• १९ कात्तिक २०८१, सोमबार

रेडियो नेपालको सेवा परिवर्तित समयसँगै सुधार गरौँ : मन्त्री शर्मा

blog

रेडियो नेपाल लुम्बिनी प्रादेशिक प्रसारण सेवा निरीक्षणका क्रममा मन्त्री शर्मा । तस्बिर – गोकर्ण पौडेल ।

गोकर्ण पौडेल 

तुलसीपुर, फागुन २ गते । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले परिवर्तित समयसँगै रेडियोको नेपालको सेवालाई सुधार गर्दै लैजान निर्देशन दिनुभएको छ ।

रेडियो नेपाल लुम्बिनी प्रादेशिक प्रसारणको निर्माणाधीन भवन निरीक्षणमा मन्त्री शर्माले रेडियोले नेपालले प्रसारण सेवा क्षेत्र बढाउन निर्देशन दिनुभयो ।

उहाँले इतिहासका पानामा रेडियो नेपालको भूमिका महत्त्वपूर्ण भएकाले त्यो भूमिकालाई प्रविधिसँग जोड्दै स्रोतासमक्ष पुग्ने कार्यक्रम तयार पार्नुपर्ने बताउनुभयो । 

उहाँले रेडियो नेपालको सम्पत्ति प्रशस्त भए पनि त्यसलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरेमात्रै सार्थकता प्रदान हुने बताउनुभयो ।

मन्त्री शर्माले भाषाको संरक्षणमा रेडियोको भूमिका महत्त्वपूर्ण भएकाले नेपालमा बढी बोलिने भाषामा समाचार तथा कार्यक्रम उत्पादन गर्न प्रोत्साहित गर्नुभयो ।

उहाँले रेडियो नेपालको लुम्बिनी प्रादेशिक प्रसारणको निर्माणाधीन भवनको निर्माणकार्यलाई गति दिनका लागि पुनः प्राविधिक रिपोर्ट तयार पार्न निर्देशन दिनुभयो । उहाँले संरचना निर्माणका लागि रेडियो नेपालको नेतृत्वलाई पहलकदमी लिन निर्देशन दिनुभयो ।

मन्त्री शर्माले निर्वाचित भएदेखि नै जिल्लाको फोरलेन सडकखण्ड निर्माणमा चासो देखाए पनि अन्तर्राष्ट्रिय निर्माण कम्पनीका कारण सम्पन्न हुन समय लागेको बताउनुभयो । 

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपाल लुम्बिनी प्रादेशिक प्रसारण सेवाबाट अहिले मगर खाम, पश्चिमी थारु र अवधि भाषामा समाचार, कार्यक्रम उत्पादन भइरहेकाले संरचना निर्माणसँगै अन्य भाषामा समेत प्रसारण गरिने बताउनुभयो ।

उहाँले सेवा विस्तारका लागि लुम्बिनी प्रदेशको घोराही र रुकुम पश्चिममा समेत रिले स्टेसन निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभयो । उहाँले प्रादेशिक प्रसारणको निर्माणाधीन भवन दुई करोड दश लाख खर्च भएको र बजेट अभावमा काम बाँकी रहेको बताउनुभयो । रेडियो नेपालले २१ भाषामा समाचार, कार्यक्रम प्रसारण गर्दै आएको छ । रेडियो नेपालले नेपालको ९१ प्रतिशत भूगोलमा सेवा विस्तार गरेको छ ।