• १३ असोज २०८१, आइतबार

बाल मन्दिरको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

blog

प्रतिनिधि सभा बैठक । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठले ‘नेपाल बाल मन्दिरसम्बन्धि उच्चस्तरीय जाँचबुझ आयोग’को प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्नु भएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद सुमनाले बाल मन्दिरको मात्रै २८ रोपनी जग्गा त्यहाँका पदाधिकारीले आफूखुसी भोगचलन गर्न प्रतिष्ठित व्यक्ति र घरानालाई दिएकोलगायतका विषयमा छानबिन गर्न गठित सो आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले बाल मन्दिरलाई कब्जामा लिएर त्यसको चल/अचल सम्पत्ति दुरुपयोग गर्ने त्यहाँका पदाधिकारीलाई कानुनी कारबाही गर्न सो जाँचबुझ आयोगले सुझाव दिएको आफूले जानकारी पाएको उल्लेख गर्नुहुँदै सो प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्न ढिलाइ गर्न नहुने जानकारी दिनुभयो । सांसद श्रेष्ठले अनाथ बालबालिकाका लागि भनेर दिइएको सम्पत्तिसमेत अतिक्रमण गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘२०१८ सालमा निजी सम्पत्तिलाई अतिक्रमण गरेर अनाथ बालबालिकाका लागि हेरचार गर्ने भनेर नेपाल बाल संगठनलाई जिम्मा दिइयो । तर, अहिले बाल मन्दिरको एकल स्वामित्व रहेको २८ रोपनी जग्गा र नेपाल ललितकलाको संयुक्त स्वामित्वमा रहेको २९ रोपनी जग्गा करिव ५७ रोपनी जग्गा कसले भोगचलन गरिरहेको छ ? कसको हितका लागि प्रयोग भइरहेको छ ? अनाथ बालबालिका अहिले तपाईं गएर हेर्नु हुन्छ भने भर्खर जन्मेका बच्चाहरुलाई दूधसमेत छैन ।’’

सांसद श्रेष्ठले नेपाल ललितकला प्रतिष्ठानको २९ रोपनी जग्गा समेत दुरुपयोग गर्ने काम भइरहेको भन्दै त्यसमाथि निगरानी राख्न पनि सरकारलाई सचेत गराउनुभयो ।