• १३ साउन २०८१, आइतबार

व्यवस्था परिवर्तनमा जनयुद्धको ठूलो भूमिका छ: मन्त्री शर्मा

blog

जनयुद्ध दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा । तस्बिरः दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, फागुन १ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनयुद्धले व्यवस्था परिवर्तनमा ठूलो भूमिका खेलेको बताउनुभएको छ । जनयुद्ध दिवसको अवरमा नेकपा (माओवादी केन्द्र) दाङ जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले जनयुद्ध सामान्य र पार्टी विशेषको मात्र नभएर राष्ट्रिय विषय भएको भन्दै सरकारले अपनत्व लिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘जनयुद्धकै बलमा सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक परिवर्तन सम्भव भएको हो, जनयुद्धको बलमा स्थापित अधिकार र उपलब्धि राष्ट्रिय सम्पत्ति हुन्, जनयुद्ध पनि साझा हो ।’

जनयुद्धकै कारण गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता सम्भव रहेको भन्दै चेतना विस्तार  अधिकारको सवालमा पनि ठूलो भूमिका खेलेको उहाँको भनाइ थियो । 

नेपाल सरकारका प्रवक्ता रहनुभएका शर्माले सरकार जनयुद्ध, जनआन्दोलन, विभिन्न आन्दोलन र सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्दै जनमुखी काम गर्ने मार्गमा अघि बढेको बताउनुभयो । 

उहाँले भन्नुभयो  ‘वर्तमान सरकार विभिन्न सङ्घर्ष र उपलब्धिलाई रक्षा गर्दै अघि बढ्न केन्द्रित छ, जनजीविकाका सवालमा गम्भीर छ, जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिएर सरकारले जनयुद्धप्रति न्याय गरेको छ ।’ 

मन्त्री शर्माले माओवादी टुटफुट र विभाजन भए पनि आफ्नो विरासत कायम राखेको बताउनुभयो । माओवादीको एजेन्डामा देश सर्वसम्मत रूपमा अगाडि बढेको भनाइ व्यक्त गर्दै शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा राष्ट्रिय सहमतिको राजनीति अगाडि बढेको बताउनुभयो । जनयुद्धको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए ।