तराईको नवलपुरको त्रिवेणी सुस्तादेखि हिमालको धवलागिरि हिमाल (८१६७ मिटर) सम्म फैलिएको गण्डकी प्रदेश प्राकृतिक विविधतापूर्ण छ । साबिक धवलागिरि अञ्चलका चार जिल्ला, गण्डकी अञ्चलका छ जिल्ला र लुम्बिनी अञ्चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्तापूर्वको क्षेत्र समेटेर बनेको प्रदेशको समृद्धिको मुख्य आधार नै पर्यटन हो । ऊर्जा, कृषि, उद्योग र व्यवसायका सम्भावना पनि यो प्रदेशमा छन् । पर्यटनको राजधानी सहर पोखरा महानगर प्रदेशको राजधानी सहरसमेत हो । राष्ट्रिय जनगणना २०७८ बमोजिम यो प्रदेशको जनसङ्ख्या २४ लाख ७९ हजार ७४५ रहेको छ ।
गण्डकी प्रदेशको प्रतिव्यक्ति आय एक हजार ४९९ अमेरिकी डलर छ । प्रदेश सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गरी पर्यटन पूर्वाधार निर्माण, विकाससहित पर्यटन र प्रवर्धनमा जोड दिएको छ । प्रदेशका सेती, म्याग्दी, मस्र्याङ्दी, कालीगण्डकी, मादी, चेपे, दरौँदी जस्ता नदीका तटीय क्षेत्रको जलाधार संरक्षण; ऊर्जा क्षेत्र बहुउद्देश्यीय आयोजना; पर्यटन तथा औद्योगिक विकासलाई प्राथमिकतामा राखेको छ ।
प्रदेशको समृद्धिको आधारशिला तयार गर्न लगानी सम्मेलन, सङ्घ, प्रदेश र पालिकाबिच साझेदारी, सार्वजनिक निजी साझेदारी तथा सार्वजनिक सहकारी साझेदारी र सार्वजनिक समुदाय गैरसरकारी साझेदारीको अवधारणा लिइएको छ । गण्डकीमा करिब तीन सय तालतलैया, ५० भन्दा बढी धार्मिक तथा सांस्कृतिक स्थल, दुई सयभन्दा बढी पर्यटकीय गन्तव्य स्थल पहिचान गरिएको छ ।
यो प्रदेशमा अन्नपूर्ण तथा मनास्लु संरक्षण क्षेत्र छन् । यी दुई संरक्षण क्षेत्र हुँदै हिमाली क्षेत्रमा हुने पदयात्राका लागि समेत गण्डकी प्रसिद्ध छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष यसै प्रदेशको बागलुङमा पर्छ । गण्डकी प्रदेशमा सात वटा विमानस्थल छन् भने १२ हजार किलोमिटरभन्दा बढी सडक सञ्जाल तयार भएको छ । गण्डकी प्रदेशको कुल क्षेत्रफलको ४७.४ प्रतिशत वन तथा बुट्यान क्षेत्र छ । प्रदेशका दुई संरक्षण क्षेत्रभित्र जैविक विविधताको संरक्षण र प्रवर्धनका लागि विभिन्न काम भइरहेका छन् । जैविक विविधता संरक्षण, पारिस्थितिक प्रणाली अवलोकन, पन्छी अवलोकनका लागि समेत गण्डकी पर्यटकको रोजाइमा पर्ने गरेको छ । नेपालमा आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशतले गण्डकी प्रदेशमा भ्रमण गर्ने गरेका छन् । प्रदेशमा भ्रमण गर्ने औसत वार्षिक पर्यटक सङ्ख्या साढे दुई लाख र विदेशी पर्यटकको औसत बसाइ अवधि पाँच दिन छ ।
हिमाल र पर्वतारोहण
नेपालका हिमाल र पर्वतारोहण अन्तर्राष्ट्रिय पर्यटकका लागि समेत आकर्षणका क्षेत्र हुन् । विदेशबाट आउने पर्यटकमध्ये धेरै कि नेपालको सुन्दरता हेर्दै पदयात्राका लागि आएका हुन्छन् कि जोखिम मोलेरै संसारका चुलीहरूबाट आकाश नियाल्न आएका हुन्छन् । आठ हजार मिटरभन्दा अग्ला संसारका १४ मध्ये आठ शिखर नेपालको विभिन्न हिम शृङ्खलामै छन् । नेपाल सरकारले पाँच सयभन्दा बढी सुन्दर हिमाल आरोहणका लागि खुला गरेको छ ।
गण्डकी प्रदेशमा आठ हजार मिटरभन्दा अग्ला तीन हिमाल छन् । धवलागिरि (८१६७ मिटर), मनास्लु (८१६३ मिटर) र अन्नपूर्ण (८०१९ मिटर) हिमालहरू विश्वमा क्रमशः सातौँ, आठौँ र दशौँ सर्वोच्च शिखरका रूपमा स्थापित छन् । यी हिमालसहित सयौँ सुन्दर, आकर्षक र मनमोहक हिमालले साहसिक पर्यटन र पर्वतारोहणका लागि गण्डकी प्रदेशलाई लोभलाग्दो गन्तव्यका रूपमा परिचित गराएका छन् । गण्डकी प्रदेशका १२२ हिमाल आरोहणका लागि सरकारले अनुमति दिएको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशले यसरी आरोहण अनुमति दिइएका हिमाललाई उचाईका आधारमा पाँच भागमा विभक्त गरी ‘प्रोफाइल अफ दी पिक्स् इन गण्डकी प्रोभिन्स’ नामको
पुस्तकसमेत प्रकाशन गरेको छ ।
गण्डकीका ३२ हिमाल चीनसँगको सीमामा पर्छन् भने कर्णाली प्रदेशसँग नौ र बागमती प्रदेशसँग दुई हिमाल जोडिएका छन् । सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुग्नुभन्दा तीन वर्षअघि नै ३ जुन १९५० मा फ्रान्सेली टोलीले अन्नपूर्ण प्रथम आरोहण गरेको थियो । फ्रान्सेली आरोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम आरोहण गरेर विश्वमै आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो आरोहीको कीर्तिमान बनाएका थिए । आरोहणपछि उनले प्रकाशन गरेको पुस्तक ‘दी अन्नपूर्ण’ ले नेपालको पर्वतारोहणलाई विश्वभर चिनाउन सहयोग ग¥यो । हर्जाेगका पाइला पछ्याउँदै अन्नपूर्ण सर्किट बन्यो, जुन यो क्षेत्रकै पर्यटनको विकासका लागि कोसेढुङ्गा साबित भयो । पछि हर्जोगको पुस्तक पढेका हिप्पीहरू पोखरा आउन थाले । यिनै हिप्पीले बास बस्न र खाना खान पैसा तिर्ने वातावरण सिर्जना भएपछि पोखरा र आसपासका क्षेत्रमा पर्यटनको जग बन्दै गएको हो भनिन्छ ।
पर्यटन राजधानी
‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ
पोखरा त साँच्चिकैको पोखरा नै रैछ !’
पोखराका प्रतिभा प्रेमप्रकाश मल्लको चर्चित यो गीत जस्तै बिछट्ट मनोरम छ पोखरा उपत्यका । पोखरा उपत्यका र आसपासका अरू क्षेत्र समेटेर बनेको महानगर अहिले पर्यटनको राजधानी सहर बनेको छ । २०८० चैत ४ मा पर्यटन राजधानी घोषणा भएको पोखरामा पर्यटनका लागि आवश्यक केही पूर्वाधार छँदै छन्, महानगर र प्रदेश सरकारसँगै निजी क्षेत्रबाट पनि अरू पूर्वाधार बनाइँदै छन् । पोखरामा देशकै दोस्रो क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बिस्तारै विदेशी पर्यटक सिधै यहाँ आउने अपेक्षा गरिएको छ । आन्तरिक हवाई उडानमा उल्लेख्य बढोत्तरी भए पनि नियमित अन्तर्राष्ट्रिय उडान नभइरहेको अवस्थामा चाँडै नियमित हुने अपेक्षामा गरिएको छ ।
हजार मिटरभन्दा कम उचाइको उपत्यकाका सुन्दर तालमा डुङ्गा सयर गर्दै उत्तरतिर लहरै हिमशृङ्खला देखिने विरल उपत्यका हो, पोखरा । गायक मल्लको गीतमा झैँ फेवातालमा माछापुच्छ«ेसहितका हिमालको प्रतिविम्ब हेर्न र क्यामरामा कैद गर्न आउनेहरू बाक्लै भेटिन्छन् । हिप्पीहरूको आगमनबाट सुरु भएको पोखराको पर्यटनको विकास अहिले लोभलाग्दो छ । बैदाम भनिने फेवाताल किनार अहिले पर्यटकको रोजाइमा पर्ने लेकसाइड बनेको छ । गण्डकी प्रदेशमा एक हजार दुई सय जति होटेल रहेको र ती होटेलमा सात खर्ब रुपियाँको हाराहारीमा लगानी भएको पर्यटन व्यवसायी बताउँछन् । त्यसमध्ये होटेल क्षेत्रमा मात्र पोखरामा छ खर्ब रुपियाँको लगानी रहेको उनीहरू बताउँछन् ।
पोखरा प्राकृतिक रूपमा त सुन्दर र पृथक् छँदै छ, पछिल्लो समय पर्यटक लोभ्याउने मानवनिर्मित सम्पदा पनि बढ्न थालेका छन् । पुम्दीकोटमा ५१ फिट अग्लो शिवजीको मूर्ति बनेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेससमेत पुगेको पुम्दीकोटको विकासका लागि ४० करोड रुपियाँ लागतको गुरुयोजनाबमोजिम निर्माण जारी छ । पोखराको सराङकोटमा केबुलकार सञ्चालमा आएको छ भने हालै पञ्चमुखी गणेशको आकर्षक मूर्तिसहितका संरचना तयार भएका छन् ।
पोखरा उपत्यकाका सुन्दर आठ ताल, विभिन्न गुफा, छाँगा, विन्ध्यवासिनी मन्दिर, तालवाराही मन्दिर मुख्य पर्यटकीय गन्तव्य हुन् । पोखराको रातो पहिरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा वर्षमै दुई लाख मानिस पुग्ने गरेका छन् । रोचक पक्ष त के छ भने त्यहाँ एक सय देशका पर्यटक पुगेको तथ्याङ्क छ । जापानी भिक्षु कावागुचीदेखि बेलायती युवराज चाल्स, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्र सङ्घका महासचिव गुटेर्रेससम्म भ्रमण गरेको पोखरा विदेशीसहित नेपालीको समेत रोजाइको गन्तव्य बनेको छ ।
धार्मिक तथा सांस्कृतिक सम्पदा
गण्डकी प्राकृतिक, भौगोलिक, जैविक र सांस्कृतिक सम्पदामा निकै धनी छ । प्रदेशमा पर्यटनका मुख्य तीन आयाम प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रमा अथाह सम्भावना देखिन्छन् । प्रदेशको आर्थिक विकास तथा रोजगारी सिर्जनाको प्रमुख स्रोत पर्यटन क्षेत्र बन्न सक्छ । यसका लागि सरकारी, निजी, सहकारी क्षेत्रको संयुक्त लगानी र योजनाबद्ध विकास आवश्यक छ । अहिले प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकास, प्रवर्धनात्मक गतिविधि, पर्यटकीय सेवा, सुविधा, पहुँचको सुविधा, सूचना तथा सुरक्षा जस्ता विषयलाई प्राथकितामा राखेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार गण्डकी प्रदेमा १०४ जातजाति, १० भन्दा बढी धार्मिक सम्प्रदाय र ७२ भन्दा बढी मातृभाषा रहेको देखिन्छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको धार्मिक सांस्कृतिक सम्पदासम्बन्धी अध्ययन प्रतिवेदन अनुसार प्रदेशभित्र १४१ मुख्य पुरातात्त्विक सम्पदा र ६०२ अन्य सम्पदा छन् ।
मुस्ताङको मुक्तिनाथ, विन्ध्यवासिनी, आलमदेवी, ढोरवाराही, छाब्दीवाराही, अकला तथा अन्नपूर्णा, ईशानेश्वर महादेव, मनकामना, गोरखनाथ, देवघाट, मौलाकालिका, बागलुङ कालिका, गलेश्वरधाम, त्रिवेणीधाम यीमध्ये प्रमुख सम्पदा हुन् । व्यासगुफा, सिद्धगुफा, महेन्द्रगुफा, गुप्तेश्वर गुफा, अल्पेश्वर गुफा, चमेरेगुफालगायतका गुफा पर्यटकीय गन्तव्यका रूपमा विकास भइसकेका छन् । रुप्से झरना, विश्वकै सबैभन्दा गहिरो गल्छी र विश्वकै सर्वाेच्च स्थानमा रहेको तिलिचो ताल पनि गण्डकीमै छन् । ऐतिहासिक कालखण्डमा विभिन्न राजाहरूले बनाएका दरबार, कोट, मन्दिरहरू पनि यो प्रदेशमा छन् । गोरखाको गोरखा दरबार अहिले सङ्ग्रहालयका रूपमा प्रसिद्ध भएको छ ।
विश्वविख्यात पदमार्ग
उच्च पहाडी र हिमाली क्षेत्र हुँदै गरिने पदयात्राका लागि गण्डकी प्रदेश स्वदेशी र विदेशी दुवैको रोजाइमा पर्छ । चर्चित अन्नपूर्ण पदमार्ग, धवलागिरि पदमार्ग, मनास्लु पदमार्ग जस्ता पर्यटकीय मार्गको बजारीकरणसँगै प्रचारप्रसार, पूर्वाधार निर्माण, सुरक्षाको प्रबन्ध र प्रवर्धन जरुरी छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन शिकार आरक्ष उच्च आर्थिक हैसियत भएका विदेशीको साहासिक मनोरञ्जन स्थल बनेको छ भने नेपाली पनि उल्लेख्य रूपमा ढोरपाटन क्षेत्रको सौन्दर्य नियाल्न पुग्छन् । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल पदयात्रा, मनास्लु पदयात्रा र धवलागिरि चक्रीय पदयात्रा विश्वकै उत्कृष्ट पदमार्ग मानिन्छन् । पहिले विदेशीको बाहुल्य हुने पदयात्रामा अहिले नेपालीको सहभागिता लोभलाग्दो छ ।
विभिन्न उद्देश्यका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने, घुम्ने, बस्नेहरू नै पर्यटक हुन् । अहिलेको समयमा पर्यटनका अनेक आयाम छन् । स्वास्थ्योपचार, शिक्षार्जन, मनोरञ्जन, प्राकृतिक सम्पदा भ्रमण, अनुसन्धान, शैक्षिक भ्रमण, बिदाको उपयोग अनेक कारणले मानिसहरू घुमफिरमा निस्कछन् । गण्डकी प्रदेश साहसिक पर्यटकका लागि पनि अब्बल बन्दै छ । यहाँ अल्ट्रालाइट उडान, प्याराग्लाइडिङ, बन्जी, र¥याफ्टिङ, जिपफ्लायर, रक क्लाइम्बिङ, बेलुन उडान जस्ता गतिविधि हुन्छन् ।
गत वर्ष त यहाँ अन्तर्राष्ट्रिय बेलुन महोत्सव नै भएको थियो । प्रकृति र संस्कृतिमा धनी गण्डकी प्रदेशमा पर्यटनका पूर्वाधार धमाधम बन्दै छन् । विभिन्न तहका सरकार, निजी क्षेत्र र व्यक्तिसमेत यहाँको पर्यटन प्रवर्धन सव्रिmय छन् । योजनाबद्ध रूपमा लगानी, पूर्वाधार निर्माण, स्वदेश र विदेशमा प्रवर्धन, पर्यटकीय स्थलहरूको विकास र स्तरोन्नतिलाई सँगसँगै लैजानु जरुरी छ । कालीगण्डकी कोरिडोर करिब तयार भएको छ भने पृथ्वी राजमार्ग स्तरोन्नति पनि उत्तरार्धमा छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टड र सीमित अन्तर्राष्ट्रिय उडानले आशा जगाएका छन् ।