• ११ मंसिर २०८१, मङ्गलबार

समयसापेक्ष मूल बाटो

blog

हामी यतिबेला असाधारण मोडमा छौँ। एकातिर पुरानो राजनीतिक सत्ताको उपरी ढाँचामा निकै ठूलो परिवर्तन आएजस्तो देखिए पनि, नयाँ व्यवस्थातिर लाग्ने ढोका खुलेजस्तो प्रतीत भए पनि देशमा अन्योल र अनिश्चितता व्याप्त छ। यस प्रकारको अस्थिर परिवेशबाट मुलुकलाई सही दिशामा डो-याउँदै र परिवर्तित जनअपेक्षाको परिपूर्ति गर्दै जान सक्ने नेतृत्वको अभाव त छैन भन्ने प्रश्न खडा छ। बितेको झन्डै सात दशकदेखि यताको नेपाली जनआन्दोलनले त्यस्तो नेतृत्वको निर्माण गर्न अझै नसकेको अवस्थाबाटै हामी गुज्रिरहेका छौँ। त्यस्तो नेतृत्व जसले देशको स्वाधीनता, सार्वभौमिक अखण्डता, नागरिक स्वतन्त्रता र जनतान्त्रिक अधिकारको निम्ति विश्वासिलो र भरोसायुक्त भूमिका खेल्न सकोस्। अहिलेको अनिश्चितता र अन्योल नयाँ नेतृत्व निर्माणका लागि एउटा महत्वपूर्ण अवसर र चुनौतीको समय पनि हो। हामी सकारात्मक र सफल दिशातिर जाने कि असफल भएर अँध्यारो सुरुङभित्र पस्ने कि फँस्ने भन्ने प्रश्न पनि हाम्रासामु छ। 

यतिबेला हामीले अन्तर्राष्ट्रिय जगत्लाई हेरियो भने पनि यो ठूलो उथलपुथलकै कालखण्डबाट परिस्थिति गुज्रिरहेको देखिन्छ। हुन पनि निरन्तर परिवर्तनकारी समयको सुइ कतै ठहरिँदैन र त्यो हलचलकै अवस्थामा गतिशील रहिरहेको हुन्छ। यस परिप्रेक्षमा हेर्दा यतिबेला विश्वले अन्तर्राष्ट्रिय र खासगरी नेपालले एउटा अपेक्षाकृत अलिक स्थायी राष्ट्रिय व्यवस्थाको खोजी गरिरहेको छ। यद्यपि समयसापेक्ष स्थायित्वको परिवेश शीघ्र नै बन्ला या अलिक बढी नै समय लाग्ला, यो परिवर्तन शान्तिपूर्ण किसिमले होला कि हिंसात्मक स्थिति पनि विकसित होला अहिले नै यकिन गर्ने अवस्था रहेन। यसबारे कसैले केही भन्न सक्दैन र सक्ने कुरा पनि होइन तर आज विश्वभरि र नेपालमा पनि के कुरा प्रस्ट र अखण्डनीय बन्दै गएको छ। अब उत्पन्न या खडा हुने नयाँ विश्व व्यवस्था र नेपाली समाज व्यवस्थाको नेतृत्व भने कुनै एउटा समुदाय या समूह विशेषको वर्चस्वका रूपमा एकल हातमा हुने छैन। यो विविध समुदाय र समूहको एकताको बीचबाट मात्र सम्भव हुन सक्नेछ।

विश्व बहुध्रुवमा जान खोजेको र गइरहेको एउटा प्रसव पीडाजस्तै स्थितिबाट गुज्रिँदै गरेको यो अवस्थामा नेपाली समाज पनि अब कुनै ठालु अभिजात वर्ग र समुदायको भरमा चल्न सक्ने स्थिति छैन। आम जनसमुदाय र विशेषगरी शोषित पीडित वर्गको सामयिक र सामूहिक हितका आधारमा मात्र देश सही दिशामा अघि बढ्न सक्ने र सम्हालिन सक्ने स्थिति छ। यस स्थितिले नयाँ नेतृत्व, सामाजिक संरचना र कानुन तथा नयाँ नयाँ संस्थाको उपस्थितिको मूर्त माग गर्छ। फलतः कुनै एउटा हिजोदेखि नै वर्चस्वशाली शक्ति या त्यस्ता शक्तिको भरमा चल्ने/रहने स्थिति अब कायम हुन र त्यसैको प्रभावमा समाज प्रवाहित भइरहन पटक्कै सक्दैन। 

हिजो विश्वमा खास आर्थिक र सैनिक शक्तिको बलमा नयाँ अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गरिन्थ्यो। त्यसलाई अन्य सबै देशले दबाबमा परेरै भए पनि बाहिर देखाउँदा स्वेच्छाले देखाउने या त अनिच्छापूर्व स्वीकार गर्ने गरेको इतिहास छ। यस्तो स्थितिबारे हामीले धेरै अघिको कुरा नगरी दोस्रो विश्व युद्धको अन्त्यदेखि यता विश्वमा अमेरिकी वर्चस्व चलेको अवस्था उदाहरणका रूपमा लिन सक्छौँ तर अब त्यसरी विश्व चल्दैन। एउटै देश पनि पहिलेदेखि चलिआएको वर्ग या अभिजात वर्ग विशेष या केही मुठ्ठीभर टाठाबाठाको एकल वर्चस्वमा चल्न सक्ने स्थिति विज्ञान र प्रविधिको अपूर्व विकासलगायत अन्य विभिन्न अर्थ सामाजिक कारणले गर्दा कायम रहन सक्दैन।

वस्तुतः आजको स्थितिको सर्सरी आकलन गर्दा सम्भावित तीनवटा तस्बिर हाम्रा सम्मुख देखा पर्न सक्ने कुरा अनुभूत गर्न सकिन्छ। अहिले देखिँदै आएको पहिलो तस्बिर के हो भने चीन आफ्नो आर्थिक तथा सैनिक शक्तिको विकास र विस्तारसँगै विश्व इतिहासको सबैभन्दा शक्तिशाली देश बन्न सक्छ। कतिपय आकलनकर्ता त केसम्म भन्न थालेका छन् भने चीनले अहिलेदेखि नै यो भूमिका स्वीकार गर्न थालिसकेको छ। यद्यपि कतिपयले भने चीन त्यो स्थितिमा पुगिसकेको स्वीकारेका छैनन्। त्यसो भइसकेको स्वीकार गर्नु अपरिपक्व र जल्दीबाजी हुन्छ पनि भनिरहेका छन्। उनीहरू त्यसको के ठूलो कारण दर्शाउँछन् भने केही वर्ष पहिलाभन्दा चीनको अर्थव्यवस्था यतिबेला केही ओरालो लागेको स्थिति छ। त्यसले गर्दा चीनको राजनीतिक व्यवस्था पनि कमजोर हुन पुग्ने सम्भावना हुन्छ। त्यो बढी आत्मकेन्द्रित पनि हुन पुग्छ भनिरहेका छन्। विश्वको अर्को तस्बिर सत्यको बढी नजिक छ भन्ने मत राख्ने विद्वान् विश्लेषक पनि छन्। त्यो के भने चीन र अमेरिका दुवैको संयुक्त व्यवस्था बन्न जान्छ र दुवैले एक अर्कालाई प्रभावित हिस्साका रूपमा चुपाचाप स्वीकार्दछन् भने दुवै एक अर्कासँग निकै कडा प्रतिस्पर्धा पनि गरिरहेका हुन्छन्।

यद्यपि यस्तो प्रकारको संयुक्तजस्तो देखिएको स्थितिमा कसैले निर्वाध प्रभुत्व जमाउन खोज्यो भने त्यतिबेला विश्व व्यवस्था अस्थिर भएर जाने खतराको आशङ्का पनि त्यत्तिकै छ। अर्को तेस्रो तस्बिर हो बहुध्रुवीय व्यवस्था उत्पन्न हुने दिशामा विश्व समुदायको अग्रसरता जसको संरचना धेरै हदसम्म विश्व नेतृत्व लिने खालको बन्न सक्छ। यस्तो खालको व्यवस्था दुई सय वर्षभन्दा अघि १८१५ मा भियना कांग्रेसमा बनाइएको थियो। त्यसलाई झन्डैझन्डै १०० वर्षसम्म १९१४ मा पहिलो विश्व युद्धको आरम्भसम्म कायम गरिएको थियो। त्यसले विश्वमा एक किसिमको अमनचयन कायम राख्न सक्यो भन्ने गरिन्छ। यो तेस्रो कुरा अने अन्तर्राष्ट्रिय परिदृश्यमा अहिले हुन थालेको या देखापर्न थालेको २१औँ शताब्दीको बहुधु्रवीय व्यस्थाकोअनुरूप देखिन्छ र यो परिवर्तन हाम्रो जस्तो विकासशील देश अनुकूल हुनसक्ने अपेक्षा गरिन्छ।

यद्यपि हामी अहिले आन्तरिक रूपमा भने केवल एउटा नैतिकवान्, साहसी र सङ्कल्पबद्ध राजनीतिक नेतृत्वको अभावमा फितलो किसिमको राजनीतिक परिवर्तनको कालखण्डबाट गुज्रिरहेका छौँ। देशमा प्रचुर प्राकृतिक स्रोत साधन र निकै ठूलो जैविक विविधता भइकन पनि विकासको गतिमा हाम्रो देश धेरै पछि रहेको नाजुक अवस्थामा छ। देशको सबैभन्दा ऊर्जाशील युवा शक्ति रोजीरोटीको खोजीमा खाडीका मुलुक, मलेसिया, कोरियालगायतका देशमा आश्रय लिन पुगिरहेको दयनीय स्थिति छ। यस्तो अवस्थामा उदय हुन सक्ने या हुन लागेको बहुध्रुवीय विश्वबाट पनि उचित र आवश्यक लाभ लिन या उठाउन सक्ने स्थिति बन्न सकेको या बनेको छैन। निश्चय पनि विश्व बहुध्रुवीय दिशातिर अग्रसर भइरहँदा हामीले पनि एक ध्रुवतिर नलागी सुख छैन। त्यो अहिलेको विश्वलाई सर्सरी हेर्दा एसियाली ध्रुवमै हाम्रो संलग्नता हुने प्रबल र दबाबकारी स्थिति बन्ने देखिन्छ।

हाम्रो देशलाई यतिबेला अपेक्षाकृत एउटा सापेक्ष स्थिरताको आवश्यकता छ। त्यसैले पनि हामी विश्व शान्ति र सुरक्षा कायम होस् भन्ने कुरामा केन्द्रित हुने गर्दछौँ। खासगरी विश्वमा शक्ति राष्ट्रको टक्कर, बढ्दो गर्मी, जलवायु परिवर्तन, महामारी, साइबर अपराध, अवैध लागू पदार्थको तस्करी, अन्तर्राष्ट्रिय बढ्दो आतङ्कवादजस्ता वर्तमानका समकालीन रूपमा बढ्दै गएका गम्भीर समस्याको विश्व समुदायले एकाग्र र एकजुट भएर समाधान निकाल्नुपर्छ भन्ने कुरातर्फ नै लाग्न प्रेरित गर्छ। के कुरा सही हो भने विश्वमा एउटा शक्तिशाली पद्धति र व्यवस्था कायम भयो भने त्यसले अरू सबै समस्या हल गर्न गराउन सहज वातावरण बन्छ नै। विभिन्न देशलाई राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षा गर्न सम्पूर्ण जनतामा भर पर्दै सही दिशामा अग्रसर हुन त्यसले दबाबकारी भूमिका खेल्न सक्छ। त्यस्तो विश्व पद्धति बसाल्न सहज र सरल भने अवश्य पनि छैन।

आजको अमेरिका १९५० को दशकयता विश्वको एउटा सबैभन्दा शक्तिशाली मुलुकका रूपमा विश्व व्यवस्थामा अहिलेसम्म पनि हाबी छ। पश्चिमा प्रभुत्वले सदियौँदेखि आकार लिँदै दबाब र प्रभुत्व कायम राख्दै आयो। वस्तुतः भन्ने हो भने अमेरिका वास्तवमा पश्चिमा प्रभुत्वको जनक देश होइन बरु त्यो प्रभुत्वको एउटा वारिस देश भने हो। तर अब कुनै पनि देशले अरू सबै देशको नेता बन्ने आकाङ्क्षा राख्छ भने उसलाई त्यस्तो विरासत मिल्ने अवस्था छैन, जस्तो अमेरिकाले हिजो प्राप्त गरेको थियो।

यद्यपि चीन प्राचीन सभ्यता भएको देश र अहिलेको विकासमा विश्वमा अग्रणी भएको कारणले त्यो भूमिका निर्वहन गर्न अग्रसर हुन सक्छ। चीनको चरित्र र उसले विगतमा भोगेका अनेकौँ बाह्य दबाब र प्रभावका कठिनाइका कारण भिन्नै किसिमले बनेको र परस्पर मैत्री र समान साझेदारका रूपमा आफूलाई विश्वका अगाडि प्रस्तुत गर्ने कुरा नै उसले सर्वोपरि राखेको देखिन्छ। त्यसैले चीन बहुध्रुवीय विश्वकै पक्षमा रहेको छ। विश्व शान्ति, समानता र समुन्नतिका निमित्त हिजोको जस्तो एकधु्रवीय सोच आजको विश्वका निमित्त सुहाउँदा पनि सुहाउँदैन। बहुधु्रवीय सामूहिक परिचालन, परस्पर अन्तरनिर्भरता सम्मानपूर्ण र समान साझेदारी अबको विश्वको गति र विकासको मूल बाटो हो भन्ने नै निष्कर्ष निस्कन्छ। यही नै अर्थात् साझा समुन्नति र विकासको बाटो नै राष्ट्रिय राजनीतिको पनि आजको सापेक्ष मूल बाटो हो। 

नेपालले बदलिँदो नेपाली जनताको आकाङ्क्षा र विश्वको बदलिँदो परिस्थितिबाट लाभ लिन सक्ने गरी आफ्नो नेतृत्वको विकास गर्न सक्नु र सिक्नुपर्छ। यही नै नयाँ नेपालको आजको बदलिँदो परिस्थिति सापेक्ष मूलबाटो पनि हो र यस यथार्थमा अडिग हुन सकेमा मात्र नेतृत्व सही दिशामा अघि बढ्न सक्छ। अन्यथा नेतृत्वको खडेरी फेरि पनि हाम्रो नियति बनिरहने छ। अपवादको कुरा छाडेर यो विगत अनेक दशकयता खासगरी ३० को दशकयतादेखिको अनुभवको निचोड हो।