• ११ मंसिर २०८१, मङ्गलबार
blog

नेपाल समाचार समिति युगमा वि.सं. २०१६ मा प्रवेश गरेको हो । त्यसअघि नेपालमा पत्रपत्रिका र रेडियो सञ्चालनमा थिए । रेडियो नेपाल वि.सं. २००७ देखि नै नेपालीको सेवामा हाजिर थियो भने गोरखापत्र दैनिकले आधा शताब्दीभन्दा लामो समयदेखि सूचना सेवा दिइरहेको थियो ।

नेपालमा सबभन्दा पहिले गोपालदास श्रेष्ठ, गोविन्द वियोगी, मदन शर्मा, इन्द्रकान्त मिश्र, उमाकान्त दास, गणेश मानन्धर, रामसिंह राजपूत आदिको प्रयासले २०१६ पुस १ गते ‘नेपाल संवाद समिति’ खडा भयो । यस संवाद समितिले नेपाली पत्रपत्रिकालाई मासिक ५० रुपियाँ तथा विदेशी पत्रपत्रिकाका निम्ति वार्षिक भारु १०० मा समाचार दिने गरेको थियो । त्यसपछि पशुपति पाण्डे, मणिन्द्रराज श्रेष्ठ, शङ्करनाथ शर्मा आदिद्वारा २०१७ वैशाख ३० गते सगरमाथा संवाद समिति नामक एउटा अर्को संवाद समिति खोलियो । स्वदेशी पत्रपत्रिकाका निम्ति नेपाल संवाद समितिले भन्दा मासिक १० रुपियाँ कम तथा अरूलाई त्यही भाउ राखी यसको समाचार सेवा वितरित गरियो । दुवै संवाद समितिद्वारा आफ्नो उद्घोषित नीतिमा ‘निष्पक्षतापूर्वक समाचार सङ्कलन एवं वितरण’ भन्ने कुरो उल्लेख गरिएको थियो । श्री ५ को सरकारले दुवैलाई मासिक ३०० रुपियाँका दरले आर्थिक सहयोग दिएको थियो, नेपाल संवाद समितिको सुरुवातबारे आफ्नो पुस्तक पत्रकारितामा रामराज पौड्यालले उल्लेख गर्नुभएको छ । 

“विशेषतः त्यतिखेर नेपालका पत्रिकामा दुई स्पष्ट धार देखिएको थियो । कोही भारतीय पक्षधर थिए भने कोही भारतका विरोधी थिए । एउटा यो पनि कारण थियो दुईवटा समाचार समिति जन्माउनुमा । यो राजनीतिक संवेदनशीलताभित्र पर्छ । सगरमाथा संवाद समितिले जन्म लिनुमा यो पनि एउटा कारण थियो । पत्रिका समाचार समितिका ग्राहक हुने र यसरी दुई भागमा बाँडिएपछि हामीले पनि अर्को पहल थालेका हौँ । म, पशुपतिदेव र शङ्करनाथजी भएर सगरमाथा संवाद समितिको गठन गर्यौँ । म त्यतिबेला (वि.सं. २०१६ मा) अङ्ग्रेजी भाषाको मदरल्यान्ड पत्रिका चलाउँथेँ । पछि सो संवाद समिति पनि त्यति राम्रोसँग चल्न सकेन । हुन त अघिल्लो संवाद समिति पनि त्यति चलेको थिएन किनभने प्रमुख समस्या आर्थिककै थियो । त्यतिबेलाको सरकारले पत्रिका र संवाद समितिलाई आर्थिक सहयोगस्वरूप पैसा दिने गर्दथ्यो तर पनि नियमित थिएन,” वि.सं. २०१७ वैशाख ३० गते स्थापित नेपालको दोस्रो समाचार समिति सगरमाथा संवाद समितिका संस्थापक मणिन्द्रराज श्रेष्ठले राससद्वारा प्रकाशित राससको इतिहास पुस्तकमा भन्नुभएको छ ।   

नेपाल समाचार समिति युगमा वि.सं. २०१६ मा प्रवेश गरेको हो । त्यसअघि नेपालमा पत्रपत्रिका र रेडियो सञ्चालनमा थिए । रेडियो नेपाल वि.सं. २००७ देखि नै नेपालीको सेवामा हाजिर थियो भने गोरखापत्र दैनिकले आधा शताब्दीभन्दा लामो समयदेखि सूचना सेवा दिइरहेको थियो । प्रविधिको विकास र बिजुलीको अभावका कारण त्यस समय टेलिभिजन स्थापना हुन सक्ने अवस्था भने नेपालमा थिएन । त्यसैले मुलुकमा समाचार समितिको स्थापना हुनु पनि पत्रकारिता क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि नै थियो । नेपालका दुई संवाद समितिको स्थापनाका विषयमा उहाँहरूका यी तथ्य ऐतिहासिक र महत्वका छन् ।    

राससको पृष्ठभूमि  

“वि.सं. २०१७ फागुन ६ गतेसम्म यी संवाद समितिहरूको सेवा नेपालका अखबारले पाए । त्यसपछि विश्वबन्धु थापाबाट उद्घाटन गरिएर रामराज पौड्यालको अध्यक्षतामा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा संवाद समितिका मणिन्द्रराज श्रेष्ठसहित तीन जनाको एउटा अस्थायी समिति (एड हक कमिटी)अन्तर्गत राष्ट्रिय संवाद समितिले काठमाडौँमा २०१८ फागुन ७ गतेदेखि संवाद सङ्कलन एवं वितरणको काम प्रारम्भ गर्यो । यसमा गैरसरकारी सदस्यको बहुमत थियो” रामराज पौड्यालले आफ्नो पुस्तकमा लेख्नुभएको छ ।    

नेपालमा त्यस समय सञ्चालनमा रहेका दुई समाचार समिति नेपाल संवाद समिति र सगरमाथा संवाद समिति किन आपसमा गाभिएर नयाँ संवाद समिति रासस बन्नुपर्यो त भन्ने विषय उहाँले खासै उल्लेख गर्नुभएको छैन । यी दुवै समाचार समितिलाई मिलाएर सरकारको मातहतमा रहने गरी वि.सं. २०१८ फागुन ७ गते रासस स्थापनाको घोषणा भएको थियो । हुन त त्यस समयमा राजनीतिक परिवर्तन भइसकेको थियो । राजा महेन्द्रले नयाँ राजनीतिक पञ्चायती व्यवस्थाको स्वघोषणा गर्नुभएको थियो । नेपालको इतिहासमा पहिलो पटक सम्पन्न भएको आमनिर्वाचनपछि बनेको पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरेर उहाँले जबरजस्ती एकदलीय पञ्चायती व्यवस्था सुरु गर्नुभएको थियो । कुनै पनि देशको राजनीतिक परिवर्तनसँगै त्यस देशको पत्रकारिताको विकासक्रम र इतिहासमा पनि फेरबदल हुन्छ नै । सायद त्यसै भएर ती दुई निजी क्षेत्रमा सञ्चालनमा रहेका समाचार समितिलाई गाभेर रासस बनाइएको हुन सक्छ । आफैँ पनि आर्थिक समस्यामा परेका ती दुई समाचार समितिका बारेमा पनि उहाँहरूको अनुभव आएको थियो । एकातर्फ यो आर्थिक समस्या र अर्कातर्फ अब देशका मिडियाले पञ्चायती व्यवस्था र यस व्यवस्थाका कामको आलोचना पनि गर्न नपाइने व्यवस्था आएकाले स्वतन्त्र प्रेसको अभ्यास गर्न नपाउने अवस्था देखिएको थियो । खासमा यिनै परिस्थितिको गर्भबाट समाचार समितिको जन्मको भ्रूण उत्पत्ति भएको अनुमान गरिएको छ ।  

रासस कसरी जन्मियो भन्ने विषयमा यसका संस्थापकमध्येका एक मणिन्द्रराज श्रेष्ठले भन्नुभएको छ, “यी दुवै संवाद समिति विघटन गरी वि.सं. २०१८ मा राष्ट्रिय संवाद समिति, रासस स्थापना गरिएको थियो । देशमा पञ्चायती व्यवस्था आइसकेको थियो । अघिको जस्तो प्रेस स्वतन्त्रताको अवस्था पनि थिएन । हामीले कुरा झिकेपछि राजालाई पनि झन् सजिलो भएको महसुस हामीलाई भयो । यसरी राससको स्थापना भयो । म र गोविन्द वियोगीजी दुई संवाद समितिबाट र रामराज पौड्याल सरकारका तर्फबाट नियुक्त भयौँ । वि.सं. २०१८ फागुन ७ गतेदेखि राससले सेवा प्रारम्भ गर्यो । यो एक मात्र र आधिकारिक संवाद समिति भयो सरकारी मातहतमा सञ्चालन हुने । अब यसका लागि कर्मचारी र बजेटको व्यवस्था पनि सरकारले नै गर्न थाल्यो । यसले नै संसद् (राष्ट्रिय पञ्चायत)को रिपोर्टिङ पनि गर्ने र सरकारी समाचारहरू एकद्वार प्रणालीबाट सम्प्रेषण हुने व्यवस्था भयो ।” 

यसै विषयको एक अन्तर्वार्तामा नेपालको पहिलो संवाद समिति, नेपाल संवाद समितिका संस्थापक गोविन्द वियोगीले भन्नुभएको थियो, “रासस स्थापनाको प्रस्ताव राजा महेन्द्रले नै राखेका हुन् । नेपालमा पहिलो संवाद समितिका रूपमा मलगायत केही साथीले पहल गरी नेपाल संवाद समितिको स्थापना गर्यौँ । यो समाचार समिति स्वतन्त्र रूपमा नै सञ्चालन भएको थियो । हाम्रो प्रमुख उद्देश्य देशका पत्रपत्रिकालाई समाचार उपलब्ध गराउनु नै थियो । देशमा वि.सं. २००७ मा प्रजातन्त्र स्थापना भएपछि निजी क्षेत्रमा पत्रपत्रिका प्रकाशनको काम रफ्तारमा जारी थियो । पत्रिकाको सहयोगीका रूपमा संवाद समितिको स्थापना हामीले गरेका हौँ । हामी नागरिक स्वतन्त्रताको अभियानमा थियौँ । नेपालमा सरकारी मातहतमा गोरखापत्र र रेडियो नेपाल सञ्चालित थिए । पञ्चायती व्यवस्थाको घोषणापछि सरकारले आफ्नो मातहतमा समाचार समिति पनि होस् भन्ने चाहेको हामीले महसुस गरेकै थियौँ । सरकारलाई आफ्नो विरुद्धका सूचना रोक्ने तथा सरकारी मिडियाबाट एकीकृत रूपमा सूचना सम्प्रेषण गर्ने चाह थियो । यसै पृष्ठभूमिबाट राससको जन्म भएको थियो ।” 

उहाँको यो कुरालाई तत्कालीन पञ्चायत तथा निर्देशन मन्त्री विश्वबन्धु थापाले पनि पुष्टि गर्नुभएको छ । राससको स्थापनाका विषयमा राससलाई दिनुभएको एक अन्तर्वार्तामा उहाँ भन्नुहुन्छ, “राष्ट्रिय संवाद समिति स्थापनाको पहल मैले नै गरेको थिएँ । सरकारी तथा निजी क्षेत्रसमेतका सूचना एकीकृत रूपबाट प्रवाह हुन् भन्ने नै संवाद समिति स्थापनाको उद्देश्य हो । २०१६-१७ सालतिरका दुईवटा समाचार समितिको सञ्चालन पनि त्यति प्रभावकारी हुन नसकेको अवस्था विद्यमान थियो । रेडियो नेपाल र गोरखापत्र सरकारी सञ्चारमाध्यमका रूपमा चलिरहेका र समाचार समितिलाई पनि सरकारी छाताभित्र ल्याई एकद्वार प्रणालीबाट सूचना प्रवाह गराउने अभ्यास सरकारले थालेको हो । सञ्चारसम्बन्धी मन्त्रीका हैसियतले मैले ती दुई संवाद समितिका सञ्चालक र राजा महेन्द्रका बीचमा संवादको भूमिका खेलेको हो । राजा महेन्द्र सरकारी तवरमा संवाद समिति सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने चाहमा हुनुहुन्थ्यो र मेरो सोच पनि त्यही थियो ।”

उहाँको यस भनाइबाट पनि राजा महेन्द्र नै देशमा समाचार समिति स्थापना गर्ने र त्यसैमार्फत सूचना एकीकृत गरी सम्प्रेषण गर्ने योजनामा रहेको राम्रैसँग खुल्छ । त्यस अन्तर्वार्तामा उहाँले भन्नुभएको छ, “यसै क्रममा नेपाल संवाद समितिका गोविन्द वियोगीसँग यी दुवै समाचार समितिलाई मिलाएर एउटै समिति बनाई सरकारको पनि सहभागिता गराए कसो होला भन्ने प्रस्ताव मैले नै गरेँ । त्यस्तै सगरमाथा संवाद समितिका मणिन्द्रजीलाई पनि यही सोधेँ । उहाँहरू सकारात्मक नै पाएँ । ‘डेमोक्र्याट’हरू सुरुमै सहमत भए पनि वियोगीमा भने कम्युनिस्टको समाचार नआउने हो कि भन्ने डर देखिन्थ्यो । यो बुझेपछि मैले उहाँलाई बोर्डमा तपाईं नै बस्नोस् न भनी प्रस्ताव गरेँ । यसरी सजिलैसँग कुरा मिल्यो । आर्थिक रूपले गाह्रो परिरहेको अवस्थामा उहाँहरू सहमत भएपछि हामीले दरबारमा राजा महेन्द्रसँगै बसेर दुवैलाई मिलाई सरकारी मातहतको संवाद समिति स्थापना गर्नेमा सहमत भयौँ । यसरी राष्ट्रिय संवाद समितिको स्थापना भयो र यसको उद्घाटन गर्ने सौभाग्य पनि मैले नै पाएँ ।”  

समाचार समितिको आवश्यकता 

प्रेस कमिसन रिपोर्ट–२०१५ मा देशमा समाचार समितिको आवश्यकताका बारेमा यस्तो लेखिएको छ, “नेपालमा प्रजातन्त्र आएको आठ वर्ष भइसक्यो तर प्रजातन्त्रको विकासमा साथ दिने एक महŒवपूर्ण अङ्ग पत्रकारिताको जग मजबुत पार्न कुनै ठोस कारबाही भएको छैन । आठ वर्षअगाडिको दाँजोमा हाल पत्रकारिताको चहलपहल निकै बढेको छ तर त्यो चहलपहलको निश्चित आधार छैन, कुनै भरोसा छैन । पत्रकारिताको महŒव बुझ्न सक्ने त्यसको आधारभूत कुरा देशव्यापी खबर सङ्कलन गर्ने संस्थाको आवश्यकता पनि महसुस गरेका छन् । अहिलेसम्म त्यस्तो कुनै संस्था अथवा एजेन्सी नभएकाले देशको कुनाकाप्चाका खबरसमेत जनसमक्ष आउन सकेका छैनन् । आधुनिक युगमा पृथ्वी एकापट्टिको मानिसले अर्कोपट्टिको खबर केही क्षणमै सुन्न र पढ्न पाउँछन् । हामी आफ्नै देशको १० कोष परको खबर एक हप्तामा मुस्किलले सुन्न पाउँछौँ । समाचार खोज्न सम्पादक आफैँ दगुर्नुपर्छ, एक दिन चक्कर मार्न नसके समाचारपत्र निकाल्न मुस्किल पर्छ । समाचार आउने निश्चित सुव्यवस्थित कुनै स्रोत छैन । कुनै पनि पत्रले जुन स्थानबाट पत्र प्रकाशित हुन्छ त्यस स्थानको मात्र खबर छाप्न असमर्थ होलान् । यस्तोमा संवाद समितिको खाँचो हुन आउँछ ।”

प्रेस कमिसन रिपोर्टको यसै सुझावका आधारमा वि.सं. २०१६ पुस १ मा नेपालको पहिलो समाचार समिति नेपाल संवाद समिति (नेसस) र त्यसको पाँच महिनापछि २०१७ वैशाख ३० गते सगरमाथा संवाद समिति (ससस) स्थापना भयो । यिनै दुई समाचार समिति मिलाएर पछि रासस बनाइएको हो । 

त्यही राससले देशमा निरन्तर समाचार सेवा प्रदान गरिरहेको छ र यही फागुन ७ गते राससले आफ्नो स्थापनाको ६२औँ वार्षिकोत्सव मनाउँदै छ । यससँग अहिले स्वदेशी तथा विदेशी समाचार, स्वदेशी तथा विदेशी तस्बिर, अडियो भिडियोलगायतका सेवा छन् । आधुनिक प्रविधि र सूचनाको युगलाई त्यसैको गतिमा पछ्याउन नसकिरहेको भए पनि यतिखेर राससले देशका अनलाइनसहित सबै विधाका सञ्चारमाध्यमलाई आफ्नो सेवा प्रदान गरिरहेको छ । अहिले कतैकतै यतिका धेरै मिडिया भएपछि अब किन रासस चाहियो भन्ने प्रश्न पनि सुन्ने गरिन्छ । जति धेरै मिडिया भए त्यति नै उनीहरूको सहयोगीका रूपमा राससको आवश्यकता छ भन्ने हामी राससकर्मीले मात्र महसुस गरेका छौँ । यो प्रश्न नगरी देशका सबै विधा र प्रकृतिका मिडिया जोगाई उचित संरक्षण गर्नका लागि समाचार समितिको विकल्प खोज्नेभन्दा पनि सबैको साझा सहयोगी संस्था बनाउँदा नै सबैको हित हुनेछ ।