काठमाडौं, माघ २९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई बालबालिकाको चिन्ह्र अङ्कित आयोडिनयुक्त नुन खान आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दुई बालबालिका अङ्कित आयोडिन भएको नुन सेवन गर्न आग्रह गरिएको बताउनुभएको हो ।
डा. अधिकारीका अनुसार ढिके वा खुल्ला रूपमा बिक्री वितरण गरिने मानिसको शरीरलाई दैनिक रूपमा आवश्यक पर्ने आयोडिनको मात्रा नहुन सक्छ ।
पर्याप्त मात्रामा आयोडिन नपाउँदा गलगाँड आउने, गर्भावस्थामा समस्या देखिने, गर्भ तुहिने वा मृत शिशु जन्मने हुन सक्छ, मानसिक र बौद्धिक क्षमतामा कमी आउने, दिमाग राम्रोसँग विकास नभई शिशु जन्मने, सुस्त मनस्थिति हुने, काम गर्न सक्ने क्षमतामा कमी आउने र आलस्यपन आउने उहाँको भनाइ छ ।
पोषणविद् प्रा.डा. उमा कोइरालाका अनुसार आयोडिन शरीरलाई दैनिक रूपमा नभई नहुने सु पोषण तत्त्व हो । यसले थाइरोइड ग्रन्थिबाट थाइरोइड हर्मोनहरु निकाल्न मद्दत गर्दछ ।
शरीरको नियमित क्रियाका लागि जस्तै कोशिकाहरूको कार्य सुचारु राख्न, दिमागको वृद्धि र विकास गर्न जस्ता मुख्य मुख्य काममा आयोडिनले सहयोग गर्ने पोषणविद् कोइराला बताउनुहुन्छ ।
उहाँका अनुसार शारीरिक र मानसिक विकासका लागि चाहिने हर्मोन उत्पादनका लागि पनि आयोडिनको आवश्यकता पर्दछ ।
उहाँ भन्नुहुन्छ, “नेपालको भौगोलिक अवस्थाले गर्दा नेपालको माटो र पानीमा आयोडिनको अभाव छ । त्यसैले खानामा आयोडिन मिसिएको नुन खानु नै एक मात्र सरल उपाय हो ।”
आयोडिनका फाइदाहरू गर्भावस्थामा गर्भवती महिलाले दैनिक रूपमा आयोडिन नुनको सही मात्रा पाँच ग्रामभन्दा कम खाएमा उनीहरूबाट जन्मेका शिशुको दिमागको विकास राम्रो हुने डा. कोइराला बताउनुहुन्छ ।
आयोडिनको कमीबाट गर्भको बच्चा तुहिने, मृत वा अपाङ्गता भएका जस्तै बोलाइसम्बन्धी अपाङ्गता भएका, शारीरिक अपाङ्गता भएका र सुस्त मनस्थिति भएका बच्चा जन्मिने जस्ता समस्याबाट बच्न सकिन्छ ।
बाल्यावस्थामा बालबालिका १२ महिना भएदेखि खानामा आयोडिनयुक्त नुन खुवाएमा बालबालिकाको मानसिक तथा शारीरिक विकासमा मद्दत गर्छ ।
साथै, बौद्धिक विकास राम्ररी भई चनाखो बन्दछ । किशोरावस्थामा आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक वृद्धि हुन्छ जसले गर्दा पढाइका साथै अन्य क्रियाकलापमा पनि सकारात्मक प्रभाव पर्ने कोइराला बताउनुहुन्छ ।
कोइरालाका अनुसार सबै उमेरमा आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक विकास राम्ररी हुन्छ । जसले गर्दा गलगाँड तथा हाइपोथरोइडजम जस्ता समस्या हुनबाट बचाउँछ । वयस्कहरूले दैनिक पाँच ग्रामभन्दा कम नुनको प्रयोग गर्नुपर्दछ ।
बालबालिका १२ महिना पूरा भएपछि बढीमा दुई ग्राम नुन दिनभरिको खानामा प्रयोग गर्न पोषणविद्को सुझाव छ । आयोडिनयुक्त नुनलाई घाम, पानी र हावाले असर गर्ने हुँदा हावा नछिर्ने भाँडामा राख्न कोइरालाको सुझाव छ ।