• १३ साउन २०८१, आइतबार

लोसपाले कांग्रेससँग राख्यो राष्ट्रपतिमा अध्यक्ष ठाकुरको प्रस्ताव

blog

राष्ट्रपतिमा अध्यक्ष ठाकुरको प्रस्ताव राखेकाे बताउनुहुँदै नेता भण्डारी ।

काठमाडौं, फागुन १० गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राष्ट्रपतिमा पार्टी अध्यक्ष महन्थ ठाकुरको प्रस्ताव नेपाली कांग्रेससँग राखेको छ । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा लोसपाका नेताहरूले सो प्रस्ताव राखेका हुन् । 

छलफलमा सहभागी लोसपा नेता शरद सिंह भण्डारीले राष्ट्रपति पदका लागि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सँग अध्यक्ष ठाकुरको नाम प्रस्ताव गरिएको बताउनुभयो । 

कांग्रेससँग भएको छलफलबारे जानकारी दिनुहुँदै नेता सिंहले भन्नुभयो, “ठ्याक्कै उहाँले के भन्नुभयो भने महन्थ ठाकुर असाध्यै उपयुक्त पात्र हो । तर, हामी पार्टीभित्र छलफल गरिसकेका छैनौँ, पार्टीभित्र पनि छलफल गर्छौँ । अर्को कुरा, गठबन्धनको हिसाबले पनि अहिलेको परिस्थितिमा नेपाली कांग्रेसले आधिकारिक हिसाबमा उम्मेदवार फलानो उठाउने भन्ने कुरा भएको छैन । त्यसो हुनाले, अहिलेको परिस्थितिमा नयाँ प्रस्ताव आएको छ । यो प्रस्तावकको नाममा सहमतिको परिस्थिति बन्यो भने उहाँ पनि उपयुक्त पात्र हुनुहुन्छ भनेर उहाँहरूले भन्नुभएको छ ।”

उहाँले छलफल भर्खरै सुरु भएकाले सहमति हुने सम्भावना देखेको बताउनुहुँदै भन्नुभयो,  “प्रधानमन्त्रीजीले मुलुकको परिस्थितिलाई विचार गरेर आर्थिक, राजनीतिक क्राइसिस छ, यो सबैको आधारमा राष्ट्रपति सहमतिको आधारमा हुनुपर्छ भनेर बारम्बार बोल्दै हुनुहुन्छ”, यसका लागि कमसेकम शालीन, भद्र, सबैले विश्वास गरेको व्यक्तित्व पनि हुनुपर्ने आधारमा अध्यक्ष ठाकुरको नाम अघि सारिएको उहाँले भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, “त्यो चर्चाका आधारमा पार्टी अध्यक्ष सहमतिको उपयुक्त पात्र महन्थ ठाकुर हुन सक्नुहुन्छ भन्ने ठहर गरेर नै हिजो प्रधानमन्त्रीजीलाई भेट्यौँ, आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र हिजो नै बालकोटमा ओलीजीलाई पनि भेट्यौँ ।”

यस विषयमा लोसपाले राष्ट्रिय सहमति हुनुपर्ने भन्ने आधारमा संसद्का अन्य दलहरूसँग पनि छलफल गर्ने जनाएको छ ।