• १० मंसिर २०८१, सोमबार

चोरी आरोपमा बाबु छोरा पक्राउ

तीस लाख रुपियाँ राखेको दराज मर्मतमा दिएपछि...

blog

प्रतिकात्मक तस्बिर

नारद कोहार

तौलिहवा, फागुन ९ गते। एक स्टिल फर्निचर मर्मत केन्द्रका मालिक र उहाँका छोरा चोरी आरोपमा पक्राउ परेका छन्।  कपिलवस्तु नगरपालिका १ का फलफूलका थोक व्यापारी सनी उल्लाह कुजाडाले आफ्नो बिग्रेको दराज मर्मत गर्न फागुन १ गते श्रीमती रेशमा कुजडामार्फत सो मर्मत केन्द्रमा दराज दिनुभएको थियो । 

केही दिन अघि फलफूल व्यापारी कुजडाले आफ्नी श्रीमती रेशमालाई ३० लाख रुपियाँ नगद राख्न दिनुभएको थियो । रेशमाले सो रकम त्यही दराजको लकरमा राख्नुभएको थियो ।फलफूल व्यापारीको घरमा विवाह परेकोले सबै जना त्यसैमा व्यस्त थिए। दराजको लरमाथि समेत साढे चार लाख रकम राखिएको थियो। जुन रकम रेशमाले निकालेर घरमै राख्नुभएको थियो । रेशमाले सो दराज मर्मत गर्न फर्निचर मर्मत केन्द्रमा पठाउनुभयो। तर लकरमा रहेको ३० लाख रुपैयाँ भने निकाल्न बिर्सिनुभयो।

फागुन ४ गते फलफूल व्यापारी सनी उल्लाहले सो पैसा श्रीमतीसँग माग्दा सबै पैसा मर्मत गर्न पठाएको दराजमै रहेको बताउनुभयो। त्यसको केही बेरमै व्यापारी सनी र उहाँका भाइसहित मर्मत केन्द्रमा पुगेर पैसा दिन आग्रह गर्नुभयो। तर फर्निचर मर्मत व्यापारी एस मोहम्मद् फकिरले आफूलाई त्यस बारे केही जानकारी नभएको बताउनुभयो। 

फलफूल व्यापारीले तत्कालै तौलिहवा वडा प्रहरी कार्यालयमा मौखिक उजुरी दिए। उजुरी लगत्तै फर्निचर मर्मत केन्द्रका मालिक एस माहोम्मदको घरमा खानतलासी गर्दा २४ लाख ७७ हजार नगद फेला परेको प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो। फर्निचर मर्मत व्यापारीले केही पैसा खर्च भएको प्रहरी समक्ष बयान दिएका छन्। एस मोहम्मद र निजको छोरा वर्ष २१ को इसराज फकिरलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो। दुवैमाथि चोरीको मुद्दा लगाइएको उहाँले बताउनुभयो।

फलफूल व्यापारी र फर्निचर मर्मत केन्द्रका मालिकबीच आपसी मित्रता रहेको थियो। मर्मत केन्द्रमा काम गर्ने मिस्त्रीले सो दराज मर्मत गर्दा लकरमा रकम देखेपछि आफ्नो बुवालाई फोन गरेर के गर्ने भनी सोधेका थिए। उहाँका बुवाले सो रकम बारे फर्निचर मर्मतका मालिकलाई जानकारी दिन भनेका थिए। त्यसपछि सो रकम फर्निचर मर्मत केन्द्रका मालिकले घरमा लुकाएका थिए। मिस्त्रीलाई एक हप्ताको छुट्टीसमेत दिएका थिए।