• १२ मंसिर २०८१, बुधबार

राष्ट्रको पक्षमा काम गर्न मन्त्री मोदीको निर्देशन

blog

राष्ट्रको पक्षमा काम गर्न मन्त्री मोदीको निर्देशन । तस्बिर– मन्त्रीकाे निजी सचिवालय ।

ललितपुर, फागुन ३ गते । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले आफ्नो कार्यसम्पादनको हरेक क्षण राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतलाई निर्देशन दिनुभएको छ । 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ३६ औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले कुनै पनि लोभको पछि नलागेर राष्ट्रको हितको पक्षमा काम गर्न निर्देशन दिनुभएको हो । 


“इजि मनी अर्न'को अहिले फेसन चलिरहेको छ, कसरी हुन्छ, के गरी हुन्छ छिटो पैसा कमाउने कुरा अहिले 'फेसन' बनेको छ” मन्त्री मोदीले भन्नुभयो, “तपाईँहरूले आफ्नो प्रतिष्ठालाई बचाएर राष्ट्रको पक्षमा काम गर्नुस् ।”

उहाँले भन्नुभयो, “अहिले सरुवाका लागि नेता र ठूला कर्मचारी बोकेर हिँड्नुपर्ने अवस्था छ, तपाईँहरू राज्यले खोज्ने कर्मचारी बन्नुस्, फलाना कर्मचारी मेरो मन्त्रालयमा ल्याउन पाए हुन्थ्यो भन्नेसम्मका तरिकाले काम गर्नुस् ।”

छ महिनासम्म चल्ने प्रशिक्षणमा शाखा अधिकृतमा नियुक्त भएका २३९ जना सहभागी छन् ।