• ११ मंसिर २०८१, मङ्गलबार

जनशक्ति विदेश पलायन रोक्न आवश्यक छ: स्वास्थ्यमन्त्री

blog

काठमाडौं, फागुन ३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले विदेश पलायन भइरहेका दक्ष जनशक्ति नेपालमा नै रोक्न बहस हुनुपर्ने बताउनुभएको छ । 

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को २७ औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री गिरीले यस्तो बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘हामी हाम्रा दक्ष जनशक्तिलाई श्रम बेच्ने काममा पठाइरहेका छौँ । हामीले यी विषयमा अब बहस गर्नु जरुरी छ । समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने कुराको निचोडमा पुग्नुपर्छ ।’

उहाँले गुणस्तरीय शिक्षा, जनशक्ति उत्पादनका लागि कुन–कुन निकायले के जिम्मेवारी लिनुपर्ने र त्यसमा ऐन बाधक वा साधक के छ भनी खुलस्त बहस हुनुपर्ने औँल्याउनुभयो । 

उहाँले भन्नुभयो, ‘यदि ऐन बाधक हो भने त्यसमा संशोधन आवश्यक छ भने बोल्न र बहस गर्नुपर्छ । तर म ऐन मान्दिन भन्न पाइँदैन । भएको ऐन मान्नुपर्छ । त्यसमा त्रुटि छ भने संशोधन गरेर समयानुकूल ऐनलाई संशोधन गरेर अगाडि पनि जानुपर्छ’ 

उहाँले स्वास्थ्य तथा प्राविधिक शिक्षा लिनकै लागि नेपालका सीमा क्षेत्रबाट ठूलो सङ्ख्यामा युवा भारतका विभिन्न सहरमा गइरहेको स्मरण गर्दै नेपालका लागि यो चिन्ताको विषय बनेको उहाँले जिकिर गर्नुभयो ।  

उहाँले परिषद्ले सीमित कार्यक्षेत्रमा पनि स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति निर्माण गर्ने सम्बन्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘परिषद्ले लिखित परीक्षासम्म जाने प्रक्रियालाई अगाडि बढाएको छ, यो कामले गुणस्तरीयता कायम गर्न थप सहयोग पुर्‍याउनेमा म विश्वस्त छु’ l

उहाँले आफूले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमा चम्कनलायक काम गर्न आएकाले त्यसमा स्वास्थ्य क्षेत्रको सहयोग र सहकार्यबाट त्यो सम्भव हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘नेपालको स्वास्थ्य क्षेत्रमा हामीले एउटा युगान्तकारी परिवर्तन ल्याउनुपर्छ र ल्याउनेछौँ । होइन भने आम जनतामा अहिलेको प्रणाली र व्यवस्थाप्रति ठूलो वितृष्णा आउनेवाला छ।’