• २० असोज २०८१, आइतबार

अर्थतन्त्रका विद्यमान चुनौतीको समाधान गर्छौंः अर्थमन्त्री पौडेल

blog

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

काठमाडौं, माघ २९ गते। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका विद्यमान चुनौतीको समाधान बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गर्ने बताउनुभएको छ। आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले पछिल्लो समय देखिएका अर्थतन्त्रका चुनौतीलाई बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गरी समाधान गर्ने बताउनुभएको हो। 

उहाँले नेपालको अर्थतन्त्रमा संरचनागत चुनौती, विश्व अर्थतन्त्रको प्रभाव र अन्य विषयमा नेपालले उचित व्यवस्थापन गर्न नसक्दा वर्तमान अर्थतन्त्रका समस्याको समाधान खोज्नुपर्ने अवस्था रहेको बताउनुभयो। अर्थमन्त्री पौडेलले अर्थतन्त्रको चुनौतीको सूक्ष्म विश्लेषण गरेर ठोस कदम चाल्नुपर्ने भन्दै टालटुले समाधानले समस्या समाधान नहुने दाबी गर्नुभयो। 

उहाँले भन्नुभयो,‘‘सरकारले बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गरी विद्यमान चुनौतीको सामना गर्नेछ। नेपालको अर्थतन्त्रमा संरचनागत चुनौती, विश्व अर्थतन्त्रको प्रभाव र अन्य विषयमा नेपालले उचित व्यवस्थापन गर्न नसक्दा सिर्जित समस्याको पृष्ठभूमिमा  समाधान खोज्नुपर्ने हुन्छ। वर्तमान समय अर्थतन्त्रको चुनौतीहरूको विश्लेषण गरी ठोस कदम चाल्न सकेनौँ र टालेटुले समाधानमा रमायौँ भने ठूलो गल्ती हुनेछ।’’

अर्थमन्त्री पौडेलले अर्थतन्त्रको सुधारको आगामी यात्राको सुरुवात बजेट सन्तुलन कायम गर्ने र खर्च गुणस्तर बढाएर गरिने बताउनुभयो। उहाँले सरकारले सार्वजनिक ऋणलाई धान्नसक्ने ठाउँमा राख्नु चुनौती रहेको बताउनुभयो। 

उहाँले थप भन्नुभयो, ‘‘अर्थतन्त्रको सुधारको आगामी यात्राको सुरुवात बजेट सन्तुलन कायम गर्ने र खर्च गुणस्तर बढाउने विषयबाट हुनुपर्छ। सार्वजनिक ऋणलाई धान्नसक्ने ठाउँमा राख्नु अर्को चुनौती हो। पुँजीगत खर्च बढाउन आवश्यक सुधार गर्न आवश्यक छ।’’