• २७ पुस २०८१, शनिबार

मोबाइल पसल लुटपाट र तोडफोडको सबै क्षतिपूर्ति सरकारले दिनुपर्ने माग

blog

नेपाल मोबाइल व्यवसायी महासंघले आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, फागुन २ गते । नेपाल मोबाइल व्यवसायी महासङ्घले यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ ।

मङ्गलबार महासङ्घले नयाँ बसपार्कमा ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै सोमबार गोङ्गबु नयाँ बसपार्कको ल्होत्से मलमा भएको यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने सङ्गठन र सरकारले दिनुपर्ने माग गरेको हो ।


पत्रकार सम्मेलनमा बोल्नुहुँदै महासङ्घका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीहरूका माग सम्बोधन नगरे देशव्यापी रूपमा आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले १५ घण्टा हुँदासम्म राज्य घटनाप्रति मौन बस्नु व्यवसायीहरूको पक्षमा सरकार नदेखिएको आरोप लगाउनुभयो ।

उहाँले बसपार्कको ल्होत्से मलको मोबाइल पसलमा भएको लुटपाटको क्षतिपूर्ति आन्दोलनकारी र राज्यले लिनुपर्ने बताउनुभयो । सरकारले पसल लुटपाट पर्नेहरूको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनु माग उहाँको छ । 


अध्यक्ष भट्टराईले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपियाँ बराबरको क्षति भएको बताउनुभयो । सोमबारको घटनाबाट मुलुकको सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने पुष्टि हुने भन्दै घटनाको सम्पूर्ण क्षतिपूर्ति राज्यले दिनुपर्ने उहाँको भनाइ छ । उहाँले व्यवसायीहरूले निर्धक्क भएर व्यवसाय गर्ने वातावरण पनि नभएको सन्देश प्रवाह भएको बताउनु भयो ।

त्यस्तै, महासङ्घका उपाध्यक्ष तथा लुटपाट भएको पसलका सञ्चालक अर्जुन चालिसेले करिब आठ देखि नौ करोड रुपियाँ बराबरको मोबाइल, पैसा र अन्य सामाग्रीहरू लुटिएको बताउनुभयो । उहाँले सरकारले घटनाबाट भएको क्षतिपूर्ति दिने विश्वास रहेको बताउनु भयो ।

सामान्य व्यवसायीहरूले गरिखान समेत ठूलो समस्या आएको भन्दै राज्यले व्यवसायलाई सुरक्षित बनाउन नसकेको दाबी उहाँले गर्नुभयो । उहाँले ल्होत्से मलमा रहेका चालिसेको एसीडीसी मोबाइल पसल र डायमण्ड स्टार इन्भेस्टमेन्ट ग्रुप प्रालिमा दुई वटा मोबाइल पसलमा नै लुटपाट भएको सञ्चालक चालिसेको भनाइ छ । उहाँले केही चोरहरूलाई पक्राउ गरेर प्रहरीलाई बुझाएको पनि जानकारी दिनुभयो ।


त्यस्तै, महासङ्घका महासचिव रमेश घिमिरेले आफ्नो व्यवसाय गरे जीविकोपार्जन गर्ने सुरक्षित वातावरण नभएको बताउनुभयो । उहाँले यातायात मजदुरहरूले आन्दोलनको नाममा पसलहरू लुटपाट गर्ने काम भएको भन्दै घटनाको जिम्मा सरकार वा आन्दोलनकारी दुवैले लिनुपर्ने माग राख्नुभयो ।

मोबाइल व्यवसायीहरूले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्नलाई कारबाही र पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । सोमबार ल्होत्से मलमा सञ्चालित पसलहरूका सिसा र सटर फोरेर मोबाइल लुटिएको जनाएको महासङ्घले जनाएको छ ।

पसल तोडेर मोबाइल लुट्दै गरेको दृश्य कैद भएका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका छन् । पसलको सिसिटिभी फुटेजसमेत सार्वजनिक भएको छ । महासङ्घले क्षतिपूर्ति र सुरक्षा माग गर्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायतमा ज्ञापनपत्र बुझाउने भएको छ ।