• २० वैशाख २०८१, बिहिबार

समयमै क्यान्सर पत्ता लागे निको हुन्छ

blog

अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसकाे उपलक्ष्यमा भएकाे कार्यक्रम ।

काठमाडौं, फागुन ३ गते । नेपालमा पनि बुधबार अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। 'जीवन रक्षा तपाईँको हातमा’ नारासहित बाल्यकालमा हुने क्यान्सरविरुद्ध जनचेतना बढाउन अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाइएको हो । 

अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको उपलक्ष्यमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल रोग विभागले आयोजना गरेको कार्यक्रममा नेपालमा एक तिहाइ मात्र उपचारको दायरामा आउने गरेको बाल क्यान्सर रोग विशेषज्ञ डा. सुचरिता तुलाधरले बत्ताउनुभयो । उहाँले नेपालमा पाँच सयको हाराहारीमा क्यान्सरका नयाँ बिरामी पत्ता लाग्ने बत्ताउनुभयो।

त्यसैगरी, तिलगंगा आँखा प्रतिष्ठानको अन्कोलोजी विभागले आयोजना गरेको कार्यक्रममा अन्कोलोजिष्ट डा. पूर्णिमा राजकर्णिकारले क्यान्सर लागेको आँखा बेलैमा पहिचान गर्न सके आँखा र आँखाको ज्योति बचाउन सकिन्छ, भन्नुभयो ।

उहाँका अनुसार विश्वमा बाल्यकालको सबैभन्दा धेरै हुने आँखाको क्यान्सर 'रेटिनोब्लास्टोमा' हो । रेटिनोब्लास्टोमा सबै बाल्यकालको क्यान्सरको ३ प्रतिशत हुने गर्छ ।

विश्वव्यापी तथ्यांकअनुसार १५ हजार २० हजार जीवित जन्ममध्ये एउटामा रेटिनोब्लास्टोमा हुन्छ । 

अस्पतालमा गरिएको सर्वेक्षणले नेपालमा हरेक वर्ष करिब ५० नयाँ रेटिनोब्लास्टोमाका बिरामी भेटिने गर्दछन् । जसमध्ये तिलगंगा आँखा प्रतिष्ठानको अन्कोलोजी विभागमा बर्सेनि ३५ देखि ४५ नयाँ बिरामी भेटिने गर्दछन् । 

नेपालमा कान्ति बाल अस्पताल, भरतपुर क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पतालमा बाल क्यान्सरको उपचार हुँदै आएको छ । 


विश्व स्वास्थ्य सङ्गठनको तथ्यांकअनुसार नेपालमा हरेक एक हजार देखि १५ सयको हारहारीमा बालबालिकाहरूलाई क्यान्सर हुने गर्छ । एक हजारदेखि १५ सयको हाराहारीमा बालबालिकालाई क्यान्सर हुने अनुमान गरिए पनि नेपालमा एक तिहाइ मात्र उपचारको दायरामा आउने बाल क्यान्सर रोग विशेषज्ञहरू बताउनुहुन्छ।  

उहाँ भन्नुहुन्छ, “जनसङ्ख्याको हिसाबले नेपालमा एक हजार देखि १५ सयको हाराहारीमा क्यान्सरका बिरामी भएको अनुमान छ । तर नेपालमा यकिन तथ्याङ्क छैन, विभिन्न अस्पतालमा हेर्ने हो भने हरेक वर्ष पाँच सयको हाराहारीमा बालबालिकामा क्यान्सर भएको पत्ता लाग्ने गर्छ । ”

धेरै अभिभावक तथा स्वास्थ्यकर्मीलाई रोगबारे चेतना नहुँदा उपचारको दायरामा नआउने डा. तुलाधरको तर्क छ । डा. तुलाधरका अनुसार नेपालमा सही समयमा पहिचान भई सही उपचार पाएमा सबै खाले क्यान्सर भएका ८०/९० प्रतिशत बालबालिकाको क्यान्सर निको हुन्छ ।

उहाँ भन्नुहुन्छ, “ नेपालमा जनचेतनाका कमिले बिरामी ढिला अस्पतालमा आउने गर्नुहुन्छ । समयमा नै पहिचान गरेर सही उपचार पाए, क्यान्सर भएका ८०/९० प्रतिशत बालबालिकाको क्यान्सर निको हुन्छ ।”

क्यान्सर लागेपछि धेरै जना अभिभावक नेपालमा उपचार हुँदैन भनेर विभिन्न ठाउँमा भौतारियर ढिला गरी अस्पतालमा पुग्ने गर्दछन् । नेपालमा नै क्यान्सर उपचार हुने भएकाले आफ्ना बालबालिकालाई क्यान्सर भएको शङ्का लागेपछि बेलैमा अस्पतालमा ल्याउन डा. तुलाधरको सुझाव छ । 

चिकित्सकका अनुसार मानव शरीरमा कोष र वंशाणु 'जीन' को असामान्य वृद्धिका कारण क्यान्सर रोग लाग्छ । शरीरमा अन्को र ट्युमर गरी दुई किसिमका जीन हुन्छन् । 

डा. तुलाधरका अनुसार ज्वरो आउने, जिउमा घाउ आउने, गिर्खा आउने, शरीरमा निलाे डाम आउने, तौल घट्दै जाने जस्ता लक्षण देखिन्छन् । बालबालिकामा सबैभन्दा बढी रक्त क्यान्सर हुने चिकित्सक बताउँछन् ।




Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।