बनेपा समाचारदाता
बनेपा, फागुन ९ गते । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले प्रदेशका लोपोन्मुख, अति सीमान्तकृत र आश्रित नागरिकको स्वास्थ्य बीमा प्रदेश सरकारले गर्ने बताउनुभएको छ ।
मन्त्री श्रेष्ठले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट प्रादेशिक अस्पतालमा ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ को शुभारम्भ गर्नुहुँदै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
उहाँले आर्थिक अभावका कारण कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले प्रदेश सरकारले यस्तो व्यवस्था गरेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “संविधानले व्यवस्था गरेअनुसार कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनेर राउटे, चेपाङलगायत लोपोन्मुख, अति सीमान्तकृत र आश्रममा बसेका नागरिक तथा घरबारविहीन ज्येष्ठ आश्रित नागरिकको स्वास्थ्य बीमाको रकम प्रदेश सरकारले बेहोर्ने व्यवस्था गरेका हौँ ।”
उहाँले प्रदेशभित्र रहेका जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यकताको अध्ययन गरेर मात्रै स्वास्थ्य सामग्री प्रदान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा उपकरण तथा सामग्री पठाउँदा दक्ष प्राविधिकको अभावमा बिनाकाम उपकरण त्यसै थन्किने अवस्था पनि छ ।”
मन्त्री श्रेष्ठले प्रदेशको स्वास्थ्य नीति यसै आर्थिक वर्षभित्र बनाउन लागिएको र त्यसका लागि प्रदेश स्वास्थ्य सचिवको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो ।
उहाँले अस्पतालका काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको बोली र व्यवहारबाट बिरामीको करिब २० प्रतिशत रोग निको हुने चर्चा गर्दै अस्पतालमा आउने बिरामीलाई चिकित्सक र स्वास्थ्यकर्मीले विनम्र व्यवहार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत अस्पतालले एउटा बिरामीका लागि दुई हजार दुई सय रुपियाँ बराबरको उपचार गर्न सक्ने बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले अस्पतालले सञ्चालन गर्दै आएको सेवाका बारेमा जानकारी गराउनुभएको थियो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पुरुषोत्तमराज सेढाईंले भौतिक पूर्वाधार कमी भए पनि अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताउनुभयो ।