पविता पौडेल
सैनामैना, फागुन ५ गते । रुपन्देहीको सैनामैनामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा १६ सामुदायिक र १६ निजी विद्यालयका छात्रछात्राबीच ६ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत एथलेटिक्स, भलिबल, तेक्वान्डोलगायतका खेलहरु समावेश छन् ।
वडा नम्बर ७ देउवापारस्थित सरस्वती माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको सैनामैनाका नगरप्रमुख फणिन्द्र शर्माले उद्घाटन गर्नुभएको छ ।
सो अवसरमा बोल्दै नगर प्रमुख शर्माले खेलकुदलाई प्राथमिकतामा राखेर नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा विभिन्न खेलकुद प्रतियोगिता आयोजनाका लागि तथा खेल पूर्वाधार निर्माणका लागि आवश्यक बजेट छुट्टयाएको बताउनुभयो ।
स्थानीयस्तरमा रहेका खेल प्रतिभालाई उजागर र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित रनिङ शिल्ड प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुने नगर खेलकुद विकास समितिका अध्यक्ष खिम श्रेष्ठले बताउनुभयो ।