• १६ चैत २०८०, शुक्रबार

आइसिसी लिग-२ : ओपनर कुशल चम्किएपछि नेपालको सुखद सुरुवात

blog

नामिबियाविरुद्ध विकेट लिएपछि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, फागुन २ गते । ओपनर ब्याट्सम्यान कुशल भुर्तेल चम्किएपछि आइसिसी एकदिवसीय विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले सुखद सुरुवात गरेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले हरायो । नामिबियाले दिएको दुई सय ८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा आठ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालले एकदिवसीय क्रिकेटमा पूरा गरेको यो सर्वाधिक ठूलो योगफल हो । 

नेपालले नामिबियालाई हराएको पनि यो पहिलो पटक हो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक एक सय १५ रन बनाउनुभयो । कुशलले एक सय १३ बलमा १० चौका र चार छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । कप्तान रोहित पौडेलले ७२, सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्लले २५ र करण केसीले २० रन बनाउनुभयो ।

बलिङमा नामिबियाका रुवेन ट्रम्पलम्यान र जान निकोलले तीत तीन विकेट लिनुभयो । टांगेनी लुङ्गामेनी र बेर्नाड स्कल्र्टले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय ८५ रन बनाएको थियो ।

नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले शतकीय पारी खेल्नुभयो । उहाँले एक सय ३३ रन बनाउनुभयो । कप्तान गेर्हार्ड इरास्मसलाई ५६, जेन ग्रिनले ३४, कार्ल ब्रिकेनस्टकले १३, जान फ्रिलिंकले १३ र रुवेल ट्रुम्पेलम्यानले ११ रन बनाउनुभयो । बलिङमा नेपालका करण केसीले पाँच विकेट लिनुभयो ।


सन्दीप लामिछानेले तीन तथा कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिनुभयो । नामिबियासँगको यस खेलमा पूर्व कप्तान सन्दीपले पाँच महिलापछि टोलीमा पुनरागमन गर्नुभएको हो । एक नाबालिकालाई बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीपलाई निलम्बन गरेको थियो ।

तर, सन्दीपको मुद्दाको किनारा अझै लागिसकेको छैन । क्यानले सन्दीपको निलम्बन फुकुवा गर्दै सिरिजका लागि टिममा राखेको हो । लामो समयपछि मैदानमा फर्किए पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गर्नुभयो ।

आफ्नो पहिलो ओेभरमै नामिबियाको विकेट झारेपछि सन्दीप मैदानमै भावुक बन्नुभएको थियो । उहाँलाई टोलीका सदस्यले सान्त्वना दिँदै थप विकेटका लागि हौसला बढाएका थिए । जितसँगै सिरिजमा २५ खेल सकेको नेपाल २० अङ्क जोड्दै छैटौँ स्थानमा छ। ३१ खेलबाट ३७ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ  ।

तीन टोली सहभागी सिरिजको दोस्रो खेलमा नेपालले फागुन ५ गते स्कटल्यान्ड, फागुन ६ गते नामिविया र ९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । स्कटल्यान्ड अहिले ३२ खेलबाट ४६ अङ्क जोड्दै शीर्षस्थानमा छ । 

भुर्तेलको पहिलो सतक 

नामिबियाविरुद्धके खेलमा नेपालका ओपनर कुशल भुर्तेललले सतक पूरा गर्नुभएको छ । कुशलले एक सय १३ बलमा १० चौका र चार छक्काको सहयोगमा एक सय १५ रन बनाउनुभयो । उहाँको यो एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो सतक हो ।


टी–२० र एकदिवसीय अन्तर्राष्ट्रियमा सतक बनाउने भुर्तेल तेस्रो नेपाली खेलाडी पनि बन्नुभएको छ । यसअघि पूर्व कप्तान पारस खड्का र दीपेन्द्र सिंह ऐरीले दुबैमा सतक प्रहार गर्नुभएको थियो । एकदिवसीय अन्तर्राष्ट्रियमा सतक बनाउने भुर्तेल पहिलो ओपनर पनि बन्नुभएको छ । 

रोहितको एकदिवसीयमा हजार रन पूरा

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खलाडी बन्नुभएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशी सिरिजमा नामिबियाविरुद्ध ५५ रन बनाएपछि रोहित एक हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बन्नुभएको हो । रोहितले नामिबियाविरुद्ध ७२ रन जोड्नुभयो । 

रोहितले ३३ एकदिवसीय खेलमा खेलमा एक हजार रन पूरा गर्नुभएको हो । रोहितपछि ज्ञानेन्द्र मल्लले एकदिवसीयमा सा सय ३४ र आसिफ शेखले ६ सय ५५ रन बनाउनुभएको छ ।