• ११ मंसिर २०८१, मङ्गलबार

विश्वको ध्यान आयुर्वेदतर्फ जाँदैछ : राष्ट्रपति भण्डारी

blog

नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद केन्द्रीय विद्यापीठ भवनको उद्घाटन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल
तुलसीपुर, फागुन ३ गते ।
 राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना सङ्क्रमणपछि विश्वको ध्यान आयुर्वेदतर्फ गएको बताउनुभएको छ ।

नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद केन्द्रीय विद्यापीठ भवन उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले आयुर्वेद उपचार पद्धतितर्फ पछिल्लो समयमा आकर्षण बढ्दै गएकाले यसको विकास विस्तारमा ध्यान दिइने बताउनुभयो ।

राष्ट्रपति भण्डारी आयुर्वेद स्नातक उत्पादन भएका जनशक्तिले देशको स्वास्थ्य क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान रहेको जानकारी दिनुभयो ।

गणतन्त्र स्थापनापछि राष्ट्र प्रमुखबाट पहिलो संस्कृत विश्वविद्यालय पुग्नुभएका राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवन संस्कृत विश्वविद्यालयका लागि ठूलो उपलब्धि भएको बताउनुभयो ।

उहाँले विगत स्मरण गर्नुहुँदै जननेता मदन भण्डारी संस्कृतकै उत्पादन भएकाले उहाँका रचना र जीवनमा सामाजिक, प्राकृतिक विशेषता प्राप्त जीवनकालमा देखिएको बताउनुभयो ।

उहाँले प्राचीन र मध्यकालीन इतिहासका दुर्लभ ग्रन्थ संस्कृत भाषामै रहेकाले ती दुर्लभ ग्रन्थको विकास विस्तारमा लाग्नुपर्ने धारणा औँल्याउनुभयो ।

संस्कृत भाषामा हिन्दु धर्मको मात्रै नभई बौद्ध र जैन धर्मसम्बन्धी विषयवस्तु समावेश भएको बताउनुभयो । 

राष्ट्रपति भण्डारीले योग, प्रणायाम, मानसिक उपचार पद्धति आयुर्वेदमै रहेकाले व्यस्त जीवनशैलीमा यी उपचार पद्धतिको महत्त्वपूर्ण भूमिका रहने पनि बताउनुभयो ।

उहाँले नेपाली समाजमा आयुर्वेद सम्बन्धी सयौँ विज्ञ उपलब्ध रहेको र आदिवासी जनजातिमा समेत आयुर्वेद र ज्ञान सिर्जना भएकाले त्यो ज्ञान सिर्जना नयाँ पुस्ताका हस्तान्तरण गर्ने पाठ्यक्रम तयार गर्न विश्वविद्यालयलाई निर्देशन दिनुभयो ।

संस्कृत विश्वविद्यालयको चल अचल सम्पत्तिलाई सहीरुपमा व्यवस्थापन गरेर आर्थिकरुपमा समेत सम्पन्न बनाउन अघि बढ्न निर्देशन दिनुभयो ।

राष्ट्रपति भण्डारीले आयुर्वेद केन्द्रीय विद्यापीठका अध्यापनका लागि आवश्यक दरबन्दीको व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले कोरोना कालमा विश्वविद्यालयले प्रदेशलाई भवन उपलब्ध गराएर नागरिकको उपचारमा ठूलो योगदान दिएकाले धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले नेपालको अर्थतन्त्र विकासका लागि जडीबुटीको प्रवर्द्धन गर्न आयुर्वेद क्याम्पसले योगदान दिने बताउनुभयो । उहाँले नागरिकको उपचारमा आयुर्वेदको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

वि.सं. २०७४ साल विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त २४ करोड ७२ लाखको लागतमा भवन निर्माण भएको हो ।

संस्कृत विश्वविद्यालयले २०६९  सालमा आयुर्वेद अध्ययन संस्थान स्थापना गरेर आयुर्वेद स्नातक तहको कक्षा सञ्चालन गरेको थियो ।

हालसम्म करिब दुई सय जनाले आयुर्वेद स्नातक तह (विएएमएस) उत्तीर्ण गरेका छन् । ५३ कोठे भवनमा आयुर्वेद शिक्षण भइरहेको छ । 

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडाका अनुसार विश्वविद्यालयमा १७ वटा शास्त्रमा अध्ययन र अनुसन्धान गराइरहेको छ ।

कार्यक्रममा कुलसचिव माधव अधिकारीले संस्कृत विश्वविद्यालयको इतिहासका बारेमा जानकारी गराउनुभएको थियो ।