कैलाली समाचारदाता
धनगढी, फागुन ९ गते । कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको भावी कार्यदिशाबारे सुदूरपश्चिमका नागरिकस्तरमा छलफल हुन थालेको छ । सरकारले झन्डै दुई साताअघि गेटामा बन्दै गरेको मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेपछि नागरिकस्तरमा छलफल हुन थालेको हो ।
पूर्वसांसद डा. दीपकप्रकाश भट्टको उपस्थितिमा सोमबार धनगढीमा भावी कार्यदिशा र हाम्रो दायित्वबारे छलफल आयोजना गरिएको छ । पूर्वसांसद डा. भट्टले विश्वविद्यालय सञ्चालन गर्न आवश्यक पर्ने ऐन बनाउन फेरि दबाब दिनुपर्ने, स्वदेश र विदेशमा चिकित्साशास्त्र पढाउने सुदूरपश्चिमेलीको खोजी गरेर यहीँ पढाउन लगाउने वातावरण बनाउनुपर्ने, शिक्षा मन्त्रालयअन्तर्गतका पुराना अस्पताल र नयाँ अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको मातहतमा ल्याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
स्थानीय लोकराज पाण्डेले सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय घोषणा गरेर महŒवपूर्ण काम गरे पनि चाँडै कार्यदिशासहित घोषणा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । अधिकांश भौतिक संरचना बनिसक्दा पनि कसरी मेडिकल कलेज वा विश्वविद्यालय सञ्चालन गर्ने भन्नेबारेमा रहेको अन्योल हटाउन उहाँले माग गर्नुभयो ।
सो विश्वविद्यालयको फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थलगत अध्ययन गर्नुभएको थियो । स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रतिनिधि सभाबाट आवश्यक ऐन बनाउन पनि बाँकी छ । प्रधानमन्त्रीले पटक–पटकका छलफलमा ती काम द्रुत गतिमा हुने आश्वासन दिँदै आउनुभएको छ । विश्वविद्यालयका संरचना निर्माणका लागि पाँच अर्ब ४१ करोड रुपियाँ खर्च भइसेकेको गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताउनुभयो ।
अझै साढे दुई अर्ब रुपियाँजति संरचना निर्माणमा खर्च हुने अनुमान छ । सुदूरपश्चिमबाहेकका प्रदेशमा मेडिकल कलेज सञ्चालनमा छन् तर सुदूरपश्चिममा एउटै पनि मेडिकल कलेज नहुँदा यहाँका नागरिक राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने वातावरण बनाउन सङ्घर्षरत छन् ।