स्याङ्जा समाचारदाता
स्याङ्जा, फागुन ३ गते । दक्षिण एसियाको पहिलो नमुना सामुदायिक होमस्टे (घरबास) सिरुबारीले रजत जयन्ती मनाउने तयारी गरेको छ । २०५४ सालमा स्थापना भएको ग्रामीण पर्यटकीय गाउँ सिरुबारी होमस्टेले फागुन ५ र ६ गते रजत वर्ष मनाउने तयारी गरेको सिरुबारी पर्यटन विकास समितिका अध्यक्ष जितेन्द्र गुरुङले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, गण्डकी प्रदेश सरकारका मन्त्री तथा विशिष्ट व्यक्तिलाई सहभागी गराएर रजत वर्ष मनाउने समितिले तयारी गरेको हो ।
स्वदेशी तथा विदेशी पाहुनालाई गाउँमा भित्र्याएर गुरुङ सभ्यता तथा संस्कृति विश्वभर प्रचार र गाउँलाई आर्थिक रूपमा सम्पन्न बनाउने सोचका साथ क्याप्टेन स्वर्गीय रुद्रमान गुरुङले यो होमस्टेको स्थापना गर्नुभएको हो । २०३५ सालमा होमस्टेको अवधाारण अगाडि बढाउनुभएका गुरुङले सबै पूर्वाधार बनाएर १९ वर्षपश्चात् सार्थकता पाउनुभएको थियो । ग्रामीण पर्यटनको अवधारणामा होमस्टे सुरुवात गरिएको सिरुबारीमा पर्यटक आउन थालेपछि देशैभरका विभिन्न स्थानमा होमस्टे खुलाइएको छ ।
प्राकृतिक सुन्दरताले भरिएको सिरुबारी समुद्र सतहबाट एक हजार छ सय मिटरको उचाइमा रहेको छ भने पोखराबाट सिद्धार्थ राजमार्ग हुँदै २० किलोमिटर दक्षिण नागडाँडाबाट १५ किलोमिटर पश्चिम यात्रापश्चात् पुग्न सकिन्छ । डहरे देउराली पहाड र स्याङ्जा जिल्लाकै अग्लो थुम्रो पहाडको काखमा सिरुबारी गाउँ रहेको छ भने थुम्रोमा पर्यटक भित्र्याउनका लागि भ्युटावर पनि निर्माण गरिएको छ ।
टावरबाट अन्नपूर्ण, धौलागिरि, माछापुच्छ«ेजस्ता हिमाल र पोखरा, पाल्पाको श्रीनगर डाँडाको मनमोहक दृश्य देखिने गर्छ । प्राकृतिक मात्र होइन सांस्कृतिक सम्पदाले समेत यो गाउँ भरिपूर्ण छ । यहाँ पाहुना आउँदा, लाहुरेहरू घर बिदामा आउँदा, विवाह, व्रतबन्धमा फूलमालाले स्वागत गर्दै बाजा बजाई रमाइलो गर्ने प्रचलन रहेको छ ।
सरसफाइको उचित व्यवस्थापन रहेको सिरुबारीमा पाहुनालाई पहिले पर्यटन समिति, आमासमूह र नवयुवा क्लबका सदस्यले बाजा बजाएर फूलमाला लगाएर स्वागत गर्ने परम्परा रहेको छ ।
पाहुनालाई सिरुबारी गाउँको बारेमा जानकारी गराएर राति घाटु, सोरठी, सालैजो, झोडा, झ्याउरे, भदौरे भाका, भजन चुड्काजस्ता सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । गुचुमुच्च परेका ढुङ्गाले छाएका घर, ढुङ्गा छापेको आँगन, ढुङ्गाको पर्खालको कलात्मकताले सिरुबारी जाने हरेक पर्यटकलाई लोभ्याउने गर्छ । गाउँको मुख्य पेसा कृषि र पशुपालन भए तापनि अधिकांश युवा भारतीय र बेलायती सेना तथा वैदेशिक रोजगारका लागि खाडी तथा युरोपमा रहेका छन् । गुरुङको सोचमा आँधीखोला गाउँपालिका–१, पञ्चमूलमा ४३ घरबाट सुरु भएको होमस्टे बसाइँसराइका कारण अहिले २२ घरधुरी मात्र रहेको समितिका अध्यक्ष गुरुङले बताउनुभयो ।