• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिममा मध्यावधि हुँदैन: मुख्यमन्त्री शाह

blog

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह पत्रकार सम्मेलनमा । साथमा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिला तथा योजना मन्त्री नरेशकुमार शाही । तस्बिर: प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, फागुन ८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पूर्ण बहुमत कसैको नभए पनि प्रदेश सरकार पाँच वर्ष टिक्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउनुभएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले मध्यावधि हुँदैन अफवाह मात्रै हो, हामी विश्वासको मत चाँडै लिन्छौ, सबै पक्षको मत पाउने गरेर छलफल, संवाद भइरहेको छ ।

उहाँले भन्नुभयो,सङ्घ सरकारमा कुन गठबन्धन बन्छ वा टुट्छ त्यससँग सरोकार नराखेर सुदूरपश्चिममा पाँच वर्ष सरकार टिकाउने गरेर छलफल गरिरहेका छौ ।अहिले फेरि चुनाव ९मध्यावधि० मा जाँदा जनताले लखेट्छन्, कुनै पनि दल र प्रदेश सभा सदस्यले मध्यावधि चाहेका छैनन् उहाँले भन्नुभयो, त्यसैले सरकार टिक्नैपर्छ ।

फरक प्रसङ्गमा उहाँले हामीसँग जोस, जाँगर युवा मन्त्रीसहितको टिम छ, समय ठुलो कुरा होइन जिम्मेवारी ठुलो कुरा हो, त्यसैले जति दिन सरकारमा बसे पनि इमानदारीताका साथ काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले सञ्चारकर्मीसँग सरकारलाई सुझाव दिन पनि आग्रह गर्नुभएको थियो ।

मुख्यमन्त्री शाह नेपाली काँग्रेस ठूलो दल भएकोले मुख्यमन्त्री नियुक्त हुनुभएको हो । उहाँले विश्वासको मत पाउन ५३ सदस्यीय प्रदेश सभा सदस्यमध्ये २७ जनाको विश्वास बटुल्नुपर्नेछ ।

अहिले उहाँसँग नेपाली काँग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्रका एक जनाको समर्थन छ । यसअघि नेकपा (एमाले)का संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नेतृत्वको सरकार आफ्नै गठबन्धनको दल नागरिक उन्मुक्ति पार्टीको मत नपाउँदा ३० दिनमै ढलेको थियो । उन्मुक्तिले रावललाई मुख्यमन्त्रीमा दाबी गर्दा समर्थन दिए पनि पछि प्रदेश सभामा विश्वासको मत दिएको थिएन ।

प्रदेश सभामा एमाले, नेकपा (माओवादी केन्द्र) का १०-१०, उन्मुक्तिका सात र राप्रपाका एक प्रदेश सभा सदस्य छन् ।