काठमाडौँ, फागुन १ गते । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा पृतना समन्वयात्मक बैठक सुरु भएको छ। आइतबार र सोमबार गरी दुई दिनसम्म सञ्चालन हुने बैठकमा राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षाका विषयमा गहन समीक्षा हुनेछ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले पृतनापति समन्वयात्मक बैठकमा समग्र राष्ट्रिय सुरक्षाको विश्लेषणसँगै, विपत् व्यवस्थापन, नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको समीक्षा हुनेछ। उक्त बैठकमा गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका बेला देखिएको सुरक्षा अवस्थाबारे समीक्षा हुनेछ।
नेपाली सेनाले कमान्ड अवधारणा यथावत् राखेर आठवटा पृतनालाई पुनस्र्थापित गरी कार्यान्वयन चरणका बेला सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई महत्वका साथ हेरिएको छ।
बैठकमा नेपाली सेनाको दीर्घकालीन सोच–२०८७,(भिजन–२०३०) साङ्गठनिक पुनर्संरचना–२०७८, साङ्गठनिक पुनर्संरचना–२०७८ (परिमार्जित), राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीति कार्यान्वयन योजनाबारे समीक्षा हुनेछ। प्रधान सेनापति प्रभुराम शर्माबाट प्रस्तुत सङ्गठन सुदृढीकरण सुधारका लागि लिएका पहलकदमी र प्रगतिबारे समेत बैठकमा समीक्षा हुने सैनिक मुख्यालयले जनाएको छ।
सङ्घीय संरचनाअनुसार नेपाली सेनामा सात प्रदेश र एक उपत्यका गरी आठवटा पृतना मुख्यालय रहेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डा मातहतका सेनाको दोस्रो तहको जिम्मेवारी पृतनापतिलाई तोकिएको हुन्छ।
समन्वयात्मक बैठकमा अन्य सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग समन्वय गरी सम्भावित सुरक्षा चुनौतीबारे छलफल हुनेछ।
पृतनापति समन्वयात्मक बैठकको उद्घाटन गर्दै रक्षामन्त्री हरिप्रसाद उप्रेतीले २६० वर्षको गर्विलो इतिहास बोकेको नेपाली सेनाले राष्ट्रिय सुरक्षा भौगोलिक अखण्डताको रक्षाका साथै नेपाल सरकारबाट जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरेको बताउनुभयो।
नेपाली सेनाको पेसागत दक्षता तथा कार्यकुशलता अनुकरणीय रहेको बताउँदै मन्त्री उप्रेतीले भन्नुभयो, “राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवं राष्ट्रिय एकताको संरक्षण तथा संवद्र्धनका साथै आफूलाई तोकिएको जिम्मेवारी नेपाली सेनाले कुशलतापूर्वक निर्वाह गरेको छ।”
उहाँले अन्य सुरक्षा निकायसँग समन्वय गरी सेनाले भावी चुनौतीको विश्लेषण तथा मूल्याङ्कन अत्यन्तै प्रशंसनीय ढङ्गले गर्दै आइरहेको बताउनुभयो।
कोभिड–१९ महामारीलगायत विभिन्न विपत्को क्रममा अग्रपङ्क्तिमा खटिई सेनाले आफ्नो ज्यानको पर्वाह नगरी अभूतपूर्व भूमिका खेलेकोमा मन्त्री उप्रेतीले प्रशंसा गर्नुभयो। अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा खतरा र चुनौतीसँगै राष्ट्रिय एकतामा खलबलाउन खोज्ने तत्वहरू सक्रिय हुन सक्ने धारणा व्यक्त गर्दै उहाँले बाह्य र आन्तरिक सुरक्षा खतरालाई सूक्ष्म विश्लेषण गरी न्यूनीकरणका लागि नेपाली सेना तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो।
उहाँले सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनालगायत विभिन्न कोरिडोरको निर्माण कार्य समयमा नै सम्पन्न गर्न रक्षा मन्त्रालयको पूर्ण साथ र सहयोग रहने समेत उल्लेख गर्नुभयो।
पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्नुहुँदै सेनापति प्रभुराम शर्माले राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता एवं राष्ट्रिय एकता कायम गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी भएको बताउनुभयो।
सुदृढ सुरक्षा व्यवस्था नै राष्ट्र विकास एवं दिगो राष्ट्रिय सुरक्षाको आधारशिला रहेको धारणा व्यक्त गर्दै प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षाका बहुआयामिक पक्षलाई सम्बोधन, समाधान तथा न्यूनीकरण गर्न नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण हुन अपरिहार्य रहेको बताउनुभयो।
दुई दिन सञ्चालन हुने बैठकमा आठवटै पृतनाका पृतनापतिलगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरू तथा सम्बन्धित बाहिनीपतिहरूको उपस्थिति छ। बैठक उद्घाटन समारोहमा रक्षासचिव किरणराज शर्मालगायत रक्षा मन्त्रालयका अधिकारीहरू उपस्थित रहेको नेपाली सेनाले जनाएको छ।