सिराज खान
नेपालगञ्ज, फागुन १० गते । बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सफल नभएपछि १३ औं पटक सो अभियान सञ्चालन गरिन लागेकाे स्वास्थ्य कार्यालयले जनाएको छ ।
बिहीबारदेखि जिल्लाका सबै पालिकामा एकै पटक शुरु गरिने सो अभियान अन्तर्गत यसपटक ६ लाख १६ हजार ६९५ जनालाई औषधि खुवाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनीता पौडेलले बताउनुभयो ।
उहाँले १२ पटकसम्म अभियान सञ्चालन गर्दा पनि धेरैले औषधि सेवन नगर्दा अभियान सफल हुन नसकेको बताउनुभयो
त्यसका लागि औषधीको सेवन कम भएका क्षेत्रका धार्मिक गुरु, स्थानीय जनप्रतिनिधि र अन्य स्थानीय अगुवाको विशेष सहयोग लिइएको उहाँले बताउनुभयो ।
स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा एक लाख ७० हजार ५९८ जना, कोहलपुर नगरपालिकामा एक लाख दुई हजार ९०४ जना, खजुरा गाउँपालिकामा ६५ हजार ३०७ जनालाई औषधि खुवाउने लक्ष्य छ ।
त्यसैगरी जानकी गाउँपालिकामा ४७ हजार ७३३, डुडुवा गाउँपालिकामा ४४ हजार १४४, नरैनापुर गाउँपालिकामा ४४ हजार ८०७, बैजनाथ गाउँपालिकामा ७१ हजार ८६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार ३४१ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने याेजना छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा हालसम्म ५० प्रतिशतले मात्रै औषधि खाएको हुँदा यसपटक नेपालगञ्जलाई विशेष रुपमा ध्यान दिइएको छ ।