमा पुगिसकेको नेपालले खेलमा पुनरागमन गर्दै दुई विकेटले विजय प्राप्त गर्नु वास्तवमै रोमाञ्चक एवं विश्वस्तरीय खेलका रूपमा लिन सकिन्छ । यस तथ्यबाट समेत नेपाली खेलाडीमा धैर्य, सुझबुझ, खेल कौशलमा अभिवृद्धि हुँदै गएको मान्न सकिन्छ । वास्तवमै यस पटकको खेलले क्रिकेटमा नेपालले क्रमिक रूपमा गर्दै गएको प्रगतिलाई समेत उजागर गरेको छ । 

लिग–२ मा छ देशका टिम समावेश भएकामा ३६ खेल खेलेर शीर्ष तीन टिमले आसन्न विश्वकपमा खेल्न पाउने तथा शीर्ष पाँच टिमले अन्तर्राष्ट्रिय मान्यता जोगाउन यत्न गर्छन् । नेपालले हालसम्म २८ खेल खेलेर २६ अङ्कसहित पाँचौँ स्थानमा रहेको अवस्था छ । यस हिसाबबाट नेपालले विश्वकपमा छनोट हुन तथा एकदिवसीय मान्यता कायम राख्न अझै सङ्घर्ष एवं विजयश्रीको यात्रालाई निरन्तरता दिनुपर्ने स्थिति देखिन्छ । लगातारको मेहनत, धैर्य र साहसले कुनै पनि खेल विजय प्राप्त गर्न आधार सिर्जना गर्छ । नेपालले केही वर्ष यता क्रिकेटमा नेपाली उत्साह बिस्तारै उक्सँदै छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको नाम राख्ने क्रम अगाडि बढेको छ तर पूर्वाधारका हिसाबले अझै पनि नेपाल पछाडि नै छ ।

काठमाडाैँमा भएका यो पटकका सबै खेलमा जितको झन्डा फहराएपश्चात् नै नेपालको विश्वकप यात्रा तथा एक दिवसीय मान्यता कायम राख्ने आशा जीवित भएको मान्न सकिन्छ तर अझै धेरै मेहनत र धैर्यको आवश्यकता छ । लिग–२ मा स्कटल्यान्डले शीर्ष स्थानमा रहेर ट्रफी हात पारिसकेको छ भने ओमान पनि विश्वकपका निम्ति छनोट भइसकेको छ । अब नेपाल, युनाइटेड अरब इमिरेट्स, नामिबिया तथा अमेरिकाबीच विश्वकपमा छनोट तथा एकदिवसीय मान्यता कायम राख्न सङ्घर्ष हुने देखिन्छ । यसै लिगअन्तर्गत केही दिनपछि नै नेपाल क्रिकेट खेल्न युनाइटेड अरब इमिरेट्सतर्फ जाँदैछ जहाँ नेपाली खेलाडीले आफ्नो दुई लक्ष्य प्राप्तिका निम्ति पूरापूरा प्रयास गर्नेमा विश्वस्त रहन सकिन्छ । 

आईसीसीबाट उपलब्ध हुने आकर्षक सहयोग तथा राष्ट्रिय टिमका लागि अन्य मुलुकका राष्ट्रिम टिमसँग धेरैभन्दा धेरै म्याच खेल्न पाउने अवसरका कारण पनि एकदिवसीय मान्यता कायम राख्न महत्वपूर्ण छ । यो मान्यता कायम राख्न नसकिएमा नेपाली क्रिकेटको प्रगतिमा अवरोध आउने देखिन्छ । तसर्थ लिगका बाँकी अन्य खेलमा विजयश्री प्राप्त गर्न नेपाली खेलाडीमा जोश, जाँगर तथा उत्साह कायम रहनेमा आशावादी हुन सकिन्छ । जसरी काठमाडाैँको विजयले नेपाली क्रिकेट टिमको वाहवाही भएको छ । प्रधानमन्त्रीलगायत उच्च पदस्थबाट समेत बधाई प्राप्त भएको छ । यो सिलसिलाका निरन्तरता निम्ति खेलाडीको थप मेहनत तथा परिश्रममा जोड दिइरहनु पर्छ । भावी दिनमा समेत नेपालको सफलता कायम रहोस् । नेपाली क्रिकेट टिमले सधँै नै सबै नेपालीबाट यसरी नै बधाई तथा शुभेच्छा पाउन सफल भई रहोस्, यही शुभकामना ।