काठमाडौं, फागुन २ गते। काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट यात्रुबाट बढी भाडा लिने २३ जना ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौंको रामशाहपथबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न स्थानमा अनुगमन गर्दा तोकिएको भन्दा बढी भाडा लिने २३ जना ट्याकसी चालक कारबाहीमा परेका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार राइड सेयरिङ गर्ने चार हजार एक सय ९० जना चालक प्रहरीको कारबाहीमा परेका छन्। प्रहरीका अनुसार मंसिर २७ गतेदेखि सुरु भएको अभियान अनुरुप सडकमा अनावश्यक रोकेर बस्ने राइड सेयरिङ गर्ने दुई पाङ्ग्रे सवारी साधन आजसम्म त्यतिको सङ्ख्यामा कारबाहीमा परेको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले ट्याक्सीमा यात्रा गर्दा बढी भाडा लिएमा र मिटरमा जान नमानेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गर्न अनुरोध गर्नुभएको छ।
राइड सेयरिङ गर्ने मोटरसाइकल तथा स्कुटर सडकमा अनावश्यक रोकेर राख्नाले ट्राफिक व्यवस्थापनका साथै सवारी आवागमनमा बाधा पुग्ने भएकाले राइड सेयर कारबाही अभियानलाई तीव्रता दिइएको समेत भट्टले बताउनुभयो।