• ६ जेठ २०८१, आइतबार

अचार बनाउने तालिम सुरु

blog

दरबाङ समाचारदाता 

म्याग्दी (दरबाङ), फागुन ३ गते । म्याग्दी सदरमुकाम बेनीमा अचार बनाउने तालिम सुरु भएको छ । महिला उद्यम विकास समिति म्याग्दी र म्याग्दी उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सोमबारदेखि महिलालाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । आगामी पाँच दिनसम्म सञ्चालन हुने तालिममा ८५ जना महिलाको सहभागिता रहेको छ ।

सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले महिलालाई सक्षम बनाउने उद्देश्यसहित यस्तो तालिम सुरु गरिएको जानकारी दिनुभयो । तालिम सम्पन्न भएपश्चात् व्यावसायिक रूपमा अचार उत्पादन गरी म्याग्दीका होटल तथा रेस्टुरेन्टमा बिक्री गरिने बताउनुभयो । 

सङ्घका निवर्तमान अध्यक्ष एवं बेनी नगरपालिका–८, बेनीका वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले महिलाको पेसा र व्यवसायलाई टिकाउन र उत्पादनको लेबलिङ तथा प्याकेजिङका लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

अचार बनाउने तालिमका प्रशिक्षक एवं धनु अचार उद्योग तनहुँका सञ्चालक धनमाया रानाले गाउँमा पाइने अर्गानिक उत्पादनको प्रयोगमा अचार बनाउन सकिने बताउनुभयो । महिला उद्यम विकास समितिका सभापति लक्ष्मी भण्डारी कार्कीले स्थानीयस्तरमा उपलब्ध कच्चापदार्थको प्रयोग गरेर अचार बनाउन सकिने बताउँदै महिला दिदीबहिनीलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।