तनहुँ समाचारदाता
तनहुँ, फागुन ३ गते । तनहुँ हाइड्रोपावर लिमिटेडले विद्युत् आपूर्ति नियमित गर्न बन्दीपुर गाउँपालिका–६, सराङघाटमा ३३/११ केभीको सबस्टेसन निर्माण गरेको छ ।
तनहुँमा निर्माण भइरहेको १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सो सबस्टेसन निर्माण पूरा गरिएको कम्पनीले जनाएको छ ।
आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको आयोजनाका वरिष्ठ सहायक उद्धव पौडेलले जानकारी दिनुभयो ।
यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्किचोक सबस्टेसनदेखि बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ‘ट्यापिङ’ गरिएको पौडेलले जानकारी दिनुभयो । प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पु-याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ । यसमध्ये एक हजार १३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’मार्फत निर्माण गरिएको प्रसारण लाइन शुक्रबार र सबस्टेसन सोमबार चार्ज गरिएको छ ।
आयोजनाअन्तर्गतकै तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन र ३३/११ केभीको घिरिङ सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छन् ।
सराङघाट सबस्टेसनमा छ/आठ एमभीए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीनवटा फिडर लाइन निकालिएको छ । “सबस्टेसनमार्फत तनहुँको आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकामा विद्युत् आपूर्ति हुनेछ,” पौडलले भन्नुभयो, “यसबाट त्यस क्षेत्रका उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाउनेछन् ।”
दुईवटा सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इस्ट इन्डिया उद्योग/वाइबा इन्फ्राटेक जेभीसँग २०७५ को मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । ग्रामीण विद्युतीकरणअन्तर्गतका सम्पूर्ण काम चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैङ्कको सहुलितपूर्ण ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो ।