• ८ वैशाख २०८१, शनिबार

प्रतिनिधि सभा बैठकको शून्य समय : गोंगबु घटनाका दोषीलाई कारबाही गर्न माग

blog

फाइल तस्बिर

काठमाडौँ, फागुन ३  गते । प्रतिनिधि सभाको आजको बैठकमा सांसदरुले यही फागुन १ गते काठमाडौँको बालाजुमा भएको चोरी र लुटपाटको घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभा बैठकको आजको शून्य समयमा बोल्दै उहाँहरूले चुस्त सुरक्षाको व्यवस्था गर्नसमेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसद सूर्य थापाले बालाजुमा भएको घटनाको यथार्थ विवरण संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले काठमाडौँको मुटुमा भएको उक्त घटनाका बारेमा सरकार मौन बस्न नमिल्ने बताउनुभयो ।

सांसद विराजभक्त श्रेष्ठले काठमाडौँको गोँगबु बसपार्कमा भएको अमानवीय लुटपाटको घटनाका दोषीलाई कडा कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन आग्रह गर्नुभयो । सांसद शिशिर खनालले मजदुर आन्दोलनको नाममा गोँगबु बसपार्कमा भएको लुटपाटमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शङ्कर भण्डारीले गत फागुन १ गते गोँगबु बासपार्कमा व्यवसायीका सामान लुटपाटमा संलग्नलाई पक्राउ गरी दोषीलाई काम कारबाही गरेर पीडितलाई क्षतिपूर्ति दिन माग गर्नुभयो । सांसद ज्ञानबहादुर शाहीले काठमाडौँको गोँगबुको घटनाका बारेमा अवगत गराउँदै तत्काल चुस्त सुरक्षाको व्यवस्था प्रत्याभूत गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ज्ञानु बस्नेत सुवेदीले किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएकोप्रति आवश्यक व्यवस्था गर्न माग गर्नुभयो । सांसद वनिताकुमारी सिंहले मधेसवासीको सुविधाका लागि निर्माण गरिएको हुलाकी राजमार्ग निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विश्वप्रकाश शर्माले दैनिक आत्महत्या गर्ने क्रम वृद्धि हुँदै गएको र मानसिक समस्या र झन्झटिलो प्रशासनिक सेवालाई नियन्त्रण गर्नुपर्ने माग गर्नुभयो । 

सांसद शक्तिबहादुर बस्नेतले संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भनिएता पनि निःशुल्क पाइने भनिएका औषधि सरकारी अस्पतालबाट नपाएको हुनाले तत्काल व्यवस्था गर्न माग गर्नुभयो । सांसद शोभा ज्ञवालीले बर्दियामा बनेको पुल केही समयमै बिग्रिएको जानकारी गराउँदै तत्काल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सरस्वती सुब्बाले काठमाडौँ सुकुम्वासीलाई हटाउनुअघि उनीहरूको आवासको हकको सुनिश्चित गर्न माग गर्नुभयो । सांसद सरिता प्रर्साईँले किसानले अतिआवश्यक पर्ने मल र बीउ समयमा नपाएको अवस्था भएको हुनाले किसानको समस्याप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सरिता भुसालले नवलपरासीका उखु किसानले लामो समयदेखि रकम भुक्तानी नभएको जानकारी गराउँदै उक्त किसानको भुक्तानी तत्काल दिन माग गर्नुभयो । सांसद शान्ति चौधरीले बर्दिया, कैलाली, कञ्चनपुरमा सोनाहा जातिलाई आदिवासी र अल्पसङ्ख्यक जातिमा सूचीकृत गर्न माग गर्नुभयो ।

सांसद सुमना श्रेष्ठले जनगणना भएको महिनौँ बितिसक्दा पनि त्यसको पूर्ण प्रतिवेदन सार्वजनिक नभएको हुँदा सरकारी नीति निर्माणमा कठिनाइ भएको भन्दै तत्काल सार्वजनिक गर्न माग गर्नुभयो ।  

सांसद सुरेन्द्रराज आचार्यले कपिलवस्तुमा छाडा गाईगोरुका कारण कृषक मारका परेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । सांसद सोविता गौतमले सुलभ कर्जा नपाउँदा धेरै मानिसले समस्या परेको हुनाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद हितराज पाण्डेले शान्तिप्रक्रियाका बाँकी रहेका काम अविलम्ब सम्पन्न गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद हेमराज राईले जनताले समृद्धिका मताधिकारअनुसार काम गर्न आग्रह गर्नुभयो ।  

यसैगरी सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको बराह मन्दिरमा नदी कटानले सङ्कटग्रस्त हुँदै गएको जनाउँदै यसको संरक्षणको माग गर्नुभयो । सांसद सन्तोष चालिसेले शिवपुरी आरक्ष क्षेत्रमा रहेको चेकपोष्टका कारण स्थानीयले गाउँबस्ती जान पनि शुल्क तिर्नुपर्ने अवस्था रहेको जनाउँदै ‘चेकपोष्ट’ तत्काल हटाउन माग गर्नुभयो ।