• ९ पुस २०८१, मङ्गलबार

‘जनप्रतिनिधि भएपछि काठमाडौँमा घर किन ?’

blog

कलैया समाचारदाता 

बारा, फागुन १ गते । प्रधानमन्त्री, मन्त्री र सांसद भएपछि काठमाडौँमा अनिवार्य रूपमा घर बनाउने होडबाजी चलेको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद प्रेम सुवालले बताउनुभएको छ।

बाराको कलैयामा नेपाल क्रान्तिकारी किसान सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन शनिबार उद्घाटन गर्दै सुवालले भन्नुभयो, “जितेपछि किन काठमाडौँमा घर बनाउनु, जितेको निर्वाचन क्षेत्रमै घर बनाए पुग्थ्यो नि ! सत्तामा भएसम्म, सरकारले दिएको साधनस्रोतबाट काम हुने भएपछि मन्त्री भएकामध्ये ९९ प्रतिशतले काठमाडौँमा घर बनाएर दैनिक हुने ट्राफिक जाम सिर्जना गरेका छन्,” उहाँले भन्नुभयो।

ठूला पार्टीका कारण मुलुकमा अस्थिरता बढेको तथा मुलुकको हितभन्दा पनि व्यक्तिगत लाभका लागि राजनीतिक दलका अगुवाहरू लागिपरेको उहाँले आरोप लगाउनुभयो। कांग्रेस, एमाले, माले, नेकपा माओवादी र तराई मधेश केन्द्रित दलले पनि सत्तामा जाने र नागरिकको हकहितभन्दा भोग विलासी जीवन बिताउने कार्यमा लागेको सुवालले आरोप लगाउनुभयो।

जुन सरकार आए पनि किसानका लागि कुनै ठोस काम गर्न नसकेको तथा असल किसानको भन्दा कागजी किसानलाई मलखाद उपलब्ध गराउँदै आएकाले यस्तो व्यवस्था खारेज गर्न सरकारसँग उहाँले माग गर्नुभयो।